ब्रिटिस प्रधानमन्त्री बोरिस जोनसन (बोजो) लाई अर्को एक राजनीतिक तथा पारिवारिक झड्का लागेको छ । उनको ब्रेक्जिट नीतिप्रति असहमत रहदै आएका भाइ जो जोनसनले मन्त्री तथा सांसद पदबाटै राजीनामा दिएका छन् । आफूले परिवारको इच्छाभन्दा देशको हितलाई सर्वोपरि ठानेर राजीनामाको विकल्प छानेको उनले बताएका छन् ।
उनी दाजु जोनसनको बिना सहमति युरोपियन युनियनबाट बेलायतलाई बाहिर ल्याउने (ब्रेक्जिट) का समर्थक हैनन् । त्यसको विपक्षमा उभिएका २१ टोरी सांसदमध्ये एक जो ले राष्ट्रिय हित र पारिवारिक नाता छान्न अप्ठ्यारो परेकाले आफूले राजीनामाको विकल्प रोजेको बताए ।
बितेका तीन प्रधानमन्त्रीको क्याविनेटमा कनिष्ठ मन्त्रीका रूपमा रहेका जो उनको दाजु बोजोको क्याविनेटमा व्यापारमन्त्री थिए ।
नौ वर्षदेखि अर्पिङटन संसदीय क्षेत्रबाट टोरी सांसद रहदै आएका उनले अबको समय परिवारलाई दिने र राजनीति अन्य सही पात्रका लागि छोडिदिने बताए ।
भाइ जो को राजीनामा नैतिक रूपमा पनि दाजु प्रधानमन्त्री बोजोका लागि गतिलो झापड भएको विश्लेषण बेलायतका राजनीतिक पण्डितहरूले गरेका छन् ।