एनआरएन अमेरिकाको मे १८ र १९ मा चुनाव: मे २१ मा परिणाम घोषणा

गैरआवासीय नेपाली संघ अमेरिकाको आगामी नेतृत्व चयनका लागि चुनावी कार्यक्रम सार्वजनिक गरिएको छ। चुनावी प्रयोजनका लागि गठित निर्वाचन आयोगले मे १८ र १९ तारिखका लागि मतदानको मिति तोकेको हो। मतदाताहरूले अमेरिकी पूर्वीसमयअनुसार मे १८ विहान ८ बजेदेखि मे १९ राति ११ बजेर ५९ मिनेटका बीचमा आफ्नो सुविधाअनुसार अनलाइन भोटिङ गर्न सक्नेछन्।

अप्रिल ७ मा मतदाता नामावली सार्वजनिक गर्दै आयोगले चरणवद्ध रूपमा निर्वाचन कार्यक्रम प्रकाशित गरेको छ। प्रकाशित कार्यक्रमअनुसार अप्रिल १३ मा मतदाताको अन्तिम नामावली प्रकाशित हुने छ भने अप्रिल १४ लाई उम्मेद्वारी दर्ता गर्ने दिन तोकिएको छ।अप्रिल २३मा उम्मेद्वारको नामावली प्रकाशिच गरिएपछि त्यसपछि दावी बिरोधलगायतका प्रक्रियाका लागि केही दिन तोकेिएका छन् भने उम्मेद्वारको अन्तिम नामावली मे ७ मा प्रकाशित हुनेछ।

मे २१ मा निर्वाचनको आधिकारिकनतिजा प्रकाशित हुने छ भने जुलाई ७ मा नयाँ कार्यसमितिको सपथग्रहण तथा पदभार हस्तान्तरण कार्यक्रम आयोजना गरिने छ।

निर्वाचन आयोगले उम्मेद्वारी शुल्क पनि तोकेको छ। केन्द्रमा सात सयदेखि दुई हजारसम्म शुल्क तोकिएको छ। सबैभन्दा धेरै राष्ट्रिय संयोजन समितिको अध्यक्षका उम्मेद्वारलाई दुईहजार तोकिएको छ। यसैगरी महासचिव र वरिष्ठ उपाध्यक्षका लागि एकहजार पाँचसय, उपाध्यक्षका लागि एकहजार तीनसय, सचिव र कोषाध्यक्षका लागि एकहजार, सहकोषाध्यक्षका लागि आठसय र महिला, युवा संयोजक तथा बोर्ड अफ डाइरेक्टरका लागि सात सय तोकिएको छ। 

यसैगरी स्टेट च्याप्टरमा उम्मेद्वारी शुल्क एक सयदेखि पाँच सयसम्म तोकिएको छ।अध्यक्षका लागि पाँचसय, उपाध्यक्ष र सचिवका लागि तीनसय, कोषाध्यक्षका लागि दुईसय तोकिएको छ भने महिला, युवा संयोजक तथा बोर्ड मेम्बरका लागि एकसय तोकिएको छ।

एनआरएन अमेरिकालाई यसअघि नै चुनाव लागिसकेको छ।अब निर्वाचन कार्यक्रम नै प्रकाशित भएपछि त अरू थप चुनावी माहौल तातिने निश्चित छ। 

प्रकाशित मिति: : 2019-04-08 07:27:09

प्रतिकृया दिनुहोस्