हजुरबुबा र नातिनीको सडक दुर्घटनामा मृत्यु भएपछि मोरङको विराटचाेक सडकखण्ड तनावग्रस्त बनेको छ।
विराटनगरमा महानगरपालिका–१९ स्थित मिलनचोकमा उत्तरतर्फबाट आइरहेको को१क २९१७ नंको टिपरले विपरीत दिशातर्फ गइरहेको टेम्पोलाई मंगलबार राति ९ः३० बजे ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख विश्व अधिकारीका अनुसार टेम्पो चालक ग्रामथान गाउँपालिका बस्ने ४५ वर्षीय बाबुराम सरदार र उनका छ वर्षीया नातिनी आरोही सरदारको मृत्यु भएको हो।
घटना लगत्तै सो क्षेत्रमा रातभर अवस्था तनावपूर्ण रहेको थियो। घटनापछि आक्रोशित स्थानीयवासीले टिपरमा आगजनी गरेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङ तथा वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले भिडलाई हटाएर दमकलको सहयोगमा आगो निभाएको थियो ।
त्यसयता हाल दुर्घटनास्थलमा विरोधसँगै सडकखण्ड अवरुद्ध रहेको छ। रुख काटेर सडकमा ढालिएको छ भने टायर बालेर प्रदर्शन भइरहेपछि सडकमा सवारी साधन सञ्चालनमा आउन सकेका छैनन् ।
अर्कोतर्फ, आन्दोलित स्थानीयले भने अहिले पनि सवारी साधन सञ्चालनमा रोक लगाउँदै झोराहाट र मिलनचौकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । सो क्षेत्रमा थप अप्रिय घटना हुन नदिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङले टिपर चालक सुनसरी रामधुनी नगरपालिका ५ बस्ने ३३ वर्षीय हरेराम चौधरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।