सुत्केरी र शिशुको मृत्युसँगै रंगेली अस्पताल तनावपूर्ण, सुरक्षा व्यवस्था कडा

नवजात शिशु र सुत्केरी महिलाको मृत्यु चिकित्सकको लापरबाहीका कारण भएको भन्दै आफन्त प्रदर्शनमा उत्रिएपछि मोरङको रंगेली नगरपालिका–७ स्थित रंगेली अस्पताल मंगलबार दिउँसो तनावग्रस्त बनेको छ। 

सामान्य प्रसूतिमार्फत छोरा जन्माएकी रंगेली–९ दोहमनाकी २५ वर्षीया रविना सरदार र उनीबाट जन्मिएका नवजात शिशुको सोमबार मृत्यु भएपछि सुरु भएको आन्दोलनले उग्ररुप लिएको छ। रविनलाई सुत्केरी व्यथाले च्यापेपछि सोमबार बिहान अस्पताल भर्ना गरिएको थियो। बिहान १० बजे सामान्य प्रसूतिमार्फत उनले दोस्रो सन्तानका रुपमा छोरा जन्माइन। 

चिकित्सकको लापरबाहीले आमा र शिशुकै मृत्यु भएको भन्दै आफन्त र परिवारका सदस्यले अस्पताल बाहिर नाराबाजी र प्रदर्शन थालेपछि अवस्था तनावग्रस्त बनेको हो। उनीहरुले सुत्केरी र शिशुको शव बुझ्न अस्वीकार गरेका छन्। आन्दोलित बनेका आफन्तले मृत्युको वास्तविक कारण पत्ता लगाएर दोषी चिकित्सकमाथि कारबाही हुनु पर्ने र आगामी दिनमा यस्तो गल्ती दोहोरिन नहुने माग राखेका छन्। 

अस्पतालमा कुनै अप्रिय घटना हुन नदिन ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरेर सुरक्षा व्यस्था कडा पारिएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए। नेपाल प्रहरीका डीएसपी मानबहादुर राई र इन्सपेक्टर लेखनाथ दाहाल नेत्रृत्वको अलगअलग टोली प्रदर्शनस्थलमा परिचालित रहेको उनको भनाइ छ। 

रविनाका दाजु प्रल्हाद सरदारले प्रसूति व्यथाले च्यापेर भर्ना गरिएको लामो समयसम्म चिकित्सकले वास्ता नगर्दा बहिनी र नवजात शिशु गुमाउनु परेको बताए। सुविधा सम्पन्न अस्पतालमा रेफर गरिदिनु भन्दा पनि नमानेको उनको भनाइ छ। ‘रक्तश्राव नरोकिएर अवस्था गम्भीर बनेपछि बिहान ११ बजे मात्रै उपचार सम्भव भएन भनेर चिकित्सकले सुविधा सम्पन्न असपतालमा रेफर गरिदिन आग्रह गरेको थिए,’ उनले भने,‘ ढिलो गरेर रेफर गरिदिएपछि रविनालाई विराटनगरको कोशी अस्पताल ल्याइएको थियो। कोशीमा पनि उपचार सम्भव नभएपछि नोबेल शिक्षण अस्पताल पु¥याइयो। नोबेल पु¥याएको केही बेरमै सुत्केरीलाई चिकित्सकले मृत घोषित गरेको हो।’

उनले जीवितै बच्चा जन्मिएको भए पनि चिकित्सकले मृत जन्मिएको भनेर ढाँटिरहेको बताए। ‘चिकित्सकले वास्तै नगरेका कारण जन्मिएको आधा घण्टामा शिशुको मृत्यु भयो,’ उनले भने, ‘अवस्था गम्भीर बनेर गएपछि मात्रै रेफर गरिका कारण सुत्केरी बहिनीलाई पनि बचाउन सकिएन।’

डा. ठाकुरले सुत्केरीको मृत्यु चैं ‘पोस्टपार्टन ह्याम्रेज’ का कारण भएको बताए। उनले बच्चा जन्माउने क्रममा पाठेघर फुटेकाले रक्तश्राव अत्याधिक भएको हुन सक्ने बताए।

‘प्रसूति व्यथाले च्यापेपछि सामान्य अवस्थामै महिलालाई अस्पतालमा भर्ना गरिएको थियो। बच्चा जन्मिएसम्म अवस्था सामान्य नै थियो,’ डा. ठाकुरले, ‘तर अत्याधिक रक्तश्राव हुन थालेपछि औषधि उपचार थालेर रोकथामको प्रयास धेरै गर्दा समेत सम्भव भएन। अवस्था थप गम्भीर बन्दै गएपछि सुविधा सम्पन्न अस्पतालमा रेफर गरिए पनि सुत्केरीलाई बचाउन सकिएन।’ उपचारमा चिकित्सकले कुनै लापरबाही नगरेको बताउँदै शवको पोस्टमार्टम गरेपछि मात्रै मृत्युको सबै कारण खुल्ने जानकारी दिए। 
 
समस्या समाधानका लागि भनेर अहिले अस्पताल व्यवस्थापन समितिको बैठक बसिकेको छ। तर बैठक र छलफलमा बस्न सुत्केरीका आफन्तले भने अस्वीकार गरेका छन्। 

 

प्रकाशित मिति: : 2020-02-19 06:30:49

प्रतिकृया दिनुहोस्