खाडीमा बीएल–५
बुटवल स्थायी निवासी दीपक सुनारले २०७४ सालमा ‘प्लस–२’ को परीक्षा ६० प्रतिशत अंक ल्याएर पास गरे। उनको चाहना थियो, नेपालमै गाडी चलाएर परिवार पालिरहेका आफ्ना बुवालाई सघाउने।
उनले यसका लागि जागिर नखोजेका होइनन्। सरकारी र गैरसरकारी गरी दुई ठाउँमा आवेदन नै दिए। तर दुवै ठाउँमा जागिरका लागि पैसाको बार्गेनिङ भयो। यो घटनाले निराश बनेका सुनारले अन्य नेपाली दाजुभाइ जस्तै वैदेशीक रोजगारीका लागि खाडी जाने सोच बनाए।
केही ऋणपान गरेर उनी रोजगारीका लागि कतार हानिए। गत वर्ष उनी मजदुर कोटामा कतार आएका थिए। तर, कम्पनीले उनको पढाइ राम्रो देखेपछि ‘अफिस ब्वाई’ मा पदोन्नती गर्यो।
यतिबेला उनी आफूले कमाएको पैसाले घरमा केही सहयोग पुर्याउन सफल भएकोमा सन्तुष्ट देखिन्छन्। तर, पढाई छोड्नु परेको र देशमा रोजगारी नपाएको घटनाले उनलाई अझै निरास तुल्याएको छ।
कतारमा सुनार जस्ता थुप्रै युवाहरू छन्, जो राम्रो पढाई भए पनि देशमा अवसर नपाएर ५० डिग्रीको गर्मीमा मजदुरी गर्न विवश छन्। उनीहरू यतिबेला नेपाली नेताहरूको नाम पनि सुन्न चाहदैनन्।
दूरदर्शी नेताको अभावका कारण आफूहरूले दुःख पाएको उनीहरूको निचोड छ। २०४६ सालमा नेपालमा प्रजातन्त्र स्थापना भएपछि वैदेशीक रोजगारीका लागि खाडीका देशहरू जाने नेपाली प्रचल्न अहिले उत्कर्षमा पुगेको छ।
प्रजातन्त्र हुँदै नेपाल लोकतन्त्रमा प्रवेश गरे पनि वैदेसिक रोजगारीका लागि खाडी आउने नेपालीहरूको संख्यामा कमी आएको छैन, बरु बढ्दै गइरहेको छ। अहिले नेपालमा राजनैतिक पार्टीको मुखपत्रमा नेपाली युवाहरूलाई खाडीका देशहरूमा रोजगारी गर्न बाध्य पार्ने अवस्थाको अन्त्य गर्ने भन्दै भोट माग्ने चलन पनि बढ्दो छ।
तर, चुनाव जितेपछि खाडीमा जाने नेपालीहरूको संख्या घट्ने त होइन, झन् बढ्दै गइरहेको छ।
त्यसैले यतिबेला खाडीमा रोजगारी गरेर बसेका नेपाली युवा–युवतीमा नेपाली राजनैतिक दल र नेताहरू प्रति आकर्षण घट्दै गइरहेको छ।
बरु उनीहरूको सट्टा नेपालमा प्रतिबन्ध लगाइएको विप्लव माओवादी प्रति युवाहरूको आकर्षण बढ्दो छ।
‘मैले सामान्य जागिर खोज्दा घुस मागे। नेपालमा केही हुनेवाला छैन,’ निरास सुनार भन्छन्।
असारको पहिलो साता दोहाको बिचमा भेटिएका सुनारसँगै रहेका अर्का नेपाली युवाले पनि भने, ‘हामीले यहाँबाट विप्लवलाई सहयोग गरिरहेका छौं।’
कतारमा हाल रोजगारीका लागि ३ लाख ६५ हजार नेपाली रहेको सरकारी तथ्याङ्क दोहास्थित नेपाली दूतावाससँग छ। तर, अन्य च्यानलबाट नेपाली दूतावासको रेकर्डबाहिर रहेका नेपालीहरूको तथ्याङ्क निकाल्ने हो भने कतारमा ४ लाखको हाराहारीमा नेपाली कामदार रहेको अनुमान लगाउने धेरै छन्।
खाडीमा बिएल–२: कतारमा सरकारी जागिर खाने पहिलो नेपाली यासिन मामा (भिडियोसहित)
केही कामदारको अवस्था राम्रो भएपनि सबैको उस्तै छैन। ८० प्रतिशत कामदार विचौलिया र ठेक्केदार कम्पनीको कुनै न कुनै रुपमा शिकार भएका छन्। उनीहरूको पहुँच नेपाली दूतावाससँग सिधै छैन।
यसले पनि राज्यप्रति युवा कामदारहरूको आक्रोस बढ्दो छ। नेपाली कामदारका लागि भनेर राजधानी दोहामा मात्र राजनीतिक पार्टीको प्रभाष विभागदेखि विभिन्न गरेर १ सय ६१ वटा संस्थाहरू खुलेका छन्।
तर, उनीहरूको काम प्रभावकारी देखिदैन्। फेसबुकमा एक–अर्कालाई राजनीतिक गाली गर्नेबाहेक नेपाली कामदारको पक्षमा जोड्दार आवाज उठाउने कुनै संस्था देखिएको छैन।
त्यसैले पनि युवाहरू विप्लव माओवादीतर्फ झन् बढी आकर्षित हुँदै गइरहेका छन्। दोहामा विप्लव माओवादीसँग निकट रहेका टिकापुरका रमेश गिरी भन्छन्, ‘देशभित्र हामीलाई प्रतिबन्ध लगाइए पनि यहाँ त्यस्तो केही छैन। सबै मिलेर बसेका छौं। काम गरिरहेका छौं।’
उनले लोकतन्त्रमा विचार मान्ने अधिकार सबैको भएको भन्दै बीएल नेपाली सेवालाई भने, ‘देश परिवर्तन गछौं भन्नेले परिवर्तन गरिदिएको भए, विप्लवले किन विद्रोह गर्नुपथ्र्यो?’
कुनै बेला नेकपा माओवादीसँग नजिक रहेका र हाल दोहामा व्यवसाय गरेर बसेका श्रीकृष्ण भट्टराई कतारमा विप्लव माओवादी प्रति आकर्षण बढ्नुमा देशभित्र बढ्दो बेरोजगारीको समस्यालाई लिन्छन्।
‘नेपालमा जति नै पढेपनि सरकारले जागिर दिन सक्दैन। विदेश आउँदा विचौलियाको भर पर्नुपर्ने अवस्था छ,’ सन् २००६ देखि कतारमा कार्यरत भट्टराईले भने, ‘देशभित्र रोजीरोटी नपाएर विदेश आउँदा पनि यहाँ विचौलिया र ठेक्केदारको चंगुलमा परेर नेपालीहरूले नपाउनु दुःख पाएका छन्। तर, यहाँको दूतावासले पनि प्रभावकारी काम गर्न सकेको छैन। आक्रोस त भइहाल्छ नी।’
कतार सरकारलाई नेपालको आन्तरिक राजनीतिभन्दा नेपाली कामदारको कामसँग मात्र मतलव छ। त्यसैले उसले राजनीतिक आस्थाप्रति खासै चासो राखेको छैन।
‘कतार सरकारलाई राजनीतिभन्दा पनि कामसँग सरोकार छ। हामीले काम छोडेर कहिले राजनीति गरेका छैनौं। त्यसैले उनीहरूलाई हाम्रो राजनीतिक आस्थाप्रति खासै चासो छैन,’ गिरीले भने।
उनले दोहामा खुलेका १ सय ६१ वटा संस्थाले संकटमा परेका नेपाली दाजु–भाई, दिदी–बहिनीको विषयमा बलियो रुपमा नबोलेकोले विस्तारै समस्या लिएर मानिसहरू आफूहरूसँग आउन थालेको बताउँछन्।
‘हामीले यहाँको नियम मिचेर केही गरेका छैनौं। मजदुरको समस्या दूतावासमा राख्ने गर्छौं,’ उनले भने।
कतारमा अहिलेसम्म नियुक्त भएका राजदूतमध्ये नेपाली कामदारहरू माझ अझै पनि डा. सूर्यनाथ मिश्र लोकप्रिय छन्। उनले आफ्नो कार्यकालमा दूतावासको ‘भिआइपी कल्चर’ लाई भत्काएर सामान्य नेपाली कामदारलाई पनि दूतावाससम्मको पहुँच दिलाएका थिए।
यसैले कतारमा कार्यरत कामदारहरू मिश्रजस्तो बलियो इच्छाशक्ति भएको राजदूत दोहा आए हुन्थ्यो भन्ने कामना गर्छन्। यतिबेला नेपाल सरकारले कतारका लागि नारद भारद्धाजलाई नियुक्त गरेको छ।
यो पनि हेर्नुहोस्