अमेरिकाको न्युयोर्कमा एकजना नेपालीको कोरोना भाइरस संक्रमणबाट मृत्यु भयो। उनको मृत्युको समाचार बाक्लै बन्यो। अमेरिकामा केभिड -१९ काट मृत्यु हुने उनी पहिलो नेपाली थिए। समाचार हुने गुण थियो। बाक्लै समाचार बने। फोटो पनि छापियो- कुनै रंगीन, कुनै श्यामश्वेत।
अमेरिकाको नेपाली डायस्पोराको फेसबुकका भित्ता श्रद्धाञ्जलि र समवेदनाले भरिए। यो बढी थियो या कम- अलि बढी नै 'प्रदर्शनकारी' गुण बोकेको नेपाली जातिमा यो भन्न गाह्रो छ। फेसुबकमा देखाउनलाई मम बनाउने, फोटो खिचेर देखाइसकेपछि खाने- प्राथमिकता फेरिसक्यो हाम्रो। धेरथोरको कुरा मात्र हो, सबैमा यो संक्रिमत छ। फरक यति हो, आफूले गर्दा ठीकै लाग्छ, अरूले गर्दा अलि बढी।
नेपालीमा एउटा भनाइ नै छ, बाँच्दाको जन्ती मर्दाको मलामी। एकपटकको नेपाली सधैंको नेपाली भनिन्छ क्यारे, जहाँ बसे पनि पुर्खाको यो नासो कायम राखेकै छन्। हो तरिकामा फरक आयो, माध्यममा फरक आयो तर समयअनुसार गर्न छोडिएको छैन। ठीक/ बठीक, कम/बेसी त्यो त आआफ्नो सोचाइ हो, तर हामी अलि बढी औपचारिक र देखावटी चाँहि हुन थालेकै हो।
अनिल लिम्बुको मृत्युको समाचार र समवेदनालाई लिएर उनकी भतिजीले असहमति जनाइन्। उनले परिवारको स्वीकृति लिने लगायतका कुरा गरिन्। उनको भनाइलाई आधार मानेर केहीले मिडिया र समवेदना दिनेलाई अर्ती र उपदेश पनि दिए। कतिले त अपराध नै गरेजस्तो गरेर गाली पनि गरे।
तर, मलाई भने यो कुरा पनि ठीक लागेन। नेपाली काइदा हो भने यो सबै गरेकोलाई बेठीक भन्ने कुरै भएन। अमेरिकी तौरतरिका अपनाउने हो भने उनकी भतिजीले परिवारको सदस्य भनेर आपति जनाउनुको अर्थ पनि रहेन। अमेरिकाले १८ वर्षभन्दा माथिका छोराछारी त चिन्दैन भने भतिजी त धेरै टाढाको कुरा भयो। अमेरिकी कानुनी कुरा गर्ने हो भने उनको कुरामा वतास लाउनु पर्दैन। उनले अरूलाई अर्ति दिनु, समवेदना र कानुनका कुरा गर्नु नै गैरकानुनी हो।अमेरिकामा लागु हुने गोपनियतासम्वन्धी कानुन 'हिप्पा'ले उनलाई चिन्दैन र यसरी अनाधिकृत वक्तव्यवाजी गर्ने छुट पनि दिदैन। काकाको मृत्युमा उनी शोक सन्तप्त होलिन्, यस्तो बेला रिस देखाउनु शोभनीय हुदैन।
यो सामान्य मृत्यु थिएन, असामान्य मृत्यु थियो। यो घरको मृत्यु भएर पनि यसको प्रभाव समग्र समुदाय र जातिमै थियो। त्यसैले यो असामयिक मृत्युका लागि नेपालीहरू अलि बढी नै सम्वेदनशील भए पनि आपत्ति जनाउनुपर्ने विषय थिएन। आखिर भैसकेको कुरा थियो, शोक र समवेदनाको कुरा थियो; कुनै गाली या मानहानीको विषय थिएन। त्यसैले यस्तो समवेदनशील विषय जसलाई नेपाली समुदायले आफ्नो पीडाको रूपमा अनुभूत गरेको थियो, त्यसमा भतिजीले गर्ने यो सभ्य काम थिएन। नेपाली हिसाबले पनि थिएन, अमेरिकी हिसाबले त छँदै थिएन।
बेलायतका राजकुमार चार्ल्स, विश्वविख्यात कलाकार टम ह्यांक्, क्यानाडाकी प्रथम महिला, अमेरिकी सांसदहरू र हार्वर्ड विश्वविद्यालयका प्रेसिडेंटले आफुलाई कोरोना भाइरस लागेको थाहा पाउनासाथ सार्वजनिक गरे। यो लुकाउने कुरा हुँदै होइन। शुरुमै यसलाई लुकाउने जुन प्रयास भयो, त्यसै कुप्रयासले गर्दा नै यसले भयावह रुप लिएको हो! सबै सजग रहौं।
- डा. उत्तम गौली
अनिल लिम्बु परिवारको एक सदस्य त थिएनै, न्युयोर्कको मिनी नेपालका एक कर्मठ सदस्य पनि थिए। यस अर्थमा घरका मान्छेलाई जस्तै समुदायका मानिसलाई दु:ख लाग्नु स्वभाविक हो। यस्तो स्वभाविक प्रक्रियालाई पनि अस्वभाविक बनाएर मृत्युमा रून नपाइने, समवेदना व्यक्त गर्न पनि सोध्नुपर्ने भन्ने खालको यो 'भतिजी उर्दी' अलि असुहाउँदिलो नै हो। तर, यसको सुखद पक्ष यसले अमेरिकाको नेपाली डायस्पोरामा कोरोना संक्रमण भएका मानिसको परिचय खुलाउने कि नखुलाउने, मृतकको परिचय दिने कि नदिने भन्ने प्रश्नमाथि वहस सुरू गराएको छ।
यो गणित या विज्ञान हैन, त्यसैले यसको उत्तर हुन्छ मात्रै पनि हुदैन, हुदैन भन्ने मात्र पनि हुदैन। कसैका लागि हुन्छ, कसैका लागि हुदैन- यही नै यस प्रश्नको उत्तर हो। तर, बहुलठ्ठीसँग बिना जायज तर्क यही हो भन्नु पनि हुदैन। त्यसले आफ्नो मूर्खता छताछुल्ल हुन्छ र मानिसले आफूलाई मिहीनसँग बुझ्नै मौका पाउँछन्।
म एक पत्रकारसमेत भएकाले म परिचय खुलाउनु पर्छ भन्छु। किनकि, मेरो काम स्रोतबाट पाँचवटा 'क' को उत्तर पाठक/स्रोता/दर्शकसम्म पुर्याउने हो। त्यसमध्ये को एकमहत्वपूर्ण क हो, को रहेछ भनेर पाठक/स्रोता/दर्शकलाई जान्ने कौतुहलता भैरहन्छ। त्यसैले अनिलको नाम खुलाउन पाउँनुपर्छ। यो सामान्य अवस्थाको मृत्यु भएको भए समाचार नै बन्दैनथ्यो, त्यो आवश्यक नै थिएन।तर, यो कोरोनाका कारण भएको असामान्य मृत्यु हो , त्यसैले समाचार बन्ने अर्थमा को को उत्तर आवश्यक नै हुन्छ। फेरि, कोरोनाको चरित्र नै यस्तो छ कि यसको संक्रमण आपसी, भेटघाट र संसर्गबाट हुन्छ। त्यसैले अनिलसँग भौतिक सम्पर्कमा रहेका मानिसबाट केही समय भौेतिक रूपमा टाढा रहन पनि उनको परिचय खुल्न जरूरी छ।आखिर अब उनी फर्केर आउदैनन् र नराम्रो कारणले उनको मृत्यु भएको पनि हैन जसलाई लुकाउनु परोस् ।
केही मान्छेले अनिल यस्तो चाहन्थे, उस्तो चाहन्थे वा चाहदैनथे भन्ने हाइपोथेटिकल कुरा पनि गरेको सुने/पढे। मेरो विचारमा त्यो अर्को पाखण्डपन हो। उनको कुरा आधिकारिक रूपमा अब कस्ले भन्न सक्छ र ? कसैले पनि सक्दैन। त्यसैले अनिलको यो मृत्युमा हाइपोथेटिकल कुरा गरेर नेपाली समुदायको आँसु झार्ने 'मायालु अधिकार' खोसिनु हुदैन।
यतिबेला हामीले अरू नेपालीमाथि कोरोना कहर नखसोस् र कसैले पनि अर्को अनिल बन्नु नपरोस् भनेर कामना गर्नुपर्छ। हो, हाम्रो कामनाले काम गरेन र कसैमाथि खसिहाल्यो भने उसको नाम लुकाउने हैन, यथाशक्य चाँडो सार्वजनिक गरिनुपर्छ । ताकि, अरू थप मानिस 'अनिल' हुनबाट बच्न सकुन्।