म अमेरिकामा लाश गनिरहेको छु !

हरेक दिन विश्वले आफ्ना केही हजार प्रियजन गुमाइरहेको छ। यी प्रियजनहरू कोरोना भाइरससँग युद्ध लड्दालड्दै जित्न नसकेका वीर वीरङ्डनाहरू हुन्। उनीहरू सामयिक मृत्यु भोगिरहेका छैनन्, असामयिक मृत्युको शिकार भैरहेका छन्।

यी वीर वीरङ्गनाको असामयिक मृत्यु समाचार हो । किनकि, हरेक असामयिक मृत्यु समाचार हुन्छ, यो समाचारको सामान्य परिभाषा हो। 

समाचारमा प्रोक्सिमिटी अर्थात् नजिकपना हुन्छ। जसको लागि, जुन भाषामा पत्रकारिता गरिन्छ, त्यो लक्षित पाठक र भाषीका लागि सामान्य समाचार पनि ठूलो हुन्छ । जस्तो कि, अमेरिकामा हजारौ मानिस मरिसके, तर पनि नेपाली भाषी सञ्चार माध्यमका लागि एउटै अनिल लिम्बुको मृत्यु ठूलो समाचार बन्छ। सबैले बु्झने भाषामा पत्रकारितामा प्रोक्सिमिटीको सटिक उदाहरण यही हो। 

आज प्रविधिले पत्रकारिताको आयाम मात्र फेरेको छैन, परिभाषा पनि बदलिदिएको छ। यसले गर्दा आजको पत्रकारिता सजिलो जस्तो पनि देखिएको छ।आयाराम गयाराम पत्रकारिता गर्नलाई देखिएको मात्र हैन, सजिलो पनि छ । तर, सफलताका लागि चाँहि आजको प्रतिस्पर्धाले धेरै त्यो पनि फरकखाले मेहेनत गर्नुपर्ने बनाइदिएको छ।

यो सामान्य अवस्था हैन, असामान्य अवस्था भएको हुनाले खास पत्रकारिता गर्नेहरूको परीक्षाको बेला पनि हो। यसै पनि पत्रकारिता आफैंमा सजिलो पेशा हैन। यसका आफ्नै खाले कर्तव्य, दायित्व र अप्ठ्यारा  हुन्छन्। जो हेर्नेलाई हैन, भोग्नेलाई मात्र थाहा हुन्छ।

सबै खाले युद्धमा पत्रकारलाई ब्याकवेञ्चर हुने छुट हुदैन। उनीहरूले हरेक मोर्चामा सबैभन्दा अगाडि पुगेर समाचार संकलन र सम्प्रेषण गर्नुपर्ने हुन्छ। सर्वसाधारणको सुसूचित हुने अधिकारको लागि उनीहरूले यसरी आफ्नो ज्यान हत्केलामा लिएका हुन्। 

साँचो पत्रकारलाई भावनामा बग्ने छुट हुदैन। खास भन्ने हो भने रूनेसम्म पनि छुट हुदैन। किनकि, उसले हरपल सूचनाको सञ्चार गरिरहनु पर्छ। 

कोरोना महामारी एक किसिमको विश्वयुद्ध। यस अर्थमा कि यो विश्वका १९७ देशमा फैलिएको छ, लाखौ मानिस योसँग जीवन मरणको युद्ध लडिरहेका छन्। केही मोर्चामा यसले जितिरहेको छ, केहीमा हारिरहेको पनि छ। यो विश्वयुद्धको बेला सच्चा पत्रकार फेरि पनि युद्धमोर्चामा खटिएका छन्। 

यतिबेला उनीहरूको काम जीत गन्ने मात्र हैन, हार गन्ने पनि हो । यतिबेलाको हार भनेको मानिसको मृत्यु हो र हार गन्नु भनेको लाश गन्नु नै हो। यसो हेर्दा यो जल्लादको काम जस्तो देखिन्छ। कसलाई मन पर्छ र आफ्ना आफन्तहरूको लाश गन्न ? तर, कसैले न कसैले त गन्नैपर्छ र त्यसको सूचना सम्प्रेषण गर्नैपर्छ। 

आमसञ्चारमा मूलत: दुईवटा पाराडाइमको कुरा गरिन्छ - डोमिनेन्ट पाराडाइम र अल्टरनेटिव पाराडाइम। सर्वसाधारणले बुझ्ने भाषामा डोमिनेन्ट पाराडाइम भनेको पत्रकारले चाहेको समाचार दिने हो भने अल्टरनेटिव पाराडाइम भनेको पाठकले चाहेको समाचार दिने। यो डोमिनेन्ट पाराडाइमको युग हैन, अल्टरनेटिव पाराडाइमको युग हो। त्यसैले पत्रकारहरू के सत्य हो भन्दा पनि पाठक के चाहन्छन, त्यही खालका समाचार र शीर्षक लेख्न बाध्य छन्। 

त्यो गन्ने अप्रिय काम पत्रकारको हो। त्यसैले हिजोआज संसारभरका पत्रकार कोरोना भाइरसले जिन्दगी लुटिएका मानिसका लाश गनिरहेका छन्। यो उनीहरूको चाहना हैन, पेशागत कर्म र धर्म हो। उनीहरूले गनिदिन्छन् र संसारले थाहा पाउँछ। 

तर, मृत्यु गन्दा जीवन गन्न चाँहि छुटाउनु हुदैन। अहिलेको समस्या भनेको कतिले कोरोनामाथि विजय हासिल गरेर घर फर्के ? त्यो समाचारचाँहि छायाँमा छ। तर, कतिले कोरोनासँग हारे, त्यो चाहिँ प्रकाशमा छ। यो पनि पत्रकारको चाहना हैन, मानवीय चरित्र हो । जीवन र मृत्युको समाचार सँगै राखिदिदा मानिसको पहिलो ध्यान कति बाँचेमा हैन, कति मरेमै जान्छ। त्यसैले पत्रकार पाठककै चाहना अनुसार कोरोनालाई जितको हैन, कोरोनासँग हारेको समाचार बनाउन बाध्य छन्। 

आमसञ्चारमा मूलत: दुईवटा पाराडाइमको कुरा गरिन्छ - डोमिनेन्ट पाराडाइम र अल्टरनेटिव पाराडाइम। सर्वसाधारणले बुझ्ने भाषामा डोमिनेन्ट पाराडाइम भनेको पत्रकारले चाहेको समाचार दिने हो भने अल्टरनेटिव पाराडाइम भनेको पाठकले चाहेको समाचार दिने। यो डोमिनेन्ट पाराडाइमको युग हैन, अल्टरनेटिव पाराडाइमको युग हो। त्यसैले पत्रकारहरू के सत्य हो भन्दा पनि पाठक के चाहन्छन, त्यही खालका समाचार र शीर्षक लेख्न बाध्य छन्। 

पत्रकारिता नेगेटिवतिर धकेलिनुको मूल कारण पनि यही नै हो । उदाहरणका लागि न्युयोर्कको एकजना नेपाली वकिलले पाँचजना नेपालीलाई सित्तैमा वकालत गरिदिएर त्यो समाचार बन्यो भने मानिसहरू भन्छन्, पैसा खाएर लेखेछ। तर, एउटा नेपालीले पैसा तिर्न सकेन र उसले वकालत गरेन र त्यो समाचार आयो भने मानिस भन्छन्, खास पत्रकार त यस्तो पो । दुइटै समाचार उतिकै महत्वका साथ छाप्यो भने पनि पाठकको ध्यान त्यही नकरात्मक समाचारमा जान्छ। उसले त्यो सकारात्मक समाचार अरूलाई सुनाउँदैन तर नकारात्मक समाचार भने भाइरल बनाइ दिन्छ। 

कोरोना कहरको यतिबेला सर्वत्र नकरात्मकभन्दा पनि अप्रिय समाचार छन्। र, यी समाचार सुन्दासुन्दा मानिसमा एक किसिमको डर पैदा भएको छ। अझ यसो भनौ मृत्यु वरिपरि घुमिरहेको ठाउँका मानिस त एक किसिमले साइको नै भैसकेका छन्। उनीहरू चाहन्छन्, प्रिय समाचार  मात्र आवोस्, यसको अर्थ उनीहरूको चाहना सकारात्मक समाचार आवोस् भन्ने हो। यस्तो प्रिय चाहना राख्नु नाजायज हैन । तर , सबै प्रिय चाहना पूरा हुन्छन् नै भन्ने हुँदैन।

हरेक घण्टा जस्तो यति जनाको मृत्यु भनेर समाचार दिइरहनु पर्छ। मैले नदिएर के गर्नु र ? अर्कोले दिइहाल्छ । आफूले दिएन भने यो पत्रकार पनि सुतेछ कि क्या हो ? भनेर गाली गर्छन् या मिडिया डिपेन्सी थ्यौरीको आधारमा मेरो पत्रकारिता धर्ममाथि प्रश्नचिन्ह नै लगाउँछन्। त्यसैले चाहेर हैन, नचाहेर म पनि लाश गनिरहेको छु । युद्धको बेला एक पत्रकारले गन्ने भनेको लाश नै त रहेछ। 

पत्रकारलाई पनि अप्रिय समाचार बाँडौ भन्ने लाग्दैन। तर, उनीहरूलाई अप्रिय समाचारलाई प्रिय बनाएर सम्प्रेषण गर्ने छुट हुदैन। त्यसैले उनीहरू नचाहेर पनि अप्रिय समाचार बाँड्न बाध्य हुन्छन्। 

यो समय नै अप्रिय छ। त्यसैले माफ गर्नुहोला, मसँग पनि प्रिय समाचार छैन। अमेरिका डेटलाइनमा लेख्दा मैले लेख्नैपर्छ, 'आज अमेरिकाले ४०२ प्रिय गुमाएको छ। यो संख्या एकै दिनमा अमेरिकाले सबैभन्न्दा बढी आफ्ना प्रिय गुमाएको दिन हो। यो तथ्य हो, र यो तथ्य पस्कनु यो मेरो चाहना हैन, बाध्यता हो।

नेपालबाट मेरो साथी-संगी प्रश्न गर्छन्- 'तँ के गरिरहेको छस् ?'  म भन्छु, 'लाश गनिरहेको छु।' हुन पनि हो, अहिले म कोरोनाले ज्यान लिएका मानिसको लाश गनिरहेको छु।' तर, यो मेरो प्रिय चाहना हैन, एक पत्रकार हुनुको नाता मेरो पेशागत धर्म हो, कर्म हो। पाठकको सूसुचित हुने अधिकारको सम्मान गर्न म यसो गरिरहेको छु। यसो गर्दा धेरैलाई यो नेगेटिव समाचार लाग्न सक्छ। तर, समाचार आफैमा नेगेटिव वा पोजेटिव हुदैन, बढीमा यो प्रिय र अप्रिय हुने हो। अहिले समय नै अप्रिय छ, त्यसैले यो समयका लागि अप्रिय समाचार दिनु मेरो वाध्यता हो ।

काग पनि सधैंभरि कहाँ शुभ बोल्थ्यो र ?

 

प्रकाशित मिति: : 2020-03-29 09:07:02

प्रतिकृया दिनुहोस्