दाङमा पछिल्लो समय बैंकिङ अपराधका घटना बढ्दै गएको छ। अनुसार बैंकिङ कसूर र कम्पनीसम्बन्धी विवादका मुद्दाको चाप बढे्को जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसन्धान अधिकृत राजन गौतमका अनुसार विगतमा बैंकिङ कसूरका घटना धेरै थिएनन्। ‘तर पछिल्ला वर्षमा बढ्दै गएको छ’, उनले भने, ‘चालु आर्थिक वर्ष २०७६÷०७७ को हालसम्म आठ वटा मुद्दा दर्ता भएका छन्।’
मुद्दा दर्ता भएका बैंकिङ अपराधका घटनामध्ये करिब ९० प्रतिशत व्यक्ति पक्राउ परिसकेको उनको भनाइ छ। ‘केही व्यक्ति भने फरार नै छन्।’ उनले भने।
शहरी क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको वृद्धि भएसँगै यससम्बन्धी मुद्दा पनि बढ्दै जान थालेको उनले बताए। विश्वासका रुपमा लिएको चेकमा समेत बेइमानी बढेका कारण यस्ता घटना बढ्दै गएको गौतमको भनाइ छ। ‘दाङमा गत आव २०७५÷०७६ मा ११ वटा बैंकिङ अपराधका घटनाका मुद्दा दर्ता भएका थिए।’ उनले भने।
जुनसुकै तह तप्काका मानिस पनि चेक बाउन्सका घटनामा संलग्न भएको उनको भनाइ छ। ‘प्रहरीले चेक बाउन्सको उजुरी परेपछि दुवै पक्षलाई बोलाएर छलफल गराएर मिल्ने समयसमेत दिएको छ’ उनले भने, ‘पीडित र पीडक पक्ष नमिलेको खण्डमा मात्र प्रहरीले पीडित पक्षको उजुरी लिने गरेको छ।’ आर्थिक कारोवार गर्दा सबै सचेत हुनुपर्ने उनको भनाइ छ।