ओरालो लाग्न थाल्यो सुनको मूल्य

तस्बिरः एजेन्सी

पछिल्लो एक सातादेखि स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर गिरावट भइरहेको छ।

गत बुधबारदेखि सुनचाँदीको मूल्य ओरालो लागिरहेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै स्थानीय बजारमा त्यसको प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

आज सुनको मूल्य प्रतितोला रु २०० ले घटेको छ। महासङ्घले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला रु ७० हजार ८०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७० हजार ५०० निर्धारण गरेको छ।

पछिल्लो एक साताको अवधिमा सुनको मूल्य प्रतितोला रु एक हजार ४०० ले घटेको छ। सुनसँगै चाँदीको मूल्य पनि ओरालो लागेको छ। आज चाँदीको मूल्यमा प्रतितोला रु ५ ले घटेर रु ८३० मा खरिदबिक्री भइरहेको महासङ्घले जनाएको छ।

गत बुधबार छापावाला सुन प्रतितोला रु ७२ हजार २०० र तेजाबी सुन रु ७१ हजार ९०० मा खरिदबिक्री भएको थियो। सुनको मूल्य बिहीबार प्रतितोला रु २००, शुक्रबार रु ३००, आइतबार रु ५०० र सोमबार प्रतितोला रु २०० ले घटेको थियो। (रासस)

प्रकाशित मिति: : 2019-12-10 15:31:31

प्रतिकृया दिनुहोस्