अमेरिकाबाट फर्कँदा दिमाख बिग्रेछ भन्थे, अहिले सप्रिएछ भन्छन्

तस्बिरः बिएल

अझै पनि हजारौंको संख्यामा नेपाली लाखौं रूपैँया खर्चिएर मेक्सिकोको बाटो हुँदै हिँडेरै अमेरिका पुगिरहेकै छन्। तर, यही देशमा केही यस्ता ब्यक्ति पनि छन् जो अमेरिकी ग्रीनकार्ड त्यागेर मातृभूमिको सेवा गर्छु भन्दै नेपाल फर्किए।

सुन्दा अचम्म लागे पनि दाङ घोराहीका गजराज अधिकारी शर्माले त्यस्तै गरे। उनी ग्रीनकार्ड त्यागेर नेपाल फर्किए र सारा गाउँलेलाई नै अचम्मित पारे। सुरूमा त उनलाई अमेरिकाबाट फर्केको भनेर उडाए पनि तर, समयक्रममा अहिले त्यही दाङ घोराहीका जनता अधिकारीको प्रगतिको चर्चा गर्ने गर्छन्।

२०३० सालमा दाङको घोराहीमा जन्मिएका अधिकारीको अमेरिकी ‘क्रेज’ देखेर एक समय साथीहरु पनि छक्क पर्थे। अमेरिका जानकै लागि उनले ‘ट्राभल हिस्ट्री’ बनाउन जापान, अष्ट्रेलिया, जर्मनी, नेदरल्याण्ड, इटलीदेखि युरोप डुले। शंकरदेव क्याम्पसबाट स्नातकोत्तर गरेपछि एकपटक अमेरिका जसरी पनि पुग्ने धोको जागेको जनाउँदै अधिकारी भन्दछन्- 'मेरो दिमागमै अमेरिका थियो। जसरी पनि एकपटक अमेरिका पुग्ने धोको भए पनि भाग्यले साथ दिइरहेको थिएन। अन्ततः डिभीले नै मलाई अमेरिकासम्म पुर्‍यायो।'

पेशाले अडिटर अधिकारीलाई सन् २०१० मा डिभी पर्‍यो। जसरी पनि अमेरिका जान चाहिरहेका उनका लागि यो स्वर्णिम अवसर थियो। परेलगत्तै, उनी अमेरिका उडे। अमेरिका पुगेपछि कामको लागि अधिकारी धेरै ठाउँमा भौतारिए।

नेपालको शिक्षा अमेरिकामा काम लागेन। त्यसपछि उनी ग्याँस स्टेसनमा काम गर्न बाध्य भए। चार महिनाको अन्तरालमा अधिकारीले भर्जिनिया, पेन्सनभेनिया र सियाटललगायत क्षेत्रमा लगानीको सम्भाब्यता पनि खोजी गरे।

अमेरिका भ्रमण गर्नुअघि नै धेरै विकसित देशको भ्रमण गरिसकेका अधिकारीलाई त्यहाँ खासै नौलो केही लागिरहेको थिएन।

नेपालका अडिटर अधिकारी अमेरिकाको ग्याँस स्टेसनमा दैनिक १२ घण्टासम्म काम गर्थे। महिनामा दुई हजार सातसय डलरसम्म आम्दानी हुन्थ्यो। उनले हिसाब गर्दा यो आम्दानीले अमेरिकामा परिवार लगेर पाल्न पनि कठिन हुने देखियो।

उनले परिवारलाई नेपालमै राखेर सन् २०१४ सम्म अमेरिकामा आउँने/जाने गर्दै सम्भावनाको खोजी गरिरहे। यस क्रममा उनलाई केही पैसा त हुने जस्तो पनि लाग्यो। तर, आत्मसम्मान र प्रतिष्ठाका बारेमा उनी आश्वस्त हुन सकेनन्। त्यसपछि उनी निरन्तर नेपाल बस्ने निर्णयमा पुगे र सन् २०१४ पछि नेपालमै बसिरहेका छन्।

नेपाल फर्के पनि अमेरिकाका टाढा टाढा गाउँमा पनि स-साना चिटिक्क परेका घर, सफा बस्ती, हरियाली वातावरणले अधिकारीलाई निकै प्रभावित पारेको थियो। काठमाडौंको भीडभाड उनलाई मन परेन, उनले दाङको घोराईमै बस्ने निर्णय गरे।

यो पाँच वर्षको अन्तरालमा उनले राम्रो प्रगति गरे। पेशाले अडिटर अधिकारी दाङका १५५ वटा र काठमाडौंका २० वटा कम्पनीको ‘अडिट’ गर्छन्। यसबाट मात्र वार्षिक ७५ लाखको हाराहारीमा कमाई हुन्छ उनको। अहिले अधिकारीले दाङको आफ्नो ६ विघा जग्गामा एवोकार्डो खेती गर्ने तयारी गरिरहेका छन्। अधिकारीका दुई सन्तान छन्- ८ वर्षकी छोरी र दुई वर्षको छोरा, दुबै दाङमै पढ्छन्।

अधिकारी भन्छन्- 'अमेरिकामा मात्र हैन, मैले धेरै देश पुगेर सम्भावनाको खोजी गरेँ, त्यसबारेमा अध्ययन गरे। तर, नेपालजति सम्भावनानै सम्भावनाको देश कहीँ देखिनँ। अमेरिकामा जस्तो कठिन मेहेनत नेपालमै गर्न सके त्यहाँको भन्दा बढी आम्दानी यही गर्न सकिन्छ।’

आफ्नो पुस्ताका लागि मात्र हैन, छोरा-छोरी पुस्ताका लागि पनि उनी नेपालमै भविष्य देख्छन्।

प्रकाशित मिति: : 2019-03-26 08:33:47

प्रतिकृया दिनुहोस्