अमेरिका नेपालीका लागि सपनाको देश बन्दै आएको छ।के बालबालिका, के किशोर, के युवा, के वृद्ध- सबै उमेरका नेपालीमा एकपटक अमेरिका हेर्न पाए हुन्थ्यो भन्ने सोचको विकास भएको छ।आएपछि बस्ने अवस्था मिले फर्कनेको भन्दा बस्नेकै संख्या बढ्दो छ।अहिले त अमेरिकाका हरेक राज्यमा थुप्रै संख्यामा मिनी नेपाल बनेका छन्, बन्ने क्रम जारी छ।
लाखौं नेपालीले सपनाको देश बनाइसकेको अमेरिका आउने पहिलो नेपाली को होला ? धेरैको मनमा यो प्रश्नले घर बनाएको हुन सक्छ। त्यही प्रश्नको उत्तर लिएर आएको छ यो आलेख।
अमेरिका आउने पहिलो नेपाली थिए- पद्मसुन्दर मल्ल। भक्तपुरे मल्ल राजाका सन्तान पद्मसुन्दरको जन्म सन् १८९० मा भक्तपुरको खौमा टोलमा भएको थियो। उनको परिवारपछि काठमाडौंको असनमा बसाइ सर्यो। त्यसपछि उनी दरवार हाइस्कूलमा भर्ना भएर पढ्न थाले। जब उनले एकजना जापानी वौद्ध भिक्षु र जापानी नागरिक एकाइ कावागुचीलाई काठमाडौमा भेट्टाए, उनलाई जापान गएर उच्च शिक्षा लिने रहर जाग्यो। तर, नेपालको तत्कालिन राणा शासनकालमा रैतीका छोरालाई त्यसो गर्न छुट थिएन।
भनाइ नै छ नि, जहाँ ईच्छा त्यहाँ उपाय।पद्मसुन्दरले पनि एउटा उपाय निकाले। सन् १९१६ मा उनी आफ्ना दाजु जगतसुन्दर मल्ललाई लिएर कलकत्ता गए। त्यहाँबाट जहाज चढेर जापान पुगे।उनलाई टोक्यो इन्स्टिच्युट अफ टेक्नोलोजीमा भर्ना गरेर अध्ययनको चाँजोपाँजो मिलाएपछि दाइ जगतसुन्दर भने त्यही बाटो भएर गुपचुप नेपाल फर्के।
विज्ञानमा स्नातक गरेपछि उनी केही जापानी साथीसँग मिलेर सन् १९१९ मा उच्च शिक्षा अध्ययनका लागि अमेरिका हानिए।यो मितिका आधारमा हामी के भन्न सक्छौं भने सन् १९१९ मा अमेरिकामा पहिलो नेपाली पाइला टेकियो।अमेरिका पुगेर पद्मसुन्दर मिचिगन राज्यको प्रतिष्ठित युनिभर्सिटी अफ मिचिगनमा इलेक्ट्रिकल इन्जिनियरिङमा भर्ना भए। उनले त्यहीबाट सन् १९२२ मा इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक गरे। यसरी उनी अमेरिकामा पहिलो पाइला टेक्ने नेपाली मात्र भएनन्, नेपालकै पहिलो इलेक्ट्रिकल इन्जिनियर पनि भए।
नेपालको पहिलो इलेक्ट्रिकल इन्जिनियर भएर पद्मसुन्दर १९२५ मा नेपाल फर्के। तर, राणा सरकारको अनुमति नलिई विदेश गएको भनेर उनलाई नेपाल प्रबेश गर्न नै दिइएन। त्यसपछि उनी भारतको दार्जिलिङ नजिकै खर्स्याङमा निर्वासित भए। उनले आफ्नो पहिलो योजनाका रूपमा फाजी हाइड्रोइलेक्ट्रिक प्रोजेक्ट स्थापना गरे र खर्स्याङमा बिजुलीबत्ती बाले।
सन् १९३९ मा भारतमा शासन गरिरहेको तत्कालिन ब्रिटिस शासकले उनलाई मोरङ हाइड्रोइलेक्ट्रिक कम्पनीको चिफ इन्जिनियर बनाएर नेपाल पठायो। उनले विराटनगर जुट मिलका लागि पावर स्टेसन बनाए। पछि उनले धरान र वीरगन्जमा पनि पावर स्टेसन डिजाइन गरेका थिए।
नेपालमा राणा शासन पतन भएपछि सन् १९५० मा पद्मसुन्दर काठमाडौ फर्के र सन् १९७४ मा स्वर्गबास हुनुअघि उनले बाँकि जीवन नेपालमै बिताए। उनलाई नेपाली हाइड्रोपावरका जनक अर्थात् फादर अफ नेप्लिज हाइड्रोपावरका रूपमा सम्मानित गरिदै आएकोछ ।
यसरी पद्मसुन्दर मल्लका पाइला पहिलो नेपाली पाइलाका रूपमा अमेरिकामा टेकिएको इतिहास पाइन्छ। इतिहासको यो पहिलो पानाले के देखाउँछ भने आजभन्दा १०० वर्षअघि एकजना स्वप्नजीवी नेपाली अवसरको खाेजी गर्दै अमेरिका आइपुगेका थिए।
उच्च शिक्षा हासिल गरेर आफ्नै मातृभूमिको सेवा गर्न फर्कदा पनि ऊ त्यो अवसरबाट बञ्चित हुनुपरेको थियो।आज परिस्थितिमा आनका तान फरक भएको छ।पद्मसुन्दरको पदचाप पछ्याउँदै लाखौं नेपाली पद्मसुन्दर अमेरिका आइसकेका छन्।तर, दुर्भाग्य फरक के छ भने अहिले नेपाल फर्कन पाए पनि अझै नेपाल फर्कने वातावरण चाँहि बनिसकेको छैन।
ती महान स्वप्नद्रष्टा पद्मसुन्दर मल्ल जसले अमेरिकामा पहिलो नेपाली पाइला टेके र लाखौ नेपाली पाइलाका लागि गोरेटो कोरिदिए, उनी नेपालीका लागि कोलम्बस थिए भन्दा पनि अत्युक्ति नहोला।