ट्रम्पको यस्तो सन्देश उत्तर कोरियाली नेता किमलाई

तस्बिरः एजेन्सी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ–उनलाई कोरियाली प्रायद्वीपलाई आणविकरूपमा निशस्त्रीकरण गराउने पहलस्वरूप सम्वादका लागि सन्देश पठाएको दक्षिण कोरियाली कुटनीतिक श्रोतले बताएको छ ।

दक्षिण कोरियाका राष्ट्रपति मुन जाइ–इनमार्फत् पठाइएको सन्देशलाई उत्तर कोरियाली नेता किमसम्म पुर्‍याउन ट्रम्पले भनेका उक्त स्रोतले बतायो ।

विषयवस्तुको सम्वेदनशिलतालाई मध्यनजर गर्दै आफ्नो नाम उल्लेख नगर्ने शर्तमा अधिकारीले भने, ‘गत हप्ता भएको शिखर सम्मेलनमा राष्ट्रपति मुनले अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा किमलाई सन्देश पठाइएको र पुनः अमेरिका र उत्तर कोरियाबीचको सम्वादले निरन्तरता पाउनसक्ने सम्भावना बढेको छ।’

ट्रम्पले कुनै ठोस सुझाब नपठाएको, वार्ताको सम्भावना प्रवल रहेको र साना साना सहमति हुँदै बृहत् सम्झौताको खाका तयार गर्न सकिने राय ट्रम्पको रहेको उक्त स्रोतले बताएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच भियतनामको राजधानी हनोइमा भएको दोस्रो शिखर सम्मेलन लगत्तै मुन–ट्रम्पबीच वासिङटनमा भेटवार्ता भएको थियो ।

यद्यपि भेटवार्तामा ट्रम्पले उत्तर कोरियाबारे पठाएको भनिएको सन्देशबारे दक्षिण कोरियाली राष्ट्रपतिबाट कुनै जानकारी सार्वजनिक भएको छैन।

तर विश्वस्त स्रोतले दिएको जानकारी अनुसार वासिङ्टनमा भएको मुन–ट्रम्प सम्मेलनले कोरियाली प्रायद्वीपलाई आणविकरूपमा निशस्त्रिकरण गर्न बिस्तृत धारणा ल्याएको र यसमा सिओल र वासिङ्टनको एकमत रहेको छ ।

उत्तर कोरियाको सुप्रिम पिपुल्स एसेम्व्लीको चौधौं सभामा बोल्दै उत्तर कोरियाली नेता किमले गरेको सम्बोधनमा समस्या समाधानका लागि आफू थप अर्को वार्ताका लागि तयार रहेको बताए।

मुनसँगको भेटपछि राष्ट्रपति ट्रम्पले अमेरिका र उत्तर कोरियाबीच साना साना सम्झौता गर्दै बृहत् सम्झौताको मार्ग तय हुने सम्भावना रहेको बताए।

प्रकाशित मिति: : 2019-04-20 00:05:28

प्रतिकृया दिनुहोस्