नेपालको बारा-पर्सामा भीषण हावाहुरी, २७ को मृत्यु , सयौं घाइते

मध्यतराईमा आइतबार साँझ आएको भीषण हावाहुरीबाट बारा र पर्सामा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने चारसय भन्दा बढी घाइते भएका छन्। 
भीषण हावाहुरीले बारामा मात्र २६ जनाको मृत्यु भएको छ।मृत्यु हेनेमा पसौनी, फेटा र सुवर्ण गाउँपालिकामा अधिकांश बालबालिका र बृद्धबृद्धा रहेका छन्। पर्साको वीरगञ्ज महानगरपालिका–१२ मा एकजनाको मृत्यु भएको छ । 

प्रदेश नम्बर २ का प्रहरी प्रमुख डिआईजी हरिबहादुर पालका अनुसार  घर, बिजुलीका पोल, रुख र पर्खाल ढलेर सर्वसाधरणको मत्यु भएको हो। एक्कासी तीव्र गतिको हावा चलेकाले सर्वसाधरणको भागदौड मच्चिएको थियो । तराईका अन्य जिल्लामा पनि हावाहुरीबाट सर्वसाधरण प्रभावित भएपनि ठूलो क्षति नभएको डिआईजी पालले बताएका छन्। 

हावाहुरीमा सवारी चलाउँनेहरू पनि केही द्दाइते भएका छन्। पालले भने मध्यरातसम्ममा उद्धार गरिसकिएको छ। 

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले  बारा र पर्सा जिल्लाको केही स्थानमा आइतबार सॉझ आएको डरलाग्दो आँधी तथा हुरीबाट २५ जनाको मृत्यु भएकोमा दुःख व्यक्त गरेका छन् । 

उनले मृत्युवरण गर्नेहरूप्रति शोक व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । 

बारामा अचानक आएको आँधी हुरीसँगै व्यापक जनधनको क्षति भएपछि सहयोगको अपिल गरिएको छ । सामाजिक सञ्जालमार्फत, कलाकार, नेता, शिक्षक, पत्रकार, विद्यार्थी संगठन, सर्वसाधारणसम्मले बाराबासीको दुःखमा साथ दिनु जरुरी रहेको भन्दै सहयोगको अपिल गरेका हुन् । 

प्रकाशित मिति: : 2019-04-01 01:34:04

प्रतिकृया दिनुहोस्