ताइवान बन्यो समलैंगिक विवाहलाई मान्यता दिने पहिलो एसियाली देश

ताइवानकाे संसद्‌मा समलिंगी विवाहलाई वैधता दिने विधेयक पारित भएको छ। सन् २०१७ मै ताइवानकाे संवैधानिक अदालतले समलिंगी जाेडीलाई विवाह गर्न पाउने फैसला गर्दै त्यसका लागि मे २४ को समयसिमा दिएको थियो। त्यही समयसीमा पूरा नहुदै शुक्रबार समलिंगी विवाहको पक्षमा विधेयक पारित भएको हो। विधेयकको पक्षमा ६६ मत र विपक्षमा २७ मत खसेकाे थियाे। 

विधेयक पारित भएसँगै ताइवान समलिंगी विवाहलाई वैधता दिने एसियाकै पहिलाे देश भएकाे छ।

कानुनविद्‌हरुले समलिंगी संघलाई वैधानिकता दिने सवालमा ३ अलग-अलग विधेयक माथि बहस गरेका थिए। जसमध्ये सरकारले पेस गरेकाे विधेयक नै बढी प्रगतिशील रहेकाे भन्दै पारित गरिएकाे हाे।

संसद्‌मा विधेयक पारित हुने बित्तिकै छाता र इन्द्रधनुष रङ अंकित झन्डा बाेकेर संसद्‌अघि उभिएका समलिंगी, अधिकारकर्मी र उनीहरुका समर्थकहरुले खुसीयाली मनाएका थिए। उनीहरुले वर्षाका कुनै प्रवाह नगरी विधेयक पास हुने समयकाे प्रतिक्षा गरिरहेका थिए। विधेयकमाथि भएकाे भाेटिङकाे परिणाम बाहिर आउने बित्तिकै कतिपयका आखाँमा खुसीका आशुँसमेत देखिएका थिए।

ताइवानका राष्ट्रपति साई इंग वेनले यस विधेयकलाई प्रमाणीकरण गरेपछि मात्रै यसले कानुनी रुप लिनेछ।

 

प्रकाशित मिति: : 2019-05-18 11:14:11

प्रतिकृया दिनुहोस्