पाँचथरको मिक्लाजुङमा दुई परिवारका ९ जनाको विभत्स हत्या

तस्बिरः एजेन्सी

पूर्वी नेपालको पाँचथरमा दुई परिवारका ९ जनाको विभत्स हत्या भएको छ। जिल्लाको मिक्लाजुङ गाँउपालिका–३ आरूबोटेमा गएराति दुई परिवारका नौ जनाको विभत्स हत्या भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक अनील पौडेलका अनुसार एक परिवारको पाँच र अर्को परिवारको ४ जना गरी ९ जनाको हत्या भएको हो।

स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फ्याकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरी हत्या भएको हो।

धनराजको परिवारका पाँच जनाको हत्यापछि शव घरभित्रै रहेको तथा बमबहादुरको परिवारका चार जनाको शव घरभित्र तथा बाहिर विभत्स अवस्था भेटिएको छ।

वडाध्यक्ष हस्तराज फ्याकका अनुसार हत्या गरिएकामा ३६ वर्षीया जस्मिता फ्याक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फ्याक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फ्याक, नाम प्राप्त नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको हो।

यस्तै १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन्। उनी गम्भीर घाइते छिन्।

मध्यरात भएको घटना स्थानीयवासीले बिहान मात्रै थाहा पाएका थिए। घाइते सीताले स्थानीयवासीलाई दिएको जानकारीअनुसार मुखुण्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको थियो।

विभत्स हत्या कसले, किन गर्‍यो भन्ने खुलेको छैन।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलतर्फ लागेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए।

घटनास्थल पाँचथर सदरमुकाम फिदिमबाट ६५ किलोमिटर दक्षिणमा पर्छ।

 

प्रकाशित मिति: : 2019-05-21 08:47:23

प्रतिकृया दिनुहोस्