मुलुकको पश्चिममा अन्तिम त्रिदेशीय सीमा दार्चुलाको मुकाम खलंगा छ। संघीय राजधानी काठमाडौंबाट ९ सय ८७ किमी टाढाको यो सदरमुकाम जोडिएको छ, भारतको धार्चुलासँग, जसलाई छुट्याएको छ, अन्दाजी १ सय ५० मिटरमा फैलिएर बग्ने काली नदीले। नदीमाथि त्यति नै लामो झुलुङ्गे पुलका ढोका बन्द छन्, तीन दिनदेखि विश्वब्यापि कोरोना भाइरसको संक्रमणको डरले।
नेपालबाट पारी हेर्दा अलि उचाईमा देखिने ‘भोटिया पडाव’ भन्ने ठाउँ छ, जो विशेषगरी पार्किङ र खच्चडमा सामान लोड गर्ने ठाउँ हो। नेपालतर्फ सडक नबन्दा नेपाली ट्रकले पनि दार्चुलाको खान्की यही झार्ने गर्थे।
यही ठाउँमा तीन दिनदेखि खानसमेत नपाएर ३० भन्दा बढी नेपाली आफ्नो देशतर्फ हेर्दै कहिले पुलको ढोका खुल्ला र जन्मभूमि टेकौला भन्ने आशामा छन्।
दार्चुलाका स्थानीय भोजराज जोशी भन्छन्, ‘मेरो घर नदी किनारमै छ। रातभरी उनीहरूलाई हेरेर सुत्नसम्म सक्दिन। उनीहरू रातभरी रेलिङमा हात राखेर नेपाल हेरिरहेका हुन्छन्। तीन दिनदेखि भोकै उनीहरूले बिहीबार भने भारतीय प्रहरी र स्थानीयको सहयोगमा एक छाक खाना खाए।’
भारततर्फको ‘लक–डाउन’ ले बजार बन्द छ। राशन कताबाट पाउँने। पाँच मिनेटको पैदल दूरीमा रहेको नेपाल–भारत समन्वय उनीहरूलाई सगरमाथाको उचाई भएको छ। ‘हामीले प्रशासन गुहार्यौं। माथिको आदेश छैन जवाफ आयो,’ उनले भने।
दुई दिनअघि जनदबाब बढेपछि राती १० बजे ६८ जना नेपालीका लागि पुलको ढोका खोलिएको थियो, जुन दृश्य कम कारुणिक थिएन। हरेक दिन दार्चुलामा नेपाली जम्मा हुने क्रम बढ्दो छ। उनीहरूलाई भोटिया पडाव र काली किनारसम्म जाने अनुमति छ, भारतीय प्रशासनको। रोटी र बेटीको सम्बन्ध रहेको मान्ने दुवै देश स्थानीयका लागि यो भूभाग पहिलेदेखि सम्वेंदनशील छ। तर, कारोनाको कहरले नेपालीलाई अहिले १ सय ५० मिटर टाढैबाट आफ्नै देश हेरी भगवान भरोसा भारतीय भूमिमा रातदिन कटाउनु परेको छ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलका अनुसार दुवैतिर ‘लक–डाउन’ को अवस्था र दुवै पक्षले आ–आफ्नो केन्द्रलाई सोध्नु पर्ने अवस्था रहेको छ।
‘गृहको आदेश एकदिनलाई नाका खोल्ने थियो। हामीले मंगलबार राती ७८ जनालाई भित्र्याएका थियौं’, बिएल नेपाली सेवालाई उनले भने, ‘अहिले पनि पारीपट्टि मान्छे जम्मा हुन थालेको खबर सुनेको छु। के गर्न सकिन्छ केन्द्रसँग कुरा बुझ्छु।’
भारतकाे धार्चुलामा फसेकाहरु:
बर्दिया–२
कैलाली–२
बझाङ–२
बैतडी–९
नाैउगाड–१२
शैल्यशिखर–७
महाकाली नगरपालिका–४