गैरआवासीय नेपाली संघ कोरियालाई पनि गैरकानूनी कामको बाछिटा लागेको छ । संघका कोषाध्यक्ष आलोक बानियाँ हुन्डी कारोबारमा संलग्न भएर यो बाछिटा लगाइ दिएका हुन् ।
उनलाई राजधानी सोलनजिकै तोंदेमुनमा एक महिनाअघि पक्राउ गरेर देश निकाला गरिएको छ । दक्षिण कोरियाली प्रहरीले उनी नेपाली कामदारसँग अवैध रुपमा रकम उठाएर नेपाल लगिदिने कार्यमा संलग्न रहेको बताएको छ ।
बिगत दश वर्षअघिदेखि कोरियामा रहँदै आएका बानियाँ हुन्डी कारोबारमा संलग्न रहेका थिए ।
ठूलो मात्रामा दक्षिण कोरिया गएका नेपालीले नेपाल पैसा पठाउँदा हुण्डीमार्फत् पठाउँदै ाएका छन् । यसबाट उनीहरूलाई मात्र बेफाइदा भैरहेको छैन, नेपाललाई पनि ठूलो मात्रामा नोक्सान भैरहेको छ ।
दक्षिण कोरियाले देश निकाला गरेका बानियाका बारेमा एनआरएनले मुख खोलेको छैन । यस्तै गलत क्रियाकलाप गर्नेहरू एनआरएनमा पदाधिकारी हुने र उनीहरूले गलत काम गर्दा पनि संघ मौन बस्नाले एनआरएनप्रति धेरैको वितृष्णा बढ्दै गएको छ ।