गोधुलिमा हिँड्ने एउटा ज्यूँदो मान्छे
संसारलाई फेर्छु भन्थ्यो आफैं फेरिएछ...
गायक, संगीतकार आभासको यी शब्दहरू सम्झेँ। जब यो आलेख लेख्न शुरु गरेँ। मनप्रिय मात्रै होइन, कर्णप्रिय गायक, संगीतकार तथा गीतकार हुन् आभास। अनि मैले झमक घिमिरेलाई सम्झेर यो गीतको स्थायीमा दोस्रो हरफ बदलिदिएर यस्तो बनाएँ:
गोधुलिमा हिँड्ने एउटा ज्यूँदो मान्छे
मृत्यु पर्ख भन्थ्यो समाज, नजर फेरिदिएँ...
जन्मँदै ढाड नचल्ने, हात नचल्ने तर हुर्कँदै जाँदा छोरी बस्छे, हिँड्छे, बोल्न शुरू गर्छे भन्ने आम आमाहरूको समान आशा जस्तै आशा गर्दै बसिन् आशादेवी घिमिरे।
उठ्दा, सुत्दा, खुवाउँदा, डुलाउँदा आँखा झिमिक्क नगरी उनले हेरिरहेकी छोरी र छोरीमा खोजिरहेको त्यो तिर्सना आजसम्म पनि प्यास बनेरै बसेको छ उनको आँखामा। भरिलो घैला छ आँखामा तर तिर्खाले सुस्ताएको छ पलक। तीन दशकभन्दा बढी भइसक्यो आजकी छोरीको नामै काफी छ। तर, छोरीले ‘आमा’ भनेर कहिले बोलाउँछे भन्ने शब्दको तिर्सना कहाँ घटेको छ र?
२०३७ साल असार २१ गते शुक्रबार रातको ११:३० बजे घरमै जन्मेकी हुन् झमक। (तर, कक्षा ७ को नेपाली विषयमा झमकको जन्म मिति अहिले पनि असार १ गते लेखिएको छ।) परिवारमा पहिलो सन्तान जन्मिँदा हर्षउल्लास भयो। तर, भर्खर १८ वर्षको उमेरमै आमा बनेकी आशादेवीभन्दा बढी सासु आमा धेरै खुसी हुनुभएको र पहिलो सन्तान लक्ष्मी भित्रीईन् भनेर स्वागत, सत्कार राम्रो गर्नुभयो।
छोरी जन्मिईन् भन्ने कुनै दुःख गुनासो परिवारमा भएन। खुसीले गुज्रिरहेकै थियो समय। ‘अरुका बच्चाहरू बामे सरेको, उल्टुङपुल्टुङ खेलेको देखिन्थ्यो। तर, हाम्री छोरी ढाडको आडमा फनफनी घुम्थ्यो मात्रै। तलमाथि दायाँबायाँ सर्थ्यो, फूर्तिले घुम्दथ्यो। बच्चाहरू कोही कोही यस्तै गरी हुर्कन्छन् होला भन्ने लागेको थियो। तर छिमेकी दिदी (दुर्गा पोखरेल) ले एकपटक जचाउन लैजाउँ नानीलाई भनेर धनकुटामा विदेशी डाक्टरहरू बसेर बच्चा र सुत्केरी आमाहरूलाई मात्रै स्वस्थ्य जाँच गर्ने क्लिीनीक खुलेको थियो, त्यहाँ लिएर गयौं। भर्खर ६ महिना पुगेको थियो, पहिलोपटक शरीरको विभिन्न भागको एक्सरे गरियो। एक्सरे हेरेपछि डाक्टरले बच्चाको हड्डी लुलो छ, हुर्कँदै जाँदा आफसे आफ राम्रो हुँदै गयो भने हुन नि सक्छ, नहुन नि सक्छ, राम्रो ख्याल राख्ने गर्नुस् भन्नुभएको थियो,’ आमा आशादेवीले भन्नुभयो।
हाँस्ने, खेल्ने कुरामा समस्या नदेखिए पनि विदेशी डाक्टरले एक्सरे हेरेर भनेका कुराले भने आमा आशादेवीलगायत सपरिवारलाई केही खिन्नता र शंकाग्रस्त बनाइरह्यो।
त्यसैले होशियारीका साथ छोरी झमकलाई डालोमा राखेर वरिपरि कपडा कोचेर ढाडमा अलि बढी आड दिई बस्न लगाउँने, हिँड्ने उमेरको हुँदै गएपछि बिस्तारै गोडा टेकेर हिँडाउने कोशीस गर्ने, भुईँमा अढेस लगाएर बस्न सिकाउने कोशीस गरिरह्यो परिवारले।
दुवै गोडा राम्ररी चल्ने, चलाउने तर हात राम्ररी नचलाउने नदेखेपछि गोडामा जुत्ता लगाइदिनुभयो। जुत्ता लगाइदिनाले हात चलाउन कोशीस गर्छ कि भन्ने आशा थियो आमामा। तर, अलि अलि टेक्ने गोडाहरू पनि जुत्ता लगाउनाले थोरै टेक्नसम्म पनि सकेन र त्यसपछि मोजा मात्रै लगाइदिन थाले।
छोरीको हात चल्छ अथवा चलाउन कोशीस गर्छे कि भन्ने आशाले जुत्ता र त्यसपछि मोजा लगाइदिए पनि छोरीले मुखले पूरै तानेर, टोकेर रिसाउँदै मोजालाई नै तान्ने र आफैंले खोल्ने कोशीस गरेको देखेपछि बच्चालाई मानसिक रूपमा झन् असर पर्ला कि बरू खुल्लै छोडिदिउँ भनेर त्यसपछि त्यसै उनकै खुशीमा छोडिदिए।
घरमा छोरीको विशेष रेखदेखलाई सिङ्गै एक जना मान्छे त चाहिने नै भयो, त्यसमाथि मेलापात, वस्तु स्याहार सम्भार, घरको कामधन्दा, पारिवारिकता ती सबै त छँदै थियो।
छोरीको अवस्था देखेर गाउँले तथा छिमेकले भन्न थालेको हेलोहोचो शब्दलाई सहन गर्नुपर्दाको पीडा अहिले पनि आमा आशादेवीको मुटुमा ऐंठन बन्छ।
– कुन् जुनीको पापले यस्तो कूँजी जन्मिई
– यस्तालाई हेर्नुपर्दा साईत नै बिग्रीयो छि!
– ए! त्योसँग छोइछिटो होला, नछोई नहेरि हिँड्नू
– पेटमा गर्भ बसेको मान्छेले त्यसलाई हेर्नु/छुनुहुन्न, त्यस्तै कूँजी जन्मिन्छे
‘अहो! कति हो कति नानी, आफ्नै घरगाउँ, छिमेकमै पनि सहयोग होइन, हेला नै पाईयो। झमकले अलि अलि पढ्न लेख्न थालेसी उनको बारेमा थाहा पाएर घरमा मान्छेहरू आउने जाने गर्थे, तर यहीँकाहरूले पेट लागेकाहरू जान हुन्न, छुन हुन्न, त्यस्तै बच्चा जन्मिन्छ भनेर भनिदिएछन्। जस जसले जे जे गर भनेर सल्लाह दियो, छोरी बोल्छे, हिँड्छे भने किन नगर्नू भनेर गरेँ। यीनको बा जागिरे, बहिनीहरू साना। देवीदेउता पूजा भाकल पनि गरेँ। कोशीमा डुबाउ बोल्छ भने, धनकुटा घरदेखि धरानसम्म बोकेरै लगेँ। त्यहाँबाट चतरासम्म मात्रै गाडी लाग्थ्यो। चतराबाट फेरि बोकेर हिँडेरै बराहक्षेत्रमा लगेर डुबाएँ।
५ वर्षकी हुँदा उनै दुर्गा दिदीले काठमाडौंको जोरपाटी अस्पतालमा जचाउने र फिजियोथेरापी गराउने लैजाउँ भन्नुभएर जान तयार भएकी थिएँ। तर, पञ्चायत व्यवस्था विरूद्धको आन्दोलन शुरु भएपछि लैजान सकेकी थिइनँ। अन्त कहीँ कतै लैजान थाहा पनि भएन, खर्च पनि साह्रोगाह्रो थियो।
जसै गर्दा पनि नहुने, परिवारमा अरू सन्तानहरू पनि थपिँदै गयो। एउटाको सानो जागिर न हो। सँधैभरि अपशब्द, हेला, घरको कामकाज सबै सम्झेर एकपटक त फालहाल्छु छोरीसहित भनेर रूँदै निर्णय लिएँ। तर, यही छोरीको मुख हेरेर माया उकासियो र मन बलियो पारेँ।
२०५७ सालतिर हो काठमाडौं आउँदा सुलोचना मानन्धर दिदीले धेरै माया गर्नुहुन्थ्यो डा. सरोज धिताल, डा. बसन्त पन्तले काठमाडौं मोडेल अस्पतालमा झमकको निःशुल्क स्वास्थ्य उपचार गरिदिनुभयो।
झमक बेस्सरी बिरामी परेको थियो त्यतिबेला। निकै दिन राखियो अस्पतालमा। फिजियोथेरापी गराउन साँगा अस्पतालमा पनि लगियो। त्यति नै बेला एक वर्ष अगाडि गाडी दुर्घटनामा परेर मेरो कम्मरछेउको दुःखाई निकै वढेको थियो। अप्रेशन गर्नुहोस् आमा दुई महिना अस्पताल बस्नुभयो भने ठीक हुन्छ भन्नुभएको थियो डा. बसन्त पन्त र डा. सरोज धितालले। तर, छोरीलाई बोक्नुपर्छ, ल्याउने लैजाने गर्नुपर्छ, छोरीको यस्तो हालत छ। अरू गर्ने कोही छैनन् बरु मलाई दुःखाई कम हुने औषधी दिनुस् अप्रेसन नगरे पनि मरिहालिँदैन रहेछ भनेँ। कति पातलो र कमजोर भएकी थिई झमक त्यतिबेला।’
झमकको लागि आमाको त्यो त्याग, समर्पण र निरन्तर संघर्ष त छँदैथियो यता झमकले आफ्नो जिन्दगीसँग ठोकिन आएका एक एक विषय र प्रसङ्गलाई संघर्षको आधार खडा गर्दै संसारलाई आश्चर्यबोध तुल्याउँछु भनेर गरेको संकल्प सहितको संघर्ष पनि जारी थियो।
बहिनीले पढेलेखेको देखेर मात्रै होइन, त्यतिबेलाको समाज, परिवेशले बनाइदिएको अवस्थाहरू, संस्कार, रीतिरिवाज, चालचलनहरू र आमाले भोगेका समयका क्रुर भोगाइहरू झमकले उतिबेलै पढीसकेकी थिइन्।
समाजशास्त्र, मानवशास्त्रका ठेली पुस्तकहरूको रूपमा उनको कलिलो तर. तीक्ष्ण मस्तिष्कले समाजभित्रकै मानवका गुण, बैगुण, संस्कारगत मान्यताहरूलाई पढीसकेको थियो। तर, पढेको कुरा अभिव्यक्त गर्ने माध्यमको रूपमा न उनमा आवाज थियो न अक्षर ज्ञान!
शायद उनको लागि समाजको त्यही तिरस्कार, छुवाछुतपन, अपशब्द र हेपाहापन नै सिकाईको रहस्यमय विश्वविद्यालय बन्यो र आमा उनको विश्वविद्यालयको प्रमुख कार्यकारी। आमाको कार्यकारी बफादारीता झमकको लागि कहिल्यै कमी भएन। यता आमाको संघर्षसँगसँगै खारिँदै गएकी झमकले अक्षरको खेति गरिसकेकी रहीछे स्वयं आमालाई पनि थाहा थिएन।
बुबा कृष्ण बहादुर घिमिरे हुलाकमा जागिरे हुनुहुन्थ्यो। अफिसबाट फर्केपछि जहिले पनि छोरीसँग बस्ने, घुम्ने, खुवाउने, खेलाउने गर्ने समयमा एकदिन ठूलोबा/ठूली आमाको घर यहाँ हो, ठूलीआमाको छोरीको घर यहाँ हो भन्दै ढाडमा बोकेर गाउँ डुलाउन जानुभएछ।
घर चिनाउँदै देखाउँदै हिँड्दा ढाडबाट फुत्त झरेर छेस्को/ सिन्काले मोहन पोखरेल ठूलो बा को घर हो भनेर लेखिछन्। बुवा कृष्णप्रसाद छक्क पर्नुभएछ र छिटोछिटो घर फर्केर आमा आशादेवीलाई भन्नुभएछ – हाम्री छोरी त पढ्न लेख्न जान्ने भईछ।
आमा आशादेवीको खुशी र छोरीले कठिनताले गरेको मेहेनत सम्झेर आँसु झार्नुभएछ। घरमा अब झमकलाई बुबाले कापी, कलम ल्याइदिन थालेपछि उनको मेहेनत धुलोमा हिप बजारेर औंला नै कलम, औंला नै इरेजर बनाउँदै धुलोमा रगत छ्वार्र बगाउँदै सिकेको अक्षर मेहेनतले साकार रूप लिइसकेको थियो।
‘कम से कम म यो खान्छु, यो ल्याइदेउ, यस्तो भो, यसोउसो गरौं भन्ने स्पष्ट कुरो त गर्न सकिने भयो भनेर कति खुशी लाग्यो कापीमा लेखेको देखेर। थोरै समयमै थुप्रा कविताहरू लेखिसकिछ नि नानी झमकले। लेखनाथ भण्डारीले पहिलोचोटि घटना र विचार कार्यक्रममा झमकको बारेमा भनेछन्। त्यसपछि मान्छेहरूले अलि अलि चाल पाउन थाले। यहीँ धनकुटा हुलाकका हाकिम भीम कोइराला सरले मेरो स्टाफकी प्रतिभावान छोरीको कविता प्रकाशन गर्नुपर्छ भनेर ‘संकल्प’ पहिलो कविता प्रकाशित गरिदिनुभएको हो। मानिसहरूले थाहा पाउँदै जानुभयो र कविताराम श्रेष्ठले पहिलोचोटी काठमाडौं लैजानुभयो झमकलाई। सानी काखको नानीसहित झमकलाई बोकेर म काठमाडौं पहिलोचोटी आएँ। पत्रपत्रिकाहरूमा झमकको समाचार फोटो, अन्तरवार्ताहरू आएछ। पछि गाउँ फर्किँदा त – ‘यस्तीले पढेर लेखेर के हुन्छ र? बरू एउटा गुन्द्री दिनू, रोटी बेलना दिनू, रोटी बेल्छे, चटक देखाउँछे, पैसा बटुल्छे नि’ भनेर बुद्धीजीवि भनिने यही समाजका व्यक्तिहरूले चटके बनाए हामी आमा छोरीलाई। पछि पछि पनि काठमाडौंतिर विभिन्न कार्यक्रममा आउँदा–जाँदा ‘ऊ छोरी लिएर माग्न हिँडी, माग्ने भाँडो बनाकी छे अपाहिजलाई’ भने। ‘जीवन काँडा कि फूल’ ले मदन पुरस्कार पाउँदा पनि पाउनै नपर्नेले पाई पनि भनेको सुनेँ।’
आमाको यो विव्हल भावना शायदै मेटिन गाह्रो छ। छोरी ढाडमा बोकेर हिँड्दाहिँड्दै आज छोरी झमकको पौरख सारा संसारको गौरव बनेको छ। छोरीलाई स्वस्थ्य बनाउन धनकुटा घरदेखि धरान घोपा (वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान) अस्पतालसम्म बोकेरै सयौं चोटि वारपार गर्नुभयो।
बोकेरै समाजले जसो जसो भनें त्यसै त्यसै गर्न कोसौं परसम्म पूजा, प्रार्थना, धामी लगाउने गर्नुभयो। आमाको यो भौतिक, नैतिक, सामाजिक, सांस्कृतिक, पारिवारिक संघर्षसँगसँगै हिँडेकी झमकले त्यहीँबाटै आफ्नो उन्नत चेतनालाई सबिस्तार गर्दै यो अन्धविश्वास, रूढीग्रस्त, परम्परागत समाजको दोषि आँखा पर्लक्क उघार्ने गरी मौनताका साथ एक्लो शाहसले गरेको यो अक्षरक्रान्ति युगकै लागि संघर्षको एक अमीट उदाहरण हो।
आज त्यही गाउँले, त्यही छिमेक अनि त्यही समाज र सामाजिक चिन्तन बोकेकाहरू झमकलाई अलौकिक दैवी शक्ति मान्न पछि परेका छैनन्। तर, झमक आफैं अलौकिक होइनन्, रूढ र अन्धविश्वासी कुरामा उनी हामीभन्दा पनि पूर्ण सचेत छिन् किनभने जुन कुराहरूबाट उनि हेलिएकी थिइन्, त्यो नै अन्धविश्वास थियो। जे हो त्यो सत्यलाई स्वीकार्नु, संघर्षमा रमाउनु र नभाग्नु उनीबाट कहिल्यै च्यूत हुननसक्ने आदर्श हो।
छोरीले त्यसरी लेखपढ गर्ने सक्ने हुँदा म पनि हुँदी हुँ नि, आज आमा आशादेवीलाई मन मनमा लाग्दोरछ। क अक्षर नचिन्ने आमाको उही समयको संघर्ष र क अक्षर चिन्नका लागि अभिव्यक्तिको कुनै माध्यम पनि नभएकी छोरीको पनि उही समयको संघर्ष हेर्नुस् त कति फरक रफ्तारमा थियो।
आखिर परिणाम दुवैले खोजेको एउटै थियो तर भैदियो हामी सबैको पक्षमा र त आजकी झमक मदन पुरस्कार सहित हज्जारौं पुरस्कार तथा मानसम्मानद्वारा विभुषित प्रेरणादायी साहित्यकार १४ वटा कृतिका लेखक भएकी छिन्।
भन्नेहरूले झमकलाई घमण्डी, सन्काहा पनि भन्छन्। तर, उनलाई असत्य कुरा, ढाँटेको कुरा, प्रलोभन देखाउने कुरा, छलछाम, विभेद, दुव्र्यवहार र हेपाहा कुरा गरेको मनपर्दैन र आयन्दा कुरा नगर वा भेट्न नआए हुन्छ भनेर ड्याम्मै भन्दिन्छन्।
मनमा कुरो राखिरहँदैनन्। मानिसहरू उनको यो व्यवहार पहिलोपटक आउनेले चाँडै पचाउन सक्दैनन्। आमाले रमाइलो कुरा सुनाउनुभयो – पहिलोचोटी रजस्वला हुँदा उनले संकेत गरेर आमालाई भनेपछि परम्परा अनुसार दाजुभाइले हेर्नु हुँदैन भनेर अलग्गै कोठामा राखेको रे। तर, झमकले भाइ बोलाउने, भाइ पनि दिदीसँगै बसेर खाने, कुरा गर्ने गर्थ्यो।
‘मैले त यो पूजापाठ, छुई बार्ने सबै काम उहिल्यै त्यागिसकेँ को हो नानी। कुनै ईश्वरको शक्तिले होइन आफ्नै मेहेनत र कर्मको शक्तिले गरिखाने हो,’ उहाँले भन्नुभयो।
झमकको चिना अहिलेसम्म बनाएकै छैन रैछ। तर, नाम पण्डितले जुराइदिएको रहेछ। रूढिवादले एकोहोरो समाजलाई बदल्ने संकल्पमा पहिला आफूलाई सशक्त बदलिन सिफारिश गरिन् झमक स्वयंले र आज उनीप्रतिको दृष्टि बदलिएको छ।
दृष्टिसँगै उनको प्रभाव र आदर्शमा त्यही समाज पनि त बदलिएको छ। आमाले भन्नुभयो – ‘पर्खनुपर्दोरहेछ नानी, धैर्य गर्नसक्नुपर्दोरहेछ समय पर्लक्कै फर्कंदोरहेछ।’
जीवन उठ्न र उठाउनकै लागि उपयोग गर्ने हो भने जुध समयसँग। भव्य कठीन हुन्छ तर त्यसपछिको मीठो सत्यबोध जुध्नेले मात्रै स्वाद पाउँछ। उनीसँगको गफमा संघर्षको चुलाचुलीमा यसरी सत्यबोध गर्यौं हामीले सगरमाथा भन्दा अग्लो उनको आत्मविश्वास खोइ कहाँबाट कसरी जोगाइराख्न सकेकी होली।
जिन्दगीसँगै समयलाई नै बदलिदिएको संघर्षका हस्तीहरू आमा आशादेवी र छोरी झमकको यही जीवन घुम्तीमा म फेरिे आभासको उही गीत गुन्गुनाउँदैछु। आभासले बदल्न उठेका (नेतृत्व) हरू आफू मात्रै बदलिए, आफ्नै जीवनस्तरलाई मात्रै रूपान्तरित गरे भन्ने मुडमा गीतलाई उठान गरेको बुझ्छु तर मैले झमकले आफूसँगै समय र समाजलाई बदलिदिएको मुडमा मन फुर्याएर गीतलाई गुन्गुनाए.... म फेरि आभासको उही गीतको अन्तरामा पुगेँ –
‘मौसम साह्रै उजाडियो पालुवा झैं झुल्छु भन्थ्यो
मेरो जन्म मेरो होइन अरू निम्ति फुल्छु भन्थ्यो
पुरानो त्यो हिसाब–किताब सबै केरिएछ...!’