जुकरबर्ग ३५ लागे, २० वर्षकै उमेरमा बनाएका थिए फेसबुक

तस्बिरः एजेन्सी

मार्क जुकरबर्गको आज ३५ औं जन्मदिन हो। उनको कमाइ अहिले ७ दशमलव ८४ लाख करोड रूपैयाँ छ। उनी विश्वका आठौं धनी व्यक्तिको सूचीमा पर्छन्।

जुकरबर्गले २० वर्षको उमेरमै फेसबुकको सुरुवात गरिसकेका थिए। त्यो नै उनको पहिलो प्रयोग भने होइन। उनले १२ वर्षको उमेरमै बुवाको क्लिनिकका लागि म्यासेज पठाउने प्रोग्रामको निमार्ण गरिसकेका थिए।

१६ वर्षको उमेमा उनले हाईस्कुलका लागि प्रोजेक्ट निमार्ण गर्ने क्रममा म्युजिक ऐप बनाएका थिए। उनी स्कुलमा हुँदै उनको त्यो प्रोग्राम किन्न थुप्रै कम्पनीले रुचि देखाएका थिए। उनलाई स्कुलमै अध्ययनरत रहँदा थुप्रै कम्पनीले जागिरको ‘अफर’ पनि दिएका थिए। तर, उनले त्यतिबेला आफूलाई आएको जागिरको प्रस्तावलाई अस्वीकार गरेका थिए।

अहिले उनी ६० दशमलव ८ लाख करोडको मार्केट भएको फेसबुकको सिइओ र अध्यक्ष छन्।

बुवाको क्लिनिकमा आउने विरामीका लागि उनले निमार्ण गरेको म्यासेजिङ प्रोग्रामलाई उनले जकनेटको नाम दिएका थिए। जुकरबर्गका बुवा दाँतको डाक्टर हुन्।

प्रायः अस्पतालहरूमा कोही बिरामी उपचारका लागि आउँदा रिसेप्सनबाट उनीहरूको नाम बोलाउने चलन अहिले पनि छ। तर, जुकरबर्गले आफ्नो बुवाको क्लिनिकमा कोही बिरामी आएको खण्डमा रिसेप्सनबाट बुवालाई म्यासेज जाने सिष्टमको विकाश गरेका थिए।

जुकरबर्गको घरमा पनि यो प्रोग्रामको उपयोग हुने गर्दथ्यो। स्कुले अवस्थामा उनी साथीहरूसँग मिलेर भिडियो गेम निमार्ण पनि गर्दथे।

जुकरबर्गले एउटा अन्तर्वार्तामा भनेका पनि छन्, ‘मेरो केही साथी राम्रो कलाकार थिए। उनीहरू डिजाइन बनाउँथे र मेरो काम त्यसलाई गेममा उतार्ने हुने थियो।’

स्कुलमा अध्ययनरत रहँदा उनलाई माइक्रोसफ्टबाट जागिरको ‘अफर’ आएको थियो। जुकरबर्गले न्यु ह्यामसायरस्थित फिलिप्स एक्जेटर एकेडेमीमा हाईस्कुलको अध्ययन गर्दा सन् २००० मा साथीहरूसँग मिलेर म्युजिक ऐप ‘सिनाप्स मिडिया प्लेयर’ को निर्माण गरेका थिए। यो आर्टिफिसियल इन्टेलिजेन्समा आधारित ऐप थियो। यसले युजरका लागि एमपी–थ्री प्ले लिस्ट बनाउने गर्दथ्यो।

माइक्रोसफ्ट र एओएल जस्ता ठूला कम्पनीले उनलाई त्यतिबेलै १० लाख डलरको ‘अफर’ दिएका थिए। तर, उनले जागिरको सट्टा आफ्नो अध्ययनलाई महत्व दिए र हार्वर्ड विश्वविद्यालयमा भर्ना भए।

जुकरबर्गले हार्वर्डमा अध्ययनकै क्रममा फेसबुकभन्दा पहिले एउटा प्रोग्राम ‘फेसमेस’ को निर्माण गरिसकेका थिए। यसले कलेजमा सबैभन्दा आकर्षक केटा र केटी खोज्ने काम गर्दथ्यो। उनको यो प्रोग्राम कलेज प्रशासनले बन्द गर्ने निर्णय गरेपछि उनी अध्ययन नै छोड्ने अवस्थामा पुगेका थिए।

कलेजमा अध्ययनरत रहँदा उनले ‘कोर्षम्याच’ प्रोग्राम पनि बनाए। यसमा युजर्सले आफूले लिने क्लासको विषयमा पूर्ण जानकारी दिन्थे। जसका कारण अन्य विद्यार्थीलाई पनि इच्छाएको कक्षा लिन सहज हुने गर्दथ्यो।

१४ मे १९८४ मा जन्मिएका जुकरबर्गले २० वर्षको उमेरमा आफ्ना तीन मित्र डस्टिन मोस्कोविट्ज, क्रिस ह्युज र एड्वार्डो सेवेरिनसँग मिलेर फेसबुकको सुरुवात गरेका थिए।

फेसबुकको पहिलो नाम ‘द फेसबुक’ थियो। यसलाई हार्वर्ड विश्वविद्यालयका छात्र–छात्रा अगाडि ४ फेब्रुअरी २००४ मा लञ्च गरिएको थियो।

केही वर्ष भित्रै यसको पहुँच अमेरिकाको अन्य क्याम्पसहरूमा पनि पुग्यो। जुकरबर्गले फेसबुकको व्यवसायीकरणका लागि हार्वर्ड विश्वविद्यालय छोड्ने विचार गरे। लगत्तै उनले पालो अल्टोमा यसको प्रवद्र्धनका लागि भाडामा घर लिए। यसैबीच पेपालका सहायक अध्यक्ष पिटर थीलले फेसबुकमा ३ सय ५५ करोड रुपैयाँ निवेश गरेका थिए। डिसेम्बर २००४ सम्म फेसबुको एक्टिभ युजर १० लाख पुरा भइसकेको थियो।

प्रकाशित मिति: : 2019-05-14 13:44:12

प्रतिकृया दिनुहोस्