अमेरिका र अस्ट्रेलियाद्वारा चीनबाट फर्केका विदेशीलाई प्रवेश नदिने घोषणा

कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ४ पुगेको छ। शनिबार वुहानमा मात्रै ४५ जनाको ज्यान जानुको साथै एक हजार ९ सय २१ जना नयाँ सङ्क्रमित भेटिएको चीनले आधिकारिक पुष्टि गरेको सञ्चारमाध्मयले जनाएका छन्। 

चीनले आफ्नो देशमा कोरोना सङ्क्रमितको सङ्ख्या १३ हजार पुगेको बताएको छ तर हङकङ विश्वविद्यालयले गरेको अध्ययनअनुसार हुबेईमा मात्र ७५ हजार सङ्क्रमित रहेको प्रतिवेदन शनिबार सार्वजनिक भएको थियो।

सङ्क्रमण फैलने क्रम झनै तीव्र बनेपछि विश्वव्यापी सतर्कता बढाइएको छ। रुस, जापान, पाकिस्तान र इटलीले यसअघि नै यस्तै यात्रा प्रतिबन्ध लगाइसकेका छन्। विश्वका धेरैजसो देशहरुले आफ्ना नाकामा स्वास्थ्य जाँच सुरु गरेका छन्। 

कोरोना भाइरसको बढ्दो सङ्क्रमण रोक्ने उद्देश्यले विश्वका विभिन्न देशले चीनबाट आफ्नो देशमा मानिसहरूलाई भित्रिन नदिने गरी प्रतिबन्ध लगाएका छन्।

गएको डिसेम्बरमा भाइरस फेला परेको देश चीनको भर्खरै भ्रमण गरेका विदेशीलाई अमेरिका र अस्ट्रेलियाले आफ्नो देशमा प्रवेश नदिने निर्णय लिएका छन्।

निकै कम मात्र स्वास्थ्य आपतकाल घोषणा गर्ने अमेरिका र अस्ट्रेलियाले पछिल्ला दुई हप्ता चीन भ्रमण गरेका विदेशी नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएको छ भने चीनबाट फर्किएका आफ्ना सबै नागरिकलाई १४ दिन डाक्टरहरुको निगरानीमा राख्न थालेका छन्।

रोकथाम र नियन्त्रणका लागि सहयोग स्वीकार

चीनको रेडक्रस सोसाइटी र रेडक्रस फाउन्डेसनले कोरोना भाइरसको महामारी नियन्त्रणको आवश्यकता र दाताहरूको इच्छा अनुसार भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि शुक्रबारसम्म  करिब ८५ करोड युआन (झण्डै १२ करोड ३३ लाख ७० हजार अमेरिकी डलर) को सामाजिक सहयोग स्वीकार गरेका छन्।

कुल ८४ करोड ९७ लाख २० हजार युआन सहयोगमध्ये ६५ करोड ६९ लाख ६० हजार युआन नगद र १९ करोड २७ लाख ७० हजार युआन बराबरको सामग्रीलाई सरूवा रोग नियन्त्रण कार्यालय र सहयोगदाताको इच्छा अनुसार आवश्यक परेको स्थानमा प्रयोग गरिने रेडक्रसले जनाएको छ।

चीनको रेडक्रस सोसाइटीले प्राप्त गरेको आठ करोड २९ लाख र फाउन्डेसनले ५७ करोड ६६ लाख ६७ हजार युआन सहयोग कोरोना भाइरस सङ्क्रमणको केन्द्र हुबेईका साथै साङडोङ र चच्याङमा कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि खर्च गरिने बताइएको छ।

प्रकाशित मिति: : 2020-02-02 20:12:47

प्रतिकृया दिनुहोस्