४५ जिल्लामा स्वास्थ्य विमा कार्यक्रम, सोचे अनुसार सफलता पाउन नसकेको सरकारी अधिकारीकै दाबी

तस्बिरः रूपा शर्मा ‘नेहा’

सरकारले ४५ वटा जिल्लामा स्वास्थ्य विमा कार्यक्रम सञ्चालन गरेको छ ।

२०७४ सालमा स्वास्थ्य विमा ऐन आएपछि त्यसकै कार्यान्वनयको लागि औपचारिक रूपमै यो कार्यक्रको सुरुवात गरिएको हो।

सरकारी स्वास्थ्य संस्थाबाटै आम जनतालाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्धेश्यले सरकारले समाजिक सुरक्षा कार्यक्रम अन्तर्गत  स्वास्थ्य विमा कार्यक्रम सञ्चालनमा ल्याएको हो।

यो कार्यक्रममार्फत जनताले स्थानीय प्राथमिक सेवा केन्द्र तथा कुनै पनि सरकारी अस्पतालबाट यो सेवा लिन सक्छन्।

सरकारले  आधारभूत स्वास्थ्य सेवालाई जनताको मौलिक हक अन्तर्गत राखे पनि गाँउका बिरामीले सिटामोलसमेत किनेर खानुपर्ने अवस्थामा यस कार्यक्रमले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान दिने आशा गर्न सकिन्छ।

तर स्वास्थ्य विमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोख्रेलले यो सोचेजस्तो सफल र प्रभावकारी हुन नसकेको गुनासो गर्छन्।

स्थानीय तहको प्राथमिक स्वास्थ्य संस्था तथा जिल्ला अस्पतालमा आवश्यक पूर्वाधार, दक्ष चिकित्सक, आवश्यक औषधि उपलव्ध हुन नसक्दा कार्यक्रमले सोचेअनुरुप सफलता हासिल गर्न नसकेको उनको तर्क छ।

स्वास्थ्य विमा कार्यक्रम सञ्चालनमा ल्याएपछि यसले निर्धारण गरेका मापदण्डलाई पुरा गर्न सरकारले आवश्यक कदम चाल्नै पर्ने उनको भनाई छ।

स्वास्थ्य विमा कार्यक्रम सञ्चालन गरिएका  स्वास्थ्य संस्थामा सहायता कक्ष, दर्ता कक्ष, उजुरी कक्ष, ओपिडि सेवा र आकस्मिक सेवा अनिवार्य हुनुपर्ने भए पनि अहिले अधिकांश स्वास्थ संस्थामा यो मापदण्ड पुरा नभएको निर्देशक पोख्रेलले जानकारी गराए।

 स्वास्थ्य विमा कार्यक्रम अन्तर्गत हरेक जनताको घरदैलोमा पुगेर प्रत्येक परिवारको ५ जना सदस्य वापत ३५०० रुपैया संकलन गर्ने र सो वापत बार्षिक १ लाख बरावरको उपचार खर्च निःशुल्क दिने गरिन्छ।

सरकारले यस  कार्यक्रम संचालनको लागि स्वास्थ्य विमा वोर्डको गठनसमेत गरेको छ।

वोर्डले सातवटै प्रदेशमा कार्यालय सञ्चालन गरी सो अन्तर्गत रहेर स्वास्थ्य संस्थाका प्रतिनिधि, स्थानीय तहका प्रतिनिधि वडाका सदस्यलाई अभिमुखिकरण तालिम प्रदान गर्ने र उनीहरुलाई जनताको घरदैलोमा पुर्‍याई पारिवारीक तथ्याङ्क लिने र यस कार्यक्रमबाट पाउने सुविधा र प्रक्रियाको बारेमा जानकारी गराउँछन्।

विमा कार्यक्रममा सहभागी हुनेलाई विमा कार्ड उपलव्ध गराईन्छ र उनीहरूले आवश्यकता अनुसारको स्वास्थ्य सेवा स्थानीय सरकारी स्वास्थ्य संस्थाबाट लिन सक्छन्।

सो स्वास्थ्य विमा कार्यक्रममा आजसम्म १६ लाख १० हजार मानिस आवद्ध भएका छन्।

जसमा ४ लाख ५ हजार विपन्न नागरिक छन्।

गत वर्ष विमामा आवद्ध हुने मध्ये आजसम्म ७६ प्रतिशत्ले पुनः सेवालाई नविकरण गरेका छन्।

स्वास्थ विमा कार्यक्रममा पुरूषको भन्दा महिलाको आर्कषण बढ्दो छ। यसमा ५३ प्रतिशत महिला छन् भने ४७ प्रतिशत् पुरूष छन्।

प्रकाशित मिति: : 2019-05-22 11:51:45

प्रतिकृया दिनुहोस्