सप्तकोसीमा सञ्चालित जेट बोट सेवा बन्द

सप्तकोसी नदीमा सञ्चालित जलयातायात (जेट बोट) सेवा बन्द भएको छ। जेट बोट सञ्चालनका लागि प्रष्ट कानून अभावका कारण सेवा बन्द गरिएको हो। 

सप्तकोसी नदीमा दुई वर्षदेखि नियमित जलयात्राको सेवा सञ्चालनमा रहेको थियो। सरकारले कानून निर्माण गरी नियमन गर्नु पर्ने, सुरक्षा प्रदान गर्नु पर्ने, भाडादर कायम गर्नु पर्ने लगायतका माग राख्दै व्यावसायीहरुले अनिश्चितकालका लागि बिहीबारबाट जलयातायात सेवा बन्द गराएका हुन्।

स्थानीय तहदेखि प्रहरी प्रशासनले समेत दुःख दिने गरेकाले सरकारलाई छिटो कानून निर्माण गरी नियमन गर्न दबाव दिने उदेश्यले सेवा अनिश्चितका लागि लागि बन्द गरेको सप्तकोसी टुरिजम एन्ड वाटर ट्रान्सपोर्टेसनका सञ्चालक राजेन्द्र कार्कीले बताए।

सञ्चालक कार्कीले भने, ‘विभिन्न कारणले हाम्रो लगानी जोखिममा पर्दै गएको छ। सरकारले न त जलयात्राका लागि स्पष्ट कानून बनाएको छ, न त व्यवसायीको लगानी सुरक्षामा ध्यान दिएको छ, यस्तो अवस्थामा हामी सेवा दिन सक्दैनौं।’ 

दैनिक ५ सय बढीले जेट बोटको यात्रामार्फत आफनो गन्त्वयमा पुग्ने गरेका थिए। जेट बोटमार्फत नै बराहक्षेत्र दर्शनका लागि मानिसहरु आउजाउ गर्ने गरेका कारण बाह्य र आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुगेको थियो।

द्रूत तर महंगो
सप्तकोसी टुरिजम एन्ड वाटर ट्रान्सपोर्टेसन र सप्तकोसी टुरिजम एन्ड वाटर ट्रान्सपोर्ट प्रालिले सप्तकोसी नदीमा चारवटा जेटबोट सञ्चालन गदै आएका थिए।

उदयपुर, सुनसरी, धनकुटा हुँदै भोजपुरको त्रिवेणीस्थल सिम्लेसम्मको १६ किलोमिटर जलयातायात संचालन हुँदै आएको थियो।

झण्डै २० मिनेटको यात्रा हुने एक जेटबोट सामान्यतः २० जना क्षमताको छ। अन्य सवारी साधनबाट ४५ मिनेटको समय लाग्ने चतारा बराहाक्षेत्रसम्मको यात्रामा जेटबोटबाट ३ मिनेट २५ सेकेण्डमा पुग्न सकिन्छ।

सेवा छिटो भए पनि भाडादर भने निकै महंगो भएको स्थानीयको गुनासो छ। स्थानीयले भाडादरलाई पुर्नविचार गर्नु पर्ने माग गरेका छन्। साथै सरकारले सप्तकोसी नदीमाका बीचमा रहेका ठूला ढुंगा पंन्छाएर बाटो खोलिदिएको खण्डमा एक घन्टामै तुम्लिङटार र दुई घण्टामा दोलालघाटसम्म सहजै पुग्न सकिन्छ।

व्यावसायिक रुपले सप्तकोसी नदीमा पहिलो पटक सञ्चलनमा ल्याइएको जेटबाट दैनिक १० हजारसम्म आम्दानी हुने गरेको बताइन्छ।

प्रकाशित मिति: : 2020-02-14 02:18:25

प्रतिकृया दिनुहोस्