फोहोरमा राजनीति-२
‘ओखरपौवा सम्झेर धेरै पटक रोएको छु । कहिलेकाँही आफैँप्रति धिक्कार लाग्छ ।’ काठमाडौंबाट उत्पादित फोहोर फ्याक्ने गरिएको नुवाकोट, ओखरपौवाका स्थानीय राममणि घिमिरे अहिले यस्तै पश्चात्तापमा बाँच्दै छन् ।
करिब १५ वर्षअघि काठमाडौं उपत्यकामा उत्पादन भएको फोहोर नुवाकोट लैजाने पहल गर्ने टोलीका एक जना अगुवा हुन्, घिमिरे । त्यो काम गरेकोमा अहिले ग्लानि हुन्छ उनलाई ।
नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २, तल्लो सिँउडेनीका बासिन्दा घिमिरे अहिले काठमाडौंको बालाजु बस्छन् । उनको पुख्र्यौंली घर नुवाकोटको साविक ओखरपौवा गाविस, वडा नम्बर ४ मा थियो ।
गाउँकै शिवालय प्राविमा कक्षा तीनसम्म पढे अनि ०३६ सालपछि काठमाडौंमा भर्ना भएका थिए कक्षा ४ मा । उनी काठमाडौं–नुवाकोट आवतजावत गर्थे ।
काठमाडौंको गोलढुंगास्थित नागार्जुन माविबाट २०४३ सालमा एसएलसी उत्तीर्ण गरेका उनलाई त्यसअघि नुवाकोटबाट काठमाडौंसम्म आउन–जान उनलाई सकस पथ्र्यो ।
साथीहरुसँगै घिमिरे दैनिक करिब साढे २ घण्टा पैदल हिँडेर काठमाडौं आउँथे, त्यत्ति नै समय लगाएर फर्कन्थे । ती दिन सम्झिँदै घिमिरेले भने, ‘हामी पढ्नका लागि काठमाडौं आउथ्यौं । दैनिक पाँच घण्टा हिँड्दा अत्यन्तै थाकेर घर पुग्थ्यौँ । पढ्नै सकिन्नथ्यो ।’
काठमाडौंमा मोटर बाटो देखेका थिए, घिमिरेले । उनी र साथीहरूलाई त्यति बेलैदेखि लाग्थ्यो– नुवाकोट जोड्ने पनि बाटो बनिदिएहुन्थ्यो ।
घिमिरे तत्कालीन नेकपा मालेको विद्यार्थी कमिटीमा रहेर काम गर्न थालिसकेका थिए । एसएलसी नदिँदै उनमा नुवाकोट जोड्ने बाटो खोल्ने हुट्हुटी चलिसकेको थियो तर बनाउने कसरी भन्ने चाहिँ उनलाई केही थाहा थिएन ।
त्यसबेलाको आफ्नो चेत सम्झँदै घिमिरेले भने, ‘त्यतिबेला मलाई अरु केही थाहा थिएन । बाटो बनाइदिनुस् भन्ने कुरा गर्छु भनेरै राजनीतिमा सामेल भएको थिए ।’
घिमिरेले समर्थन गरेको पार्टी ०४७ सालमा नेकपा एमाले बन्यो तर एमालेमा लागेर बाटो खोल्ने कुरामा केही गर्न नसक्दा घिमिरे विकल्प खोज्दै थिए । केही समयपछि नै नेकपा माओवादीले उनको आकर्षित ग¥यो । त्यसबेला माओवादीहरू क्रान्तिकारी कुरा गर्थे, माओवादीले वर्ग संघर्ष र गरीब वर्गको उत्थानका कुरा गर्थे । उनी त्यहीँ प्रवेश गरे । पार्टी फेर्नुको कारणबारे उनले भने, ‘मैले पार्टी फेर्नुको कारण नै गाउँको विकास हुन्छ कि भन्ने थियो ।’ कतैबाट केही नभएपछि आफूहरु निराश भएको बताए ।
एसएलसीपछि घिमिरे काठमाडौं बस्न थाले– अस्थायी रुपमा । त्यसपछि पनि घिमिरेलाई काठमाडौंदेखि नुवाकोटसम्म मोटरबाटो पुर्याउने हुट्हुटीले छाडेन । राजनीतिमा लागेका उनी बाटो खोल्ने विभिन्न विकल्पहरुबारे साथीहरुसँग छलफल गरिरहन्थे ।
बाटो खुल्ने लोभमा फोहोर
२०४६ को आन्दोलन हुँदा काठमाडौंको मूलपानी डम्पिङसाइटमा फोहोर फ्याकिन्थ्यो तर बहुदलीय व्यवस्था पुनर्बहालीपछि मूलपानीबासीले विरोध गर्न थाले । विरोधकै कारण ०४९ सालतिर मूलपानी ल्याण्डफिल साइट बन्द भयो ।
सरकारले वागमती र विष्णुमती खोला किनारमा औपचारिक रुपमा नै फोहोर थुपार्न थालेको थियो । त्यसको पनि विरोध भयो । यसविरुद्ध खोला बचाउ अभियान नै सुरु गरेपछि सरकारलाई फोहोर व्यवस्थापनमा झन् अप्ठेरो भयो ।
सरकारले उपत्यकाको फोहोर व्यवस्थापनका लागि नयाँ ठाउँ खोज्न थाल्यो ।
२०४९ सालको स्थानीय चुनावपछि काठमाडौंका मेयर पिएल सिंह भए । सिंहले काठमाडौंको फोहोरको विवाद समाधानका लागि काठमाडौंको स्युचाटारमा फोहोर प्रशोधन केन्द्र खोल्ने योजना अगाडि सारे तर स्थानीयको विरोधका कारण त्यो योजना अघि बढ्न सकेन ।
स्थानीय विकास मन्त्रालयअन्तर्गतको फोहोरमैला व्यवस्थापन तथा स्रोत परिचालन केन्द्रले काठमाडौंको फोहोर व्यवस्थापनका लागि ल्याण्डफिल साइट बनाउने ठाउँ चाहिएकाले इच्छुकले सम्पर्क गर्नुस् भन्ने सूचना पत्रपत्रिकामा प्रकाशित गर्यो ।
उक्त सूचना राममणि र उनका सहपाठीले पढे । उनीहरुले फोहोर व्यवस्थापनका लागि ठाउँ दिने तर त्यसबापत मोटरबाटो बनाइदिनुपर्ने शर्त अघि सारे । काँग्रेस समर्थक साथीहरु लिएर घिमिरे काठमाडौंका मेयर पिएल सिंहलाई भेट्न काठमाडौं पुगे । उनीहरूको प्रस्तावमा सरकार पनि सहमत भयो । घिमिरेको टोलीले स्थानीयलाई समेत उक्त कुरामा मनाए । उनले भने, ‘ओखरपौवाबासीलाई विकासका सपना देखाउन सफल भयौँ ।’
सबै सहमत भएपछि बञ्चरेडाँडा हेर्न काठमाडौंबाट हेलिकप्टरमा चढेर सिंहसहितको प्रारम्भिक अध्ययन गर्ने टोली बञ्चरेडाँडा पुग्यो । त्यसपछि मात्रै सरकारले बञ्चरेडाँडामा दीर्घकालीन स्यानटरी ल्याण्डफिल साइट बनाउने योजना अघि सारेको थियो ।
योजनाको निर्माण कार्य शुरु भएपछि सम्पन्न हुन पनि तीन वर्ष लाग्ने भएपछि सरकारलाई तत्काललाई फोहोर व्यवस्थापनको संकट पर्यो । त्यति नै बेला काठमाडौंमा जापान सरकारको सहयोगमा ‘क्लिन काठमाडौं भ्याली’ अभियान सुरु भएको थियो । त्यो अभियानले पनि काठमाडौंका खोला किनारको फोहोर उठाउन दबाब दिइरहेको थियो । त्यसपछि सरकारले नुवाकोटको ओखरपौवाका स्थानीयलाई अस्थायी ल्याण्डफिल साइटका लागि पनि प्रस्ताव गर्यो । बाटो बन्ने शर्तमा अस्थायी ल्याण्डफिल साइटका लागि पनि उनीहरुले सहमति जनाए । २ लाख ७५ हजार मेट्रिक टन फोहोर अटाउने अस्थायी ल्याण्डफिल साइट पनि बन्यो ।
घिमिरेकै नेतृत्वमा ‘ओखरपौवा स्यानिटरी ल्याण्डफिल साइट मुख्य समन्वय समिति’ पनि बन्यो । २०६२ जेठ २ गते फोहोर व्यवस्थापनका लागि ठाउँ दिएबापत ओखरपौवाको व्यवस्थित विकास गर्ने लिखित सम्झौता भयो ।
केही महिना नै त्यो कुराअगाडि नबढेपछि घिमिरेसहितको टोली नै सिसडोलमा फोहोर लगेर बाटो बनाउन दबाब दिन पटक–पटक स्थानीय विकास मन्त्रालयमा डेलिगेसन गयो । त्यसपछि सरकारले फोहोर लैजाने निर्णय गरेर बाटो खन्दै नुवाकोट फोहोर लग्यो ।
२०६२ जेठ २२ गते विश्व वातावरण दिवसको अवसर पारेर फोहोरको पहिलो गाडी ओखरपौवा पुग्दा घिमिरेको नेतृत्वमा ओखरपौवाबासीले खु्शीयाली जुलुस नै निकालेको थियो ।
दुई वर्षमै पछुतो
फोहोर गाडी सिसडोल पुगेर फर्केपछि घिमिरे घरघरै पुगेर सबैलाई विकासका सपना बाँड्न थालेका थिए । ओखरपौवाबासीको हर्षको सीमा थिएन । काठमाडौं जोडिने सडक मात्रै होइन ओखरपौवाबासीले व्यवस्थित उपत्यका विकासको सपना देखेका थिए । त्यो सपना बाँड्नेको अग्रपंक्तिमा घिमिरे नै थिए । घिमिरे भन्छन्, ‘मैले नै व्यवस्थित उपत्यका विकासको सपना बाँडेको थिए ।’
तर, सुनौला सपना देखाउन गाउँ डुलेको एक वर्षलगत्तै विरोधका स्वर सुनिन थाले । विरोध बढ्न थालेपछि घिमिरेले औपचारिक नेतृत्व छाडे । घिमिरेको बुझाइमा त्यसको कारण राजनीति थियो । उनले भने, ‘शान्ति सम्झौतापछि गाउँमा राजनीतिक कित्ताकाट सुरु भयो । प्रतिबद्धताअनुसारको कुनै पनि काम अगाडि बढेन । राजनीतिक खिचातानीले गर्दा काम हुन सकेन । करिब साढे २ वर्षपछि मैले बस्न सकिन, समिति छोडेँ ।’
औपचारिक नेतृत्व छोडे पनि सिसडोलबासीका लागि लड्न चाहिँ छाडेनन् । तर, समस्या झन् बढ्दै गयो । सिसडोलमा जति समय बढ्दै गयो, त्यति फोहोर र दुर्गन्ध बढ्दै गयो । त्यति मात्रै होइन पछि गएर फोहोरको नामको राजनीति निकै हाबी भएको घिमिरेको बुझाइ छ ।
२ लाख ७५ हजार मेट्रिक टन फाहोर सिसडोल राख्ने, त्यतिबेलासम्म बञ्चरेडाँडा बनिसक्ने सहमति गरेको सरकारले ओखरपौवाबासी १५ वर्षसम्म खुल्लमख्ल्ला ठगी गरेको उनको आरोप छ । घिमिरेले भने, ‘पछि गएर हामीसँग एकीकृत विकास गर्ने गरी लिखित सहमति नै भएको थियो । बाटो मात्रै खोजेका हामी ओखरपौवालाई उपत्यकाको रुपमा विकास गर्ने सहमति हुँदा उत्साहित थियौं । तर, सरकारले खुल्लमखुल्ला हामीमाथि ठगी गर्यो ।’
घिमिरेले भने, ‘त्यतिबेला हामीले फोहोरसँग विकास साटेका थियौं । विकासका लागि हामीले फोहोरलाई माला लगाएका थियौं । तर, सरकारले हामीलाई मुर्ख सम्झिएको रहेछ ।’
अचेल घिमिरेलाई यही कुरामा थकथक लाग्छ । उनी निराशा पोख्छन्, ‘गाउँघर पुगेर गाउँलेका कुरा सुन्दा कहिलेकाँही त साह्रै थकथक लाग्छ।’
यो पनि हेर्नुहोस्