चिर प्रतिद्वन्दिबीच उपाधि भिडन्त हुने

महिला भलिबलका चिर प्रतिद्वन्दि एपिएफ र न्यू डायमन्डबीच उपाधिका लागि भिडन्त हुने भएको छ। नेपाल भलिबल संघको आयोजनामा भएको पाँचौ आरबिबी एनभिए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिप–२०२० को बिहीबार सम्पन्न भएको सेमिफाइनलमा एपिएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २५–१५, २५–१६, २५–२२ ले पराजित गर्दै होङ्गवान्जी न्यू डायमन्ड स्पोर्टस् क्लबसँगकाे भेट पक्का गरेको हो।

अर्को खेलमा होङ्गवान्जी न्यू डायमन्ड स्पोर्टस् क्लबले सेनाको टिएसीलाई ३–० ले पराजित गर्‍यो। डायमन्डले टिएसीमाथि २५–१५, २५–२२, २५–१३ को जित निकालेको हो। राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको प्रतियोगिताको पुरुषतर्फ सेमिफाईनलमा दुई विभागीय टोली एपिएफ र सेनाको टिएसी बीचकाे खेलमा एपिएफले बाजी मार्‍यो। अघिल्लो संस्करणको विजेता टिएसीलाई २५–२२, २५–२२, २६–२४ को सेटमा पराजित गर्दै एपिएफ उपाधी नजिक पुगेको हो।

अब एपिएफले उपाधिका लागि हेल्प नेपाल स्पोर्टस् क्लबसँग प्रतिस्पर्धा गर्नेछ। तीन भारतीय खेलाडी र भारतीय सेनाका नेपाली खेलाडी सम्मिलित हेल्प नेपालले नेपाल पुलिस क्लबलाई २५–२१, २५–१६, २५–१५ ले पराजित गर्दै एपिएफसँगकाे भेट पक्का गरेको हो। भारतीय खेलाडीलाई प्राथमिकतामा राख्ने हेल्प नेपालले अघिल्लो संस्करणमा सहभागिता जनाएता पनि खेलाडी बिबादका कारण प्रतियोगिता छोडेको थियो। 

च्याम्पियनसिपमा बिजयी शीर्ष तीन टोलीले नगद २ लाख, १ लाख र ५० हजारसहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गर्नेछन्। यस्तै विधागत तर्फ उत्कृष्ट खेलाडीले नगद १० हजार र सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार प्राप्त गर्नेछन्। च्याम्पियनसिपको फाईनल अपरान्ह २ बजे पहिलो खेल महिलाको एपिएफ र न्यू डायमन्डबीच र दोश्रो खेल पुरुषको एपिएफ र हेल्प नेपालबीच ४ बजे हुने आयोजकले जनाएकाे छ।
 

प्रकाशित मिति: : 2020-01-24 12:09:26

प्रतिकृया दिनुहोस्