सवारीको ठक्करबाट छोरालाई स्कुल पुर्‍याउन गएका अर्जुनबहादुरको मृत्यु

छोरालाई पछाडि बोकेर स्कुल पुर्याउन जाँदै गरेका एक व्यक्तिको सवारीको ठक्करबाट ज्यान गएको छ। काठमाडौंका चाबहिल–सुकेधारा खण्डमा बसले एक छात्राको ज्यान लिएको भोलिपल्ट चन्द्रागिरि नगरपालिका-१२, गुर्जुधारामा गाडीको ठक्करबाट एक जनाको ज्यान गएको हो।

प्रदेश ३-०२-००९ प ७६२१ नम्बरको मोटरसाइकल चलाइरहेका अर्जुनबहादुर केसीलाई मंगलबार बिहान नम्बर नखुलेको ट्रकले ठक्कर दिएको हो।

पर्वत ठूलोपोखरी घर भएका भई हाल चन्द्रागिरी नगरपालिका वडा नम्बर ५ चेकपोस्ट बस्ने केसीको घटनास्थलमै मृत्यु भएको छ।

केसी छोरालाई कलंकीस्थित एलआरआई स्कुलमा छाड्न जाँदै थिए। मोटरसाइकलको पछाडि बसेका उनका छोरा सामान्य घाइते छन्।

उनको ओम समाज हस्पिटलमा उपचार भइरहेको छ। सवारी साधनबारे कुनै जानकारी नभएको र सडकको सिसिटिभी फुटेज चेकजाँच भइरहेको महानगरीय प्रहरी बृत्त थानकोटका डीएसपी घनश्याम श्रेष्ठले बताए।

स्थानिय र मृतकका केही आफन्तले ठक्कर दिने सवारी साधन पता नलगाएसम्म शव उठाउने र गल्ती गर्ने चालकलाई कारबाहीको माग गरेका छन्।

घटनास्थलमा तनाव भएपछि अवस्थामा नियन्त्रणमा लिन महानगरीय प्रहरी वृत्त, कालीमाटीका डीएसपी रुगम कुँवरको नेतृत्वको अर्को प्रहरी टोली पनि त्यहाँ पुगेको छ।

प्रकाशित मिति: : 2019-12-24 23:53:46

प्रतिकृया दिनुहोस्