युएईमा १४ नेपाली युवाको बिचल्ली, ५ दिन चौरमा भोकभोकै (भिडियोसहित)

तस्बिरः बिएल

सुपर मार्केटमा काम लगाइदिने भन्दै बुटवलका एक मेडिकल सञ्चालकले १४ नेपाली युवालाई सयुक्त अरव इमिरेट्स (युएई) को शारजहामा बिचल्ली पारेका छन् ।

युएई आउँदा लाग्ने खर्चभन्दा ४ गुणा बढी रकम खर्चेका ती युवाहरू एनआरएन युएईको सम्पर्कमा आएपछि गोप्य सेटिङको रहस्य बाहिरिएको हो। उनीहरू भिजिट भिषामा युएई आएका हुन्।
युएईमा अलपत्र परेका १४ युवा बुटवल र नवलपरासी क्षेत्रका वासिन्दा हुन्। उनीहरूलाई बुटवलको जनतापथ–८ स्थित ‘बी एन्ड बी’ डिजिनेश नामक मेडिकल सञ्चालक बाबु थापाले पठाएका हुन्।
शारजहामा विचल्ली परेका युवाहरूसँग जनही २ लाख ५० हजार रुपैयाँ लिएको उनीहरूले ब्रेक एन लिंक्सलाई जानकारी दिएका छन्।
‘दुबईको सुपरमार्केटमा १२ सय दिराम तलब दिलाइदिने प्रलोभन देखाएर हामीमाथि ठगी गरिएको छ,’ एक पीडित युवाले भने।
विचल्लीमा परेका युवाहरूका अनुसार युएई आउनुअघि थापाले काठमाडौंमा एक युवतीलाई भेट्न पठाएको र ती युवतीमार्फत भिषा र टिकट प्राप्त भएको थियो।
‘हामीलाई अध्यागमन कर्मचारीले सामान्य सोधपुछ समेत गरेनन्,’ बुटवलका पीडित युवा ताराप्रसाद रेग्मीले ब्रेक एन लिंक्ससँग भने, ‘गाउँकै दाई भनेर मागेको रकम उपलब्ध गरायौं। तर, यहाँ बिजोग भयो। अब घर कसरी जाने?’


रेग्मी सुरुमा आफूलाई कम्पनी मार्फत पठाउने कुरा भएको बताउँछन्। तर पछि भिजिट भिषा थमाइएको उनको आरोप छ। ‘भिजिट भिषामा जान्न भनेका थियौं। उसले नै केही हुँदैन, युएईमै भिषा परिवर्तन हुन्छ भन्यो,’ उनले भने, ‘अहिले भिषाको एक महिनाको अवधि सकिसकेको छ। भिषा परिवर्तन पनि भएन।’
काठमाडौंमा भिषा उपलब्ध गराउने युवतीले दुबईस्थित आफ्नो एजेन्टलाई सम्पर्क गरेको पनि पीडित युवाहरूले बताए। उनीहरूले दुबईमा भएका एजेन्टले आफूहरूले नेपालबाट खर्चको लागि ल्याएको प्रति व्यक्ति ३५ सय दिराम पनि लिएर भागेको बताए।
‘हामीसँग पैसा लिएर एक सातापछि भिषा परिवर्तन हुन्छ। सुपरमार्केटमा काम सारिदिन्छु भन्यो। तर, अहिलेसम्म सम्पर्कमा छैन,’ रेग्मीले भने।
पैसा नभएको अवस्थामा आफूहरूले ५ दिन चौरमा भोकभोकै सुतेर रात विताएको बताए। ‘अहिले एक जनाको पासपोर्ट धरौटीमा राखेर कोठा लिएका छौं। त्यही कोचिएर सुत्छौं,’ उनले भने।


नेपाली युवाहरू बिचल्लीमा परेको खबर थाहा पाएपछि शारजहा पुगेका एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठले भने, ‘हामीले नेपाली राजदुतलाई उनीहरूको अवस्थाको बिस्तृत जानकारी गराएका छौं।’
बिचल्लीमा परेका युवाहरूले आफूलाई उद्दार गर्न थापालाई बारम्बार फोन गरिरहेका छन्। तर, उनले उल्टै धम्क्याउने गरेको रेग्मीले आरोप लगाए।
‘अहिले ऊ भारतमा लुकेर बसेको सुनेको छु,’ उनले भने।

प्रकाशित मिति: : 2019-07-03 15:38:46

प्रतिकृया दिनुहोस्