बालुवाटारमै राखे प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदको बैठक

फाइल तस्बिर:बिएल

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बसेको छ । तेस्रो पटक डायलाइसिस गर्न प्रधानमन्त्री ओलीलाई ग्राण्डी अस्पताल लागेपछि बिहान ११ बजेलाई राखिएको बैठक केही समय ढिलो गरि सुरु भएको हो ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था कमजोर भएर अघिल्लो हप्ता ग्राण्डी अस्पतालमा दुई पटक हेमोडायलासिस गरेर फर्किएका थिए । त्यसपछि उनले निवासमै मन्त्रिपरिषदको बैठक बोलाएका हुन् ।

त्यसअघि प्रधानमन्त्री ओलीले विहान त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डिओ भास्कुलर तथा थोरासिक सेन्टर पुगेर स्वास्थ्य जाँच गराएका थिए । त्यहाँ प्रधानमन्त्रीको छातीको एक्सरे गरिएको थियो । डाक्टरहरुको टोलीले फोक्सोको पानी निकाल्नु नपर्ने निष्कर्ष निकालेपछि प्रधानमन्त्री ओली बालुवाटारस्थित निवास फर्किएका थिए । उनी निवासमा फर्किएलगत्तै मन्त्रिपरिषद बैठक बसेको हो ।

गत बुधबार निममित स्वास्थ्य परीक्षणका लागि अस्पताल गएका प्रधानमन्त्री ओलीलाई भर्ना नै गरेर डायलासिस गरिएको थियो ।

शनिबार बसेको नेकपाको सचिवालय बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आफू सिकिस्त विरामी नभएको बताएका थिए । तर मिर्गौलाले राम्रोसँग काम नगरेकाले अब नियमित डायलासिस वा पुनः प्रत्यारोपण मात्र विकल्प रहेको जानकारी दिएका थिए ।

प्रकाशित मिति: : 2019-11-03 13:16:41

प्रतिकृया दिनुहोस्