जिल्लाको छत्रदेव गाउँपालिकाले मास्क उत्पादन शुरु गरेको छ। पालिकाका अध्यक्ष लेखनाथ पोखरेलका अनुसार बजारमा मास्क नपाएपछि उच्च सतर्कता अपनाउँदै स्थानीय टेलर्स व्यवसायीमार्फत उत्पादन शुरु गरेको हो।
‘विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नेपालमा पनि फैलिने सम्भावना देखिएपछि सबै वडाका स्थानीयवासीलाई ३० हजारभन्दा बढी मास्क उत्पादन गर्ने काम भइरहेको छ’ उनले भने।
कोरोनाका त्रासका बीच मास्कको अभाव देखिएपछि पालिकाले आफँै उत्पादनमा ध्यान दिएको उनको भनाइ छ।
‘छिमेकी राष्ट्र चीनसहित धेरै देशमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ। नेपालमा पनि यसको जोखिम छ’, उनले भने, ‘यसको फाइदा उठाउँदै कतिले कालोबजारी गरिरहेका छन्, हाम्रो पालिकाले आफैँ मास्क उत्पादन गरिरहेको छ।’
पालिकाका सबै कर्मचारीलाई मास्क वितरण गरिसकिएको र सबै वडा कार्यालयमार्फत स्थानीयवासीलाई वितरण गर्न शुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले जानकारी दिए। ‘बजार भाउभन्दा सस्तो मास्क आफूहरुले उत्पादन गरेर वितरण गरिएको हो’ उनले भने।