युवतीको विश्वासमा परेर डिपेन्डेन्टमा अष्ट्रेलिया जान खोजेपछि....

तस्बिरः एजेन्सी

आफूलाई अष्ट्रेलियाको पिआरधारी बताउँदै डिपेन्डेन्टमा अष्ट्रेलिया जान तयार भएका युवालाई ठगी गरेको आरोपमा एक युवती पक्राउ परेकी छन्।

महानगरीय अपराध महाशाखाका अनुसार आफूलाई अष्ट्रेलियाको पिआर होल्डर बताउँने बर्जु गाउँपालिका–६ सुनसरी घर भई नयाँ बानेश्वरमा बस्दै आएकी रेजिना अधिकारी गोकर्णेश्‍वर नगरपालिका–४ माकलवारीका अमित श्रेष्ठसँग कोर्ट म्यारिजसमेत गरी चार लाख ५० हजार रूपैयाँ ठगी गरेको अभियोगमा पक्राउ परेकी छन्।

कोर्ट म्यारिजसमेत गरेकी अधिकारीले पैसा लिएर सम्पर्कबिहिन भएपछि श्रेष्ठले महाशाखामा जाहेरी दिएका थिए। सोही जाहेरीको आधारमा महाशाखाबाट खटिएको प्रहरी टोलीले अधिकारीलाई मध्यबानेश्‍वरमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको महानगरीय अपराध महाशाखा एसपी केदार ढकालले बताए।

प्रहरीको प्रारम्भीक अनुसन्धानमा अधिकारीले चाँगुनारायण–३ भक्तपुर बस्ने सागर धमलासमेतलाई सोही प्रयोजन र शैली प्रयोग गरी १३ लाख ४७ हजार ठगी गरेको खुलेको छ।

तर, अधिकारीलाई एशियन ईन्टरनेशनल कन्सल्टेन्सी बाँसवारीका एकेडेमिक डाईरेक्टर गणेश भन्ने अरविन स्याङ्वोले प्रयोग गरिरहेको खुल्न आएको पनि प्रहरीले जानकारी दिएको छ।

प्रहरीले यसैबीच कमलामाई–२ सिन्धुलीका स्याङ्वोलाई पनि पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: : 2019-05-14 17:34:21

प्रतिकृया दिनुहोस्