कालापानीको मुद्दा अन्तर्राष्ट्रियकरण गर्नुपर्छः पूर्वराजदूत टंक कार्की

बिएल

भारतले हालै सार्वजनिक गरेको नक्सामा नेपालको कालापानीसहित सुदूरपश्चिमका केही गाउँलाई आफ्नोमा गाभेपछि यसको विभिन्न कोणबाट विरोध भइरहेको छ।

चीनका लागि नेपालका पूर्वराजदूत टंक कार्कीले यसलाई ठूलो राष्ट्रको बल मिच्याईको संज्ञा दिएका छन्। र, यो मुद्दालाई तत्काल अन्तर्राष्ट्रियकरण गर्न सरकारसँग आग्रह गरेका छन्।

‘कालापानी नेपालको अभिन्न अंग हो। भारतको बलमिच्याईको कडा प्रतिवाद हुनुपर्छ। सरकारले यसलाई अविलम्ब अन्तर्राष्ट्रियकरण गर्नुपर्छ’, उनले भने।

प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पल्ट प्रधानमन्त्री भएको बेला चीनको राजदूत नियुक्त भएका कार्की कलापानीको मुद्धामा बृहत राष्ट्रिय सहमति जुटाउनु पर्ने बताउँछन्।

‘भारतले छिमेकी राष्ट्रको जमिन मात्र होइन, नेपाली जनताको मुटुमा बुट बजारेको छ। यसपालि पनि हामीले आफ्नो कुरा स्पष्ट राख्न सकेनौ भने भारतले अझै बलमिच्याई गर्दै लानेछ,’ उनले भने–‘यसमा कांग्रेस र कम्युनिस्ट भन्नु हुँदैन। सबै राष्ट्रवादी शक्ति मिलेर प्रतिवाद गर्नुपर्छ।’

भारतले जम्मु र काश्मीरलाई छुट्टाछुट्टै राज्यको दर्जा दिएर नयाँ नक्सा सार्वजनिक गर्दा कालापानीलाई पनि नेपाली नक्सामा गाभेको थियो। २०१८ सालमा चीन र भारतबीच लडाई हुँदा तत्कालिन राजा महेन्द्रले कालापानीमा भारतीय सेनालाई अस्थायी क्याम्प बनाएर बस्ने सुविधा दिएका थिए।

चीन र भारतबीचको लडाई टुँगिएको ५८ वर्ष बितेपनि भारतीय सेना कालापानीबाट हटेको छैन। अझ, भारतले बिस्तारै नेपालको गाउँलाई आफ्नो भूभागमा गाभ्दै आइरहेको थियो।

मंगलबार सार्वजनिक भारतीय नक्सामा कालापानीको सबै भूभाग भारतको भएको जनाइएपछि नेपालमा यसको विरोध सुरु भएको छ।

प्रकाशित मिति: : 2019-11-06 14:18:49

प्रतिकृया दिनुहोस्