टर्कीको अडाना प्रान्तमा बम विस्फोट, पाँच जना घाइते

तस्बिरः एजेन्सी

टर्कीको अडाना प्रान्तमा सडक किनारामा थापिएको बम बुधबार विस्फोट हुँदा पाँच जना घाइते भएका छन् ।


प्रहरीका अनुसार प्रहरी बोकेको एउटा बस बम आक्रमणमा परेको हो । प्रान्तका गभर्नर महमुत डेमिर्टासले अडानमा भएको विस्फोटका बारेमा छानबिन शुरु भइसकेको जानकारी दिए ।

उनले घाइते भएकाहरुमा एक जना प्रहरी अधिकृत रहेको जानकारी दिँदै अरु घाइतेहरु सामान्य अवस्थामा रहेको बताए । घाइते भएका अरु चार जना बाटोमा हिँड्ने पैदल यात्रु रहेको गभर्नर डेमिर्टासले जानकारी दिए ।

टर्किस सञ्चार माध्यमले बसमा क्षति पुगेको तस्वीर सार्वजनिक गरेका छन् । गभर्नर डेमिर्टासले बम विस्फोटन गराउने समूहका बारेमा अनुसन्धान भइरहेको जानकारी दिए ।

टर्कीमा सन् २०१५ र २०१६ मा शृंखलाबद्ध बम आक्रमण भएका थिए जसका कारण सयौं व्यक्ति मारिएका थिए । यी आक्रमणहरु अतिवादी इस्लामिक स्टेट्स समूह र कुर्दिस विद्रोही समूहले गरेको आरोप लाग्दै आएको छ ।

प्रकाशित मिति: : 2019-09-25 13:27:41

प्रतिकृया दिनुहोस्