एसिडको ब्यापार सुनदेखि नुन पसलसम्म

तस्बिरः एजेन्सी
काठमाडौंको कालोपुलमा काभ्रेका विष्णु भुजेलले बुधबार साझ आफ्नै श्रीमतीमाथि एसिड प्रहार गरे। सामान्य घरायसी विवादमा पनि भुजेलले २२ वर्षिय श्रीमतीको अनुहारमा एसिड प्रहार गरेका थिए।
 
एसिड प्रहारबाट गम्भीर घाईते बनेकी  उनको  हाल कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ। 
 
करिब ५ वर्षअघि प्रेम विवाह गरेको भुजेल–शाक्यको जोडीबीच केही समयदेखि खटपट सुरु भइसकेको थियो। यही विवादका कारण भुजेलले श्रीमतीको शरीरमा एसिड प्रहार गरेका थिए।
 
श्रीमतीको शरीरमा एसिड छ्याप्नका लागि विष्णुले वुधबार दिउसो काभ्रेकै एक सुन पसलबाट खरिद गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होमेन्द्र बोगटीले ब्रेक एन लिंक्सलाई बताए।
 
उनका अनुसार भुजेलले प्लाष्टिकको बोतलमा काभ्रेबाटै एसिड किनेर कालोपुल ल्याएका थिए। श्रीमतीलाई एसिड प्रहार गरेपछि उनी हाल फरार छन्।
प्रहरीका अनुसार देशभरी सुनदेखि नुन हुदै ब्याट्री पसलमा समेत एसिड सहज रुपमा किन्न पाइन्छ। अझ साइन्स ल्याबका सामान बेच्ने पसलमा त एसिड सहज हुने नै भयो।
 
प्रहरी प्रवक्ता बोगटी भन्छन्– एक लिटर एसिड तीन सय रूपैया सम्ममा किन्न पाईन्छ। जथाभावि एसिडको कारोबार हुनुले समाजमा विभिन्न खालका समस्याहरु देखा पर्न थालेका छन्।
 
डीआईजी विश्वराज पोखरेल पनि नेपालमा एसिड खरिद बिक्री सहजै हुने गरेको स्विकार्छन। उनी यस्ता घटना रोक्न नियमन जरुरी रहेको बताउछन्।
बिएल नेपाली सेवासग पोखरेलले भने, ‘एसिडको खरिद बिक्रीलाई ब्यवस्थित गर्नुपर्छ। होइन भने यसले भोलिका दिनमा बढी खतरा निम्त्याउन सक्छ।’
पछिल्लो समय नेपालमा एसिड आक्रमणका घटनाहरु बढ्न थालेका छन्। २०७१ साल फागुनमा वसन्तपुरको ट्युसन सेन्टरमा संगीता मगर र सीमा बस्नेतलाई जीवन विकले एसिड छ्यापेका थिए।
 
त्यसैगरी  २०७० सालमा गोंगबु बानियाटारमा उर्मिला श्रेष्ठ अज्ञात व्यक्तिको एसिड आक्रमणबाट गम्भीर घाइते भइन। यो घटनाका अपराधी अझैसम्म फेला पर्न सकेका छैनन्।
 
त्यस्तै २०६९ भदौमा काठमाडौको कोटेश्वरमा मीरा केसीमाथि एसिड आक्रमण भयो।
 
तराईलगायत देशका विभिन्न भागमा पनि एसिड आक्रमणका थुप्रै घटना हुने गरेका छन्।
 
२०७१ सालसम्म एसिड आक्रमणको खासै कानुन थिएन। २०७१ सालमा जब सबैको सातो जानेगरी संगीता मगर र सीमा बस्नेतमाथि एसिड आक्रमण भयो, तव कानुन बनाएर एसिड आक्रमण गर्नेलाई कारबाहीको दायरामा ल्याउन थालियो।
 
संसदले ऐनलाई संशोधन गरी एसिड आक्रमण गर्नेलाई पाँचदेखि आठ वर्षसम्म कैद र एक लाखदेखि तीन लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था गरेको छ। २०७५ भदौमा लागू भएको कानुनमा त्यो कुरा अझै केही कडा भएर आयो। मुलुकी अपराध संहिताको दफा १९३०२० मा एसिड आक्रमण गर्ने व्यक्तिलाई कसुरको प्रकृति हेरी अनुहार कुरुप पारेमा पाँच वर्षदेखि आठ वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना गर्ने नियम लागु भएको छ। 
 
त्यसैगरी शरीरको अन्य भाग कुरुप पारेमा वा शरीरमा पीडा पुर्‍याएमा तीन वर्षदेखि पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।
प्रकाशित मिति: : 2019-05-16 18:44:22

प्रतिकृया दिनुहोस्