त्रिविको उपकुलपतिमा प्रधानमन्त्री ओली निकट बाँस्कोटा नियुक्त

बिएल

प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको १९ औं उपकुलपतिमा धर्मकान्त बाँस्कोटालाई नियुक्त गरेका छन्।

शिक्षामन्त्री गिरीराजमणी पोखरेलको नेतृत्वमा बनेको १९ औं उपकुलपति चयन गर्नका लागि गठित नाम सिफारिस समितिले त्रिविको उपकुलपतिका लागि दोस्रो नम्बरमा सिफारिस गरेका बाँस्कोटालाई आइतबार प्रधानमन्त्रीले चार वर्षे कार्यकालका लागि नियुक्त गरेका हुन्।

बाँस्कोटाले सोमबार नियुक्ति पत्र बुझेर कार्यभार सम्हाल्ने स्रोतले बताएको छ।शिक्षामन्त्रीको अध्यक्षतामा साउन २० गते उपकुलपति खोज्न सर्च समिति बनेको थियो।

प्रधानमन्त्री ओलीले बास्कोटालाई उपकुलपति बनाउन चाहेपछि भगवान कोइरालालाई भने मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त गरेको छ ।

भदौ ६ गतेदेखि तत्कालीन उपकुलपति तीर्थ खनियाँको कार्यकाल सकिएको थियो।

खनियाँलाई सुशील कोइराला प्रधानमन्त्री हुँदा उपकुलपति नियुक्त गरिएको थियो।

उपकुलपति रिक्त भएपछि शिक्षाध्यक्ष सुधा त्रिपाठीलाई बढीमा तीन महिनाका लागि त्रिविको कार्यवाहक कुलपतिको जिम्मेवारी दिइएको थियो। चार वर्ष नेपाल मेडिकल काउन्सिलको अध्यक्षसमेत भइसकेका बाँस्कोटा त्रिवि शिक्षण अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञसमेत थिए।

काउन्सिलमा बाँस्कोटाको कार्यकाल गत जेठमा सकिएको थियो। बाँस्कोटा राष्ट्रपति विद्यादेवी भण्डारीका निजी चिकित्सकसमेत हुन्।

उनी सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट मानिन्छन्।

प्रकाशित मिति: : 2019-11-03 16:29:30

प्रतिकृया दिनुहोस्