युएईमा बीएल - ७
कुनै बेला उनी युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा मजदुरी गर्थे। अहिले उनी कालो कोट लगाएर युएईमा मजदुरी गर्न आउने नेपालीको हकहितमा अदालतमा बहस गर्छन्।
मकवानपुर आमभञ्याङका राजकुमार न्यौपानेको कथा लोभलाग्दो किंवदन्तीभन्दा कम छैन।
आर्थिक अवस्था कमजोर भएपछि १६ वर्षको उमेरमै उनी पढाई छोडेर युएई आएका थिए।
उनको बाल्यकालमा नपुग्दो केही थिएन। उनलाई बा- आमाले सुख सुविधाले हुर्काएका थिए। तर, बुवालाई रोगले थला पारेपछि परिवारमा ऋण थपियो। त्यही ऋणको भारीले गर्दा उनले बीचैमा आफ्नो पढाई छोडे। र, अन्य छोराहरू जस्तै लागे, खाडी मुलुकतर्फ।
उनलाई अहिले पनि आफू पहिलोपल्ट युएई आएको घटना याद छ। ‘सन् २००६ मा एभरेस्ट एसोसिएट नामक मेनपावर कम्पनीलाई १ लाख २० हजार रुपैयाँ बुझाएर म दुबई आएको थिएँ।’
त्यतिबेला उनी मजदुरको रुपमा युएई प्रवेश गरेका थिए। यहाँ उनले सुरूको दिन ५० डिग्रीको गर्मीमा के काम गरेनन्?
दुई वर्ष जेवलाली भन्ने ठाउँमा मजदुरीको काम गरेपछि उनलाई त्यहीको एउटा सप्लायर कम्पनीले दुबईस्थित एचएसबीसी बैंकमा अफिस ब्वाईको रूपमा खटायो।
यहीबाट उनको जीवनले अर्को मोड लियो। उनले केही वर्ष त्यही काम गरे। बैंकमा काम गर्ने क्रममा उनले सवारी चालक अनुमती पत्र पनि लिए। यो कुरा पछि सप्लायर कम्पनीलाई थाहा भयो। उसले प्रस्ताव गर्यो, बैंक ब्वाईको जागिर त्यागेर ट्याक्सी ड्राइभरको काम गर्ने।
उनलाई फेरि मजदुरी गर्न रहर लागेन। उनले सप्लायर कम्पनीको प्रस्ताव ठाँडै अस्वीकार गरे। उनले यतिबेला कम्पनीका मालिकलाई आफ्नो समस्या पनि बताए।
‘म अंग्रेजी राम्रै बोल्थेँ। अरबीमा पनि मेरो आत्मविश्वास बढीसकेको थियो। मैले उनीहरूलाई आफ्नो सबै समस्या बताएँ। नेपालबाट मजदुरीका लागि युएई आउनुपरेको कारण पनि प्रस्ट्याएँ,’ दुबईमा ब्रेक एन लिंक्स (बीएल) सँग भेट भएका राजकुमारले सुनाए, ‘मैले अध्ययनतर्फ आफ्नो रूचि रहेको पनि उनीहरूलाई बताएँ।’
उनको कुरा सुनेर हाकिमहरू पग्लिएछन्। बैंकमा उनको काम अब्बल थियो। इमान्दार त थिए नै, उनको कामको पनि मूल्याकन भयो।
उनलाई सानै भए पनि अफिसरको भूमिका दिने निर्णय भयो। यसपछि बैंक ब्वाईबाट जागिर सुरु गरेका राजकुमार म्यानेजरको पदसम्म पुगे।
तर, उनलाई अझै आफ्नो अध्ययन पुरा गर्न नसकेकोमा हिनताबोध भइरहेको थियो। उनी युएई पुगेदेखि नै अरवी भाषाको स्वअध्ययन गरिरहेका थिए।
२०१३ मा उनले कलेजमै भर्ना भएर आफ्नो पढाइलाई अगाडि बढाउने निर्णय गरे।
‘मैले २०१३ मा दुबईमा पढ्न सुरू गरेँ। सुरुमा अलि गाह्रो लागेको थियो। तर पछि सहज हुँदै गयो,’ उनले भने।
अहिले उनी दुबईमा सबैमाझ नेपाली वकिलको नामले चिनिन्छन्। बैंकले उनलाई अधिवक्ताको काम दिएको छ।
उनले यसबीचमा आपतमा परेका नेपालीको उद्धारसमेत गरेका छन्।
‘अठोट गर्यो भने कुनै पनि कुरा गर्न सकिन्छ। दुबई आउँदा मैले फेरि आफ्नो अध्ययनलाई निरन्तरता दिन्छु भन्ने लागेकै थिएन,’ उनले भने।
कुनै बेला बुवालाई उपचार गर्दा परिवारलाई ४ लाख रुपैयाँ ऋण लागेको थियो। त्यही ऋण तिर्न उनले थप १ लाख २० हजारको ऋण जोहो गर्नुपर्यो।
कुनै बेला उनीसँग १२ कक्षाको परीक्षा दिन ४ सय रुपैयाँ पनि थिएन। रातभरी आलुको बोरा बोकेर उनले पैसा जम्मा गरेका थिए। ‘आज पनि त्यो घटना सम्झँदा सपना जस्तो लाग्छ,’ उनले भने।
दुबईमा अहिले उनको मान छ। सम्मान छ। हातमा डिग्री पनि। उनका लागि युरोप र अमेरिका जस्ता सम्पन्न राष्ट्रका लागि ढोका पनि खुला छ। तर, उनी फेरि अन्जान देशमा भाँसिन चाहँदैनन्।
उनी नेपालको वित्तिय क्षेत्रमा थुप्रै समस्या रहेको बताउँछन्। उनी अब आफ्नै देश फर्किएर वित्तिय क्षेत्रमा योगदान गर्न चाहन्छन्।
‘मेरो अन्तिम गन्तब्य आफ्नै देश फर्किने हो। म नेपालको बैकिङ क्षेत्रमा रहेको कमजोरी कसरी हटाउन सकिन्छ? यसमा काम गर्न चाहन्छु,’ बीएल मिडियासँग छुट्टिने बेला उनले भने।