वैदेशिक रोजगारीले निम्त्याएको पाँचथरको मिक्लाजुङ हत्याकाण्ड

पाँचथरको मिक्लाजुङ हत्याकाण्डमा मारिएका नौजना र त्यसमा संलग्न भएर आत्महत्या गरिएको आशंका गरिएका मानबहादुर माखिमको शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइपुर्याइएको छ।

घटनास्थलमा प्रारम्भिक अनुसन्धान सकेर शवहरू धरान ल्याइएको १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता सिद्धराज नेउपानेले ब्रेक एन लिंक्सलाई बताए। उनका अनुसार घटना निकै संवेदनशील भएकाले धरानमा विशेषज्ञहरूबाट पोस्टमार्टम गर्नेगरी शव धरान ल्याइएको हो । 

सोमबार राति १० बजेपछि पाँचथरको मिक्लाजोङ गाउँपालिका–३, आरुबोटे नजिकै एक  मुकुण्डोधारी व्यक्तिले स्थानीय बमबहादुर फियाकको परिवारका चार र उनकै माहिला ज्वाईं धनराज शेर्माको परिवारका पाँच जनाको धारिलो हतियार प्रहार गरी हत्या गरेको थियो।घटनामा अन्दाजी ७५ वर्षे बमबहादुर, उनकी पत्नी त्यही उमेरकी पुर्सीहाङ्मा फियाक, छोरी २७ वर्षीया मनकुमारी र घरमा पढ्न बसेकी साहिँली छोरीकी छोरी (बमबहादुरकी नातिनी) १२ वर्षीया बालिका आशिका खजुमको हत्या गरेको थियो। 

त्यसपछि बमबहादुरकै घरभन्दा करिब ३० मिटर माथि रहेको उनकै माहिला ज्वाईं धनराज शेर्माको परिवारका अन्दाजी ४५ वर्षे धनराज, उनकी पत्नी ४० वर्षीया जस्मिता, छोरीहरू १४ वर्षीया युहाना, १२ वर्षीया मुना शेर्मा र धनराजकी भाइकी छोरी (भतिजी) ५ वर्षीया इच्छा शेर्माको हत्या गरिएको थियो। बमबहादुरकी साहिँली छोरीकी छोरी १४ वर्षीया सीता खजुम हतियारधारीको आक्रमणबाट उम्किन सफल भएकी थिइन्। भग्ने क्रममा हात भाँचिएकी उनको झापाको दमकमा उपचार भैरहेको बताइएको छ।  

घटनास्थलभन्दा दुईघण्टा दूरीमा मिक्लाजोङ गाउँपालिका–७ लिम्बाका मानबहादुर माखिमको पनि मंगलबार दिउँसो झुन्डिएको अवस्थामा शव भेटिएको थियो। उनी घटनामा मारिएका बमबहादुरकै कान्छा ज्वाईं भएको बताइएको छ। उनको शवनजिकै रगत लत्पतिएको खुकुरी, रगत लागेका लुगाफाटो र उनको मोबाइलसमेत भेटिएको छ। ‘हत्याको घटना हुनु, प्रत्यक्षदर्शीले पनि एकजना मुकुण्डोधारीले खुकुरीले छपाछप प्रहार गरेको भन्नु र आत्महत्या गरेका व्यक्तिको वरिपरि शंकास्पद वस्तु भेटिनुले हत्यामा उनकै संलग्नता रहेको आशंका गरिएको हो। तर, निर्णयमा पुगी नसकिएको प्रहरीले जनाएको छ।

बमबहादुरकी कान्छी छोरी मनकुमारी र उनका पति मानबहादुरको सम्बन्धमा दरार आएकाले मनकुमारी केही समयदेखि माइतमै बस्थिन्।यो विवादका बारेमा रवि प्रहरी कार्यालयमा छलफल भए पनि समाधान नभएपछि  पाँचथर जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा हालिएको थियो।

 

'विवाह गरेर वैदेशिक रोजगारीमा गएका मानबहादुर मिंखा पाँच वर्षपछि फर्कदा उनकी श्रीमती मनकुमारी फियाक माइतमै थिइन्। त्यसपछि उनले मनकुमारीलाई ल्याउन धेरै प्रयत्न गरे तर सकेनन्। त्यसपछि उनले मनकुमारीको माइती नजिकै घर भएका माइला भिनाजु धनराज शेर्मालाई नै भिलेन देख्न थाले। यो क्रम बढ्दै जाँदा यस्तो अवस्था सिर्जना भयो कि मानबहादुर ससुरा र साँढुदाइको वंश नै नाश गर्ने योजनामा लागे। त्यसैको परिणाम सोमबार राति नौजनाको विभत्स हत्या भयो।'

 

घटनाको समग्र अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले काठमाडौंबाट एसपी उमाप्रसाद चर्तुवेदीको टोली पठाएको छ भने प्रदेश र जिल्लाबाट पनि टोली खटिएको छ।

घटनालाई नजिकबाट हेरिरहेका समाजशास्त्री नरबहादुर जबेगुले भने लामो श्वास् फेर्दै भने- 'विवाह गरेर वैदेशिक रोजगारीमा गएका मानबहादुर मिंखा पाँच वर्षपछि फर्कदा उनकी श्रीमती मनकुमारी फियाक माइतमै थिइन्। त्यसपछि उनले मनकुमारीलाई ल्याउन धेरै प्रयत्न गरे तर सकेनन्। त्यसपछि उनले मनकुमारीको माइती नजिकै घर भएका माइला भिनाजु धनराज शेर्मालाई नै भिलेन देख्न थाले। यो क्रम बढ्दै जाँदा यस्तो अवस्था सिर्जना भयो कि मानबहादुर ससुरा र साँढुदाइको वंश नै नाश गर्ने योजनामा लागे। त्यसैको परिणाम सोमबार राति नौजनाको विभत्स हत्या भयो।'

जबेगुले भने- 'अनुसन्धान त जे जसरी गरे पनि यस विभत्स घटनाका पछाडि वैदेशिक रोजगारी नै मूल कारण छ।'उनले अगाडि थपे- संसारमा अधिकांश यस्ता घटनामा कि पैसा, कि यौन कि लागूपदार्थको भूमिका हुन्छ। यसमा कुन पक्ष प्रबल होला, त्यो सहज अनुमान गर्न सकिन्छ। तर, यस्तो अवस्थामा त्यस्तो भन्नु कसैका लागि पनि त्यो प्रिय लाग्दैन।'

कसैको प्रभावमा नपरी साँच्चै नै अनुसन्धान गर्ने हो भने नेपाल प्रहरीमा सक्षम अनुसन्धानकर्ता रहेको बताउँदै उनले भने- आशा गरौं प्रहरीले खालि अपराधको कोणबाट मात्र हैन, वैदेशिक रोजागरीले सिर्जना गरेको समाजशास्रीय दृष्टिकोणबाट पनि यस घटनालाई हेर्नेछ।'

 

प्रकाशित मिति: : 2019-05-22 04:15:02

प्रतिकृया दिनुहोस्