मोरङमा १२ घण्टाभित्र भिन्नभिन्न घटनामा ४ जनाले ज्यान गुमाएका छन्। शुक्रबार राती र शनिबार बिहान भएको घटनामा ४ जनाले ज्यान गुमाउनुका साथै तीन गम्भीर घाइते भएका छन्।
घाइतेको विराटनगरमा उपचार भइरहेको छ। मोरङ प्रहरी प्रवक्ता डिएसपी लोकदर्शन थापाका अनुसार कोशी राजमार्गअन्तर्गत विराटनगर महानगरपालिका–४ स्थित ढाटमा शनिबार बिहान टिपरले मोटरसाइकललाई धक्का दिँदा दुई जनाको मृत्यु भएको छ । विराटनगरबाट इटहरी गइरहेको को १ ख ७३०९ नम्बरको टिपरले बिहान ७ बजेतिर इटहरीतर्फ जाँदै गरेको तीन जना सवार प्रदेश २–०१–००१ प १६०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सिरहा सुखीपुर नगरपालिका–२ का २४ वर्षीय मोहम्मद ओजिर राइन र सप्तरी चण्डीमल हनिया गाउँपालिका–२ का २८ वर्षीय हरेराम साहको मृत्यु भयो।
राइनले मोटरसाइकल चलाइरहेका थिए। घाइते अवस्थामा दुबैलाई उपचारका लागि कोशी अस्पताल विराटनगर पु¥याइएको थियो। चिकित्सकले अस्पतालमा उनीहरुलाई मृत घोषित गरे।
मोटरसाइकलमा बसेका सप्तरी रुपनीका १८ वर्षीय धनराज यादव भने गम्भीर घाइते भएका छन् । उनको अवस्था पनि चिन्ताजनक रहेको प्रहरीले बताएको छ। डीएसपी थापाले तीन जना सवार तीव्र गतिमा रहेको मोटरसाइकल ओभरटेक गर्ने क्रममा टिपरको अगाडिको चक्कामा ठोक्किएर दुर्घटना भएको बताए। मृतक र घाइते तीनै जना विराटनगरको गोल्डेन पार्क कलेजमा ओभरसियर अध्ययनरत थिए।
दुर्घटनापछि आक्रोसित स्थानीय बासिन्दाले टिपर रोक्ने प्रयास गरेका थिए । तर चालकले सिधै नेमुवा पु¥याएर इलाका प्रहरी कार्यालय भित्र टिपर छिराएपछि थप कुनै घटना हुन नपाएको प्रहरीले जनाएको छ । टिपर र चालक मोरङको ग्रामथान गाउँपालिका–७ का ३५ वर्षीय शशिकुमार थन्दारलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरमा पनि शुक्रबार राति ११ः५५ बजे दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भयो। दुई जना गम्भीर घाइते भएका छन् ।
को ३७ प १७ नम्बर र तीन जना सवार रहेको को ३४ प ६६०२ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा सलकपुरका २२ वर्षीय विशाल खत्री र २३ वर्षीय अर्पण गुरागाईको घटनास्थलमै मृत्यु भएको थियो। विशाल को ३७ प १७ नम्बर र अर्पण अर्को मोटरसाइकल चलाइरहेका थिए। विशाल र अर्पण दुबैले मापसे गरेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा को ३४ प ६६०२ नम्बरको मोटरसाइकलमा सवार सलकपुरका २१ वर्षीय प्रदीप थापा र संखुवासभाको चैनपुर नगरपालिका–३ का २० वर्षीय लक्ष्मण खत्री गम्भीर घाइते भएका छन् । उनीहरुको विराटनगरको विराट नर्सिङ होममा उपचार भइरहेको र घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी थापाले जानकारी दिए ।