नारी र तीजको महिमा

नन्दलाल गौतम

संखुवासभा

प्रत्येक नारीले आफ्नो स्वभिमानको लागि आफैं अगाडि बढ्नुपर्छ। अरु कसैले नारी स्वाभिमानको रक्षा गर्न सक्तैन। नारी चहानालाई कुल्चन खोज्ने सामाजिक कुरीतिका विरूद्ध संघर्ष गर्न नारी आफैं तयार हुनुपर्छ। अरूले संघर्ष गरिदिएर नारी हित हुनै सक्तैन। जसरी पर्वतकी छोरी पार्वतीले आफ्ना लागि आफैंले संघर्ष गरेर सबै नारीहरुलाई बाटो देखाएकी छन् र स्वाभिमान रक्षाको लागि नेतृत्व समेत गरेकी छन्।


नम्रता शान्ति र स्वर्गानुभूतिको त्रिवेणी ‘तीज’ तृतीयाको अप्रभ्रंश रूप हो।

भाद्र शुक्ल पक्षको तृतीया तिथिमा पर्ने यो चाडलाई हरितालिका पनि भनिन्छ। भाद्र शुक्ल द्धितीयको दिन अडिलो खाना (दर) खाएर भोलिपल्ट अर्थात् तृतीयाको दिन संसारभरीकै हिन्दु नारीहरू नीराहार व्रत बस्छन्।

यस व्रतमा नारीहरू भोजन मात्र होइन (पानी पनि ) ग्रहण गर्दैनन्। यसैले व्रतमध्धेको यो कठिन व्रत हो।यो बेला हिन्दु नारीहरु मात्र होइन सम्पूर्ण नेपाली नारीहरूमा खुशी आएको हुन्छ, उत्साह उर्लिएको हुन्छ र प्रत्येकको हृदय जागरूक बनेको हुन्छ।

जताततै तीजका गीतहरू गाइन्छन्, मादल सारङ्गी हार्मुनियम बजेको हुन्छन् र नेपाली पोशाकमा सारा नेपाली नारीहरू नाचिरहेका हुन्छन्। यस दिन शिव पार्वती उपासना र पूजा गरिन्छ। कथा श्रवण गर्ने प्रचलन छ। तीजको कथाले हामीलाई धेरै कुराको ज्ञान दिएको छ। तीजको कथा हामीमध्ये धेरैले पढेका छौ, सुनेका छौं।

तथापी तीजको प्रतिकात्मक अर्थ कस्तो छ र यसको शुरुवात कसरी भयो भन्ने सन्दर्भमा चै कमै मानिसहरुले मात्र ध्यान तानेको महसुस हुन्छ। नारी स्वतन्त्रको पक्षमा तीज उभिएको छ। यस चाडले सम्पूर्ण नारीहरुलाई आफ्नो अस्तित्वको लागि लड्न सिकाएको छ। तीज नारी स्वाभिमानको पक्षमा छ।

तीजको कथा अनुसार हिमालयकि पुत्री पार्वतीलाई उनको पिता माताले भगवान् विष्णुसँग विवाह गरिदने वाग्दान गरिसकेका हुन्छन्। छोरी पार्वतीको हृदयले उक्त पितामाताको निर्णयलाई स्वीकार गर्न सकेन अत: उनले आफूलाई नसोधी गरिएको निर्णयविरूद्ध बिद्रोह गर्ने विचार गरिन्। उनलाई लाग्यो – आफूले पटक्कै मन नपराएकोसँग विवाह बन्धनमा वाँधिदै लुरूलुरू पछि लाग्न कुनै पनि नारीका लागि उचित छैन।

उनी हृदयले कठोर बन्दै गइन्। आफ्ना संगीहरूलाई बोलाइन् र सल्लाह लिइन्। पार्वतीले आफू बेपत्ता हुने वा हराउने चाहना ब्यक्त गरिन् र साथीहरुले पनि उनलाई वेपत्ता बनाइदिए अथवा हरण गरिदिए। पार्वतीलाई हरेर साथीहरूले लुकाएका कारण तीजको व्रतलाई हरितालिका व्रत पनि भनिन्छ।

यसरी वाग्दान भइसकेर पनि पार्वतीको विवाह विष्णुसँग हुन सकेन। त्यसैले लज्जित भइ भगवान् विष्णु बैकुन्ठतर्फ  लागेको कथा तीजमा वर्णन छ। यस घटनाले पितामाता पनि किंकर्तव्यविमूढ बनेका छन्।

यस चाडले विवाह पितामाताको इच्छामा होइन सम्बन्धित सन्तानको इच्छामा गरिनुपर्छ। सन्तानको इच्छा विपरित गरिएको विवाहभित्र बिद्रोह लुकेको हुन्छ। हृदय मर्माहत बनेको हुन्छ र स्वाभिमान समाप्त भएको हुन्छ।

स्वावलम्वन, आत्मानिर्भरता र जाँगर मानिसमा सधिएपछि स्वभाविक रुपमा कुनै पनि व्यक्ति निम्जो उदासीन र पराधिन बनेको हुन्छ। आँट हिम्मत र आत्माविश्वासको कमी भएपछि जीवनमा कुनै पनि काम गर्न सकिँदैन।

यसकारण आफ्नो जीवनलाई नै समाप्त पार्ने पितामाता कै निर्णयलाई पनि छोरीहरुले स्वीकार गरेर चूप बस्न मिल्दैन।  यदि नारीको हृदयको चाहनालाई कुल्चेर विवाह गरिन्छ भने त्यहाँ विद्रोह हुन्छ। बेइज्जत हुन्छ र नारी स्वतन्त्रताको अपहरण हुन्छ भन्ने सन्देस  तीजले दिएको छ।

प्रत्येक नारीले आफ्नो स्वभिमानको लागि आफैं अगाडि बढ्नुपर्छ। अरु कसैले नारी स्वाभिमानको रक्षा गर्न सक्तैन। नारी चहानालाई कुल्चन खोज्ने सामाजिक कुरीतिका विरूद्ध संघर्ष गर्न नारी आफैं तयार हुनुपर्छ। अरूले संघर्ष गरिदिएर नारी हित हुनै सक्तैन। जसरी पर्वतकी छोरी पार्वतीले आफ्ना लागि आफैंले संघर्ष गरेर सबै नारीहरुलाई बाटो देखाएकी छन् र स्वाभिमान रक्षाको लागि नेतृत्व समेत गरेकी छन्।

अत: स्वाभिमान रक्षाका लागि आफैं उठ। आफैं जाग र आफै संघर्षको मैदानमा निस्क भन्ने सन्देश पनि तीजले दिइरहेको हुन्छ।     

विवाह गृहस्थ जीवनको प्रवेशद्धार हो र जीवनको विहानी  पनि हो। यसैले प्रत्येक नारी विवाहपूर्व सजग र सचेत हुनु पर्छ। विवाहलाई जीवन साथी रोज्ने अवसरको रुपमा पनि लिइन्छ। विवाह बन्धनमा वाँधिन चाहने जोडीहरुले हृदयको चाहनालाई वेवास्ता गरेर अगाडि बढ्न हुँदैन।

विवाहले सिर्जनाको शुरुवातको पनि संकेत गर्छ। यस्तो महत्वपूर्ण जीवनको वास्ता नगरी गरिने विवाहको कुनै तुक छैन।

आफूले रोजेको पुरुष वा स्त्रीसँग विवाह गर्न पाउनुपर्छ। यो जोसुकैको नौसर्गिक अधिकार हो। विवाह प्रकृति हो यसलाई रोक्न खोज्दा विष्फोट हुन्छ। श्रद्धा मर्छ र समाजिक विकृतिको जन्म हुन्छ।

यसकारण प्रत्येक ब्यक्तिको जीवनको प्रवेशद्धार मानिने विवाहलाई मूलत: नारीहरुको हृदयको इच्छा विपरित लान खोज्नु हुँदैन। नारी अधिकारको पक्षमा सिंगो समाज उभिन सक्नुपर्छ।

जवकि, पार्वती हराउँदा समाज पार्वातीकै पक्षमा वकालत गर्छ, विरुद्धमा होइन। तर, विद्रोहको थालनि नारी संगिहरुकै साथ लिएर पार्वतीले गरेको हुँदा आफूलाई परेको अन्यायका विरुद्ध नारी आफैं सजग र सचेत रहेमात्र विद्रोह मार्फत जीवन सफल बनेको कारालाई तीजले प्रष्ट संकेत गरेको छ।

तीजले नारीहरु मार्फत त्यागपूर्ण जीवन बाँच्न र निस्वार्थ जीवन जिउन सिकाएको छ। तीजमा नारीहरु निराहार बस्छन् भोकै बस्नु पर्दाको पीडा खप्छन् र आफ्नो कामधन्दामा पनि निरन्तर लागिरहन्छन्।

आखिर किन?  कसका लागि? भनेर सोध्यो भने एकै स्वरमा उत्तर आउछ–आफ्ना पतिका लागि।

आफ्नो लागि हुँदै होइन। यस उत्तरमा ज्यादै ठूलो त्यागको भावना लुकेको छ र निस्वार्थ भावना उत्कार्षमा पुगेको छ। आजको दुनियाँमा आफ्नो जीवनलाई सुकाएर कष्ट दिएर र दुःखै दु:खमा डुवाएर अर्काको लागि काम कसले गर्न सक्ला।

आफ्नो जीवनलाई निस्वार्थ बनाउन सक्छन्। तीजको व्रतले आफ्नो लागि होइन पतिको दीर्घायूको कामना गरेको छ। सौभाग्य र समृद्धिको चाहना राखेको छ। शुख र सु–स्वास्थ्यको आशीवार्द दिएको छ।

नारीहरु त्यागमय जीवन जिउन पाउँदा रमाउँछन्, गाँउछन् र नाच्छन्। यही सन्देश नारीहरु मार्फत आजका घुस्याहरुलाई प्रतिस्पर्धाको नौटंकि रचेर आफ्ना र आफ्ना नातेदारहरुलाई जागिर खुवाउने भ्रष्ट सोचाइ र आफूमात्र माहान् देख्न खोज्ने अन्धाहरुलाई निस्वार्थ रहेर त्यागी जीवन बाँच्नका लागि पाठ पढाएको छ।  

तीजले आत्मिक प्रेमको आनन्दमा रमाउन सिकाएको छ। प्रेम केवल शरीरले मात्र होइन आत्माले गर्नुपर्छ प्रेम जहाँ आत्माले गरिन्छ त्यहाँ भोकले सताउन सक्तैन। क्रोधले सुकाउन सक्तैन र व्यवहारले अल्झाउन सक्तैन।

आत्मिक प्रेम अगाडि सारा कामवासानाहरु झुक्दै जान्छन् पीडा व्यथाहरु सुक्दै जान्छन्। धन सम्पतिको मोह समाप्त हुन्छ र घृणा र ईर्श्याले ठाँउ लिन सक्तैन। यस कारण तीज चाडले बोक्रे प्रेमको धज्जी उडाउँदै आत्मिक प्रेम गरेर रमाउन संसारलाई प्रेरित गरेको छ।

तीजले आफ्नो स्वार्थभन्दा माथि उठेर काम गर्न सिकाएको छ। अहंकारलाई झुकाएको छ र माया-ममताको संसार सिर्जना गरेको छ। यस चाडले मान्छेका कलुसित भवानाहरुलाई ध्वास्त गर्दै निर्मल स्वछ भएर बाँच्न सिकाएको छ, परोपकारी हुन आह्वान गरेको छ।

शान्ति र समृद्धिको लागि दयावान बन्दै निस्वार्थ भएर रहन सक्नुपर्छ। यसका लागि सहनसिलता लगनसिलता अनिवार्य सर्त बन्छ। तीजले नारीहरु मार्फत तपस्यामय जीवन बाँच्ने आधार दिएको छ।

परापूर्व कालमा तीजको भेटघाटले दु:ख पीडा र वेदनाहरु साटासाट गर्ने तथा  घरमा वनेका मिष्ठान्न भोजनहरु खाने प्रचलनका रुपमा थियो भने अहिलेको समयमा आएर तीजले आफूलाई  भड्किलो रुपमा प्रस्तुति गर्दै जानुले समाजमा बिकृति निम्त्याएको छ।

चाड पर्व परम्परा र रीतिरिवाजलाई जगर्ना गर्ने निहुँमा यसरी विकृति आउनु निश्चय पनि सबैको सोचनीय विषय हो।

यसलाई समयमा नै राज्य संयन्त्र र तपाईँ हाम्रा पहल कदमीले विकृति नभइ नितान्त पर्वका रुपमा भावी पीडिलाई हस्तान्तरण गर्न जरूरि छ।

प्रकाशित मिति: : 2020-08-21 09:45:00

प्रतिकृया दिनुहोस्