गोतामे पत्रकारिता पुरस्कार झापाका पत्रकार केशव आचार्यलाई प्रदान गरिएको छ।
पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठानले स्थापना गरेको गोतामे पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासङ्घ, पर्साको सभाहलमा आयोजित कार्यक्रममा आचार्यलाई प्रदान गरिएको हो। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पुरस्कार बापत एक तोल सुनको पदक आचार्यलाई प्रदान गरेका हुन्।
पुरस्कार वितरण गर्दै मुख्यमन्त्री राउतले साहित्यकार र पत्रकार अहोरात्र खटेर समाज र जनतालाई सु–सूचित गर्दै आएको बताए । चार दशकअघि गोपालचन्द्र गौतमले गरेको पत्रकारिता अहिलेको बेलामा मूल्याङ्कन गर्न नसकिने उनको भनाइ थियो।
‘विचार हुनेले कलम निखार्न सक्दैन र कलम निखार्नेले विचार निखार्न सक्दैन, यी दुई कुरा पत्रकार गौतममा भरिपूर्ण रहेकोले त्यतिखेर क्रान्तिकारी पत्रकारिता गरेर समाज र देशलाई गति दिएका हुन्,’ उनले भने।