कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय ६ पुग्याे, चार हजारभन्दा बढी सङ्क्रमित

 कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय ६ पुगेको छ।

चार हजारभन्दा बढी यो भाइरसबाट सङ्क्रमित भएको चिनियाँ अधिकारीहरुले बताएका छन्। चिनियाँ नयाँ वर्ष ‘लुनार’ को समयमा कोरोना भाइरसले प्रकोपको रुप लिएको हो। यो पर्वका अवसरमा लाखौँ चिनियाँहरु आफन्त र साथीहरुलाई भेट्न जाने गर्दछन्। 

भाइरस फैलिएपछि त्यसको प्रसारमा रोक लगाउन नयाँ वर्षको बिदा गएको आइतबार तीन दिन पर सारिएको छ।  कोरोना भाइरस फैलने क्रम तीव्र भएपछि केही वुहान शहरलगायत अन्य केही शहरमा यात्रा गर्न प्रतिबन्ध लगाइएको छ। वुहान शहरमा यात्रामा प्रतिबन्ध लगाइएपछि सुनसान जस्तै भएको छ। खाली सडक, सुनसान खेल मैदान, खाली सपिङ मल र कहिलेकाहीँ एम्बुलेन्स दौडिएको देख्न सकिन्छ। 

सिङ्गापुर र जर्मनी, अमेरिका, थाइल्याण्ड, फ्रान्स र कोरियामा पनि यो भाइरसको घटना सार्वजनिक भएपछि अन्तर्राष्ट्रियस्तरमा सङ्क्रमित हुनेको सङ्ख्या पनि बढेको छ। 

चीन सरकारले आफ्ना नागरिकहरुलाई विदेश यात्रा नगर्नका लागि सचेत गराएको छ। अमेरिकी सरकारले पनि आफ्ना नागरिकहरुलाई चीन यात्रा नगर्न भनेको छ। 
 

प्रकाशित मिति: : 2020-01-28 21:18:04

प्रतिकृया दिनुहोस्