समय एकै किसिमको बिते पनि यसले छोडेर जाने पदचाप फरक फरक हुँदोरहेछ। अझ मान्छेका पाइला फरक किसिमले फरक गन्तब्यतिर बढ्दा रहेछन्।
हुन त जीवन पनि कहाँ सधै सोझो बाटो हिँड्दो हो र? कहिले यताको खाल्डो त कहिले उताको खाल्डो।शायद यसैले होला, कतिपय समयका पलले कहिले सुखद् त कहिले दुःखद अनुभूति छाडेर जान्छन्।
मन बिझाउने पल भने घरिघरि बल्झिरहन्छन्।कहिले यस्तो हुन्छ कि, समय जति संघर्षपूर्ण हुँदै जान्छ त्यति मन कठोर र निखारिँदै जाँदोरहेछ। फरक यति हुन्छ, बिचलित परिस्थितिमा पनि धैर्य राखी सम्हालिन जानेका सफल हुन्छन् बाँकि थिचिरहन्छन्- सहिले आफैंले त कहिले समाजका विविध पक्षले।
अझ महिलाले अरूभन्दा बढी भोगिरहेका हुन्छन् त्यस्ता समस्याका विविध पहाडहरु।
जतिसुकै हाँसेर हँसाएर,रमाएर बच्ने प्रवृत्तिका किन नहुन्, नेपाली युवतीमा एक मानक मानवीय समवेदना रहेकै हुन्छ।
नेपाली सामाजिक संस्कारमा हुर्किएका उनीहरू जब देश बाहिर जान्छन्, उनीहरूमा त्यो आफ्नोपन रहेकै हुन्छ। उनीहरू त्यही परिकल्पनामा हराइरहेका हुन्छन्।
सम्भवतः म पनि यस्तै परिकल्पनामा थिएँ।मेरो पहिलो विदेश भ्रमण युरोपको एउटा सानो देशमा थियो।
समाज र परिवारको कुरै छोडौं आफूलाई आफैंप्रति पनि त्यति टाढा कसरी बस्न सकिन्छ होला भनि विश्वास गर्न गाह्रो हुन्छ।
आफ्नो मनोबल बलियो बनाउनै समय लाग्छ अनि घरपरिवार त छँदैछ।महिलाहरू जतिसुकै सक्षम भए पनि धेरै कुराहरू समाजले हेर्ने र मूल्याङकन गर्ने तरिकामा भरपर्दो रै’छ।
मैले त्यति नभोगे पनि धेरै देखिकी छु, सुनेकी छु।हक,अधिकार र स्वतन्त्रतामा महिला र पुरुषवीच धेरै असमानता छन्। फलस्वरूप यस्ता पक्षमा शिक्षित महिला पनि चाहेर वा नचाहेरै कतिपय कुराहरु भोग्न बाध्य हुन्छन्।शिक्षा, जनचेतना र हाम्रो संस्कारले पनि यसमा धेरै फरक पारिरहेकै हुन्छ।
पहिलो पटक काठमाडौं पढ्न गएकी बेला मलाई बाले पुर्याउन आउनुभएको थियो।तर युरोपमा सुरूका दिनमा प्रायः विश्वविद्यालय कोसौ टाढा भएपनि निर्धक्क जान्छन्। जति नै राति भए पनि एक्लै निर्धक्क आउ/जाउ गरिन्छ। डर भन्ने चिज मान्छे आफैंले सिर्जना गरेको पक्ष हो। हरेक कुरामा आफू स्वयमकै निर्णय हुन्छ।
युरोपमा आउँदा प्रायः महिलाले धेरै कुरामा स्वतन्त्र भएको अनुभव गर्छन्।
आफ्नो जीवनशैली रहर र सोचअनुसार बिताउन सकिन्छ। हुन त युरोपेली मुलुकमा पनि पहिले धेरै असमानता थिए। समयसँगै यी मुलुकले धेरै काँचुली फेरिसकेका छन्।
यहाँका कतिपयले त विभेदको बारेमा देखे/ सुनेकै छैनन्। शिक्षा,स्वास्थ्यको विकास र अरु धेरै क्षेत्रमा महिला र पुरूषको ठूलो विभेद देख्न सकिन्न।
सामाजिक असमानता र लैंगिक विभेदले गर्दा नै प्रायः मानिसमा त्यस्तै सोचको विकास भएको हो।
तर, पूर्वीय मुलुक विशेष गरी नेपाली समाजको कुरा गर्ने हो भने आफू सक्षम र आत्मविश्वासी भए पनि धेरै अवसरमा रोक छ।
नेपालका धेरै ग्रामीण भेगमा विभेद अझै छ। शिक्षित सहरमा पनि अझै त्यस्तो प्रवृत्तिको मानसिकता जिउँदै छ।
तर, नेपाली सामाजिक परिवेशमा हुर्किएका महिला युरोपमा निर्धक्क स्वतन्त्र हिँड्न सकिरहेका छन्।
पश्चिमा मुलुकमा जति नै विकास र स्वतन्त्रता भए पनि नेपाली समाजको जस्तो संस्कृति छैन। स्वतन्त्र यी मुलुकमा पारिवारिक सम्वन्धको दीर्घता छैन।
बुढा आमा बासँग बुढेसकालमा सँगै बस्दैनन्,वृद्धाश्रममा बस्छन्।छोरा-छोरी पनि युवा भएपछि छुट्टै बस्न रुचाउँछन्। अझ बहुविवाहको चलन धेरै छ। यहाँ बहुविवाह कुनै नौलो होइन।आफू खुसी स्वतन्त्र भएर बाँच्ने अधिकार सबैलाई छ, यहाँ नाता जोडिनु र छुट्टिनुमा कुनै गहिरो भावना हुँदैन। कसैको अन्याय भोग्नु पर्दैन। तर, हाम्रो नेपाली समाज यही कुरामा धेरै राम्रो छ।
यहाँ शिक्षाको पक्षमा पनि महिला र पुरूषबिच विभेद नभएकाले महिलाहरू कुनै पनि कुरामा आफू पछि छु जस्तो ठान्दैनन्। गुणस्तरीय स्वास्थ्य सेवा भएरै यहाँको औसत आयु ८० को हाराहारीमा हुन्छ।
सबैभन्दा ठूलो विकासपथको थालनीसोच र उदार मानसिकताबाट र त्यसपछि मात्र विकासका भौतिक संरचनाको सुरू हुन्छ।
नेपालमा धेरै कुराहरुको ख्याल हुने गर्छ।विवाहित महिलालाई जतिसुकै शिक्षित र आत्मनिर्भर भएपनि बुहारी भएपछि सबै कुराहरु गौण हुँदो रहेछ।
घर परिवारकै रेखदेख चाडपर्वमा पाहुनाकै स्वागत/सत्कार र विभिद सामाजिक कार्यमा आफ्नो लागि समय नै कहाँ हुँदो हो। अझ पढाई र जागिर सँगै गर्ने महिलालाई चैनको स्वास फेर्न मूश्किल हुँदोहो।
केही परिर्वतन भए पनि यी र यस्ता मानसिकताले जरो गाडेरै बसेका छन्।धेरै राम्रा सकारात्मक संस्कारबीच केही थोरै त्यस्ता संस्कार पनि छन् जसले महिलालाई आत्मबल बढाउँनुको साटो थप पीडा दिन्छन्।
यसमा पुरूषको पनि केही हदसम्म हात रहन्छ। किनकि, जस्तो सामाजिक संरचना छ त्यस्तै प्रवृत्तिमा दल्न कति बाध्य छन्, कति उत्सुक छन्।
युरोपेली मुलुकमा महिलालाई दमन गर्ने, अन्याय गर्ने जस्ता प्रवृत्ति नभएकै कारण उनीहरू स्वतन्त्र जीवन बिताउँछन्। यदि कसैले अन्याय गरेको ठहरेमा कडा सजायको प्रावधान छ।
महिलालाई कुदृष्टिले हेर्ने, कुटपिट गर्नेजस्ता अपराध न्यून भएकैले यहाँका महिला धेरै अगाडि छन्।
सामाजिक सुरक्षाले गर्दा यहाँ महिलाहरू जे गर्न र जता जान पनि स्वतन्त्र छन्। कुनै बन्देज छैन।
नेपालमा काठमाडौंदेखि पोखरासम्म पनि एकैपटक नपुगेका महिला युरोपमा एक देशदेखि अर्को देशसम्म निधक्क एक्लै यात्रा गर्छन्।
कतिपय महिला यता आएपछि खुल्ला पंक्षीजस्तै अनुभव गर्छन्।र, पश्चिमेली संस्कृतिको पहिरोमा परेर आफ्नो गन्तब्य भुलेका उदाहरण पनि छन्। तर, यी सबै आफैंमा भरपर्ने कुरा हुन्।
विकसित मुलुकमा पनि महिला हिंसा र दमन नभएका होइनन्। तर, समयसँगै भएको परिर्वतनले आज उनीहरू यहाँ आइपुगेका हुन्।
नेपाली समाज पनि बिस्तारै त्यही बाटोमा छ। किनकि, ढिलो चाँडोको कुरा मात्र यसको विकल्प नेपाली समाजमा पनि छैन।