सरकारले यस वर्ष निर्यात बढेको दावी गरिरहेको बेला देशमा आयात र निर्यात गरिएका सामानको तथ्यांक राख्ने दुई निकायबीचको तथ्यांक नै बाझिएको छ।
देशभित्र हुने आयात र निर्यातको तथ्यांक भन्सार विभाग र व्यापार निकासी प्रवद्र्धन केन्द्रले राख्ने गरेको छ। तर, यिनीहरूको वेभसाईटमा व्यापार घाटाको तथ्यांक नै फरक पाइएपछि अर्थशास्त्रका जानकार पनि अन्यौलमा परेका छन्।
दुृवै सरकारी निकायले तथ्यांकमा निर्यात बढेको देखाइएका छन्। विश्लेषकहरू नेपालबाट सामान निर्यात हुनेक्रम बढ्नुलाई सकारात्मक मान्छन् तर कृषि र गैर कृषि क्षेत्र डामाडोल रहेको अवस्थामा निर्यात बढेको सरकारी तथ्यांकलाई मान्न धेरै अर्थशास्त्री तयार छैनन्।
भन्सार विभागले आफ्नो वेभसाईटमा राखेको तथ्यांकअनुसार साउन र भदौको दुई महिनाको अवधिमा १ दशमलव २२ प्रतिशतले आयात घटेको देखाइएको छ। तर, यही अवधिमा आयात १ दशमलव २ प्रतिशतले मात्र घटेको तथ्यांक व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले राख्नुले शंका उत्पन्न गर्ने ठाउँ रहेको छ।
हेर्दा सानै देखिएपनि शुन्य दशमलब २ अंकको फरक ठूलो मानिन्छ। तर, उधोग बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल यसलाई ठूलो रुपमा लिनु नहुने बताउँछन्। ‘केही त्रृटी भएका होलान। तर, ब्यापार घाटा घट्नुमा सरकारले पछिल्लो समय चालेको नीतिगत प्रयास हो,’ ढकालले बिएल नेपाली सेवालाई जानकारी दिए।
भन्सार विभागले दुई महिनाको अवधिमा निर्यात २५ दशमलव ८७ प्रतिशतले बढेको देखाएको छ। प्रवद्र्धन केन्द्रले भने २५ दशमलव ९ प्रतिशतले निर्यात बढेको देखाएको छ। विभागले आयातको अनुपातमा निर्यात बढ्न पुग्दा व्यापार घाटाको अवस्था ३ दशमलव ५ प्रतिशत देखाएको छ। जबकी प्रवद्र्धन केन्द्रको तथ्यांकमा ३ दशमलव ४ प्रतिशत उल्लेख छ।
‘मुलुकको अर्थतन्त्रमा कृषि र गैर कृषि क्षेत्रको योगदान घटेर गएको अवस्था छ। यस हिसाबले निर्यात बढेर गएको भन्नुले तथ्यांक नै झुटो होकी भन्ने ठाउँ प्रशस्तै छ,’ एक विश्लेषकले बताए।
दुई महिनामा व्यापार घाटा ३ दशमलव ५ प्रतिशत कम हुँदा व्यापार घाटा १२ दशमलव ०२ प्रतिशतले कम भएको सरकारी दावी छ। सरकारी निकायको तथ्यांकले पनि विदेशमा बस्ने ८० लाख नेपाली युवायुवतीले पठाएको रेमिट्यान्सले नेपाली अर्थतन्त्र धानिएको देखाएको छ।
रेमिट्यान्सको रूपमा नेपाल भित्रिने रकमको ठूलो हिस्सा सामान आयातका लागि विदेश नै जाने गरेको छ। भन्सार विभागका अनुसार चालू आर्थिक बर्षको साउन, भदौ र असोजको तीन महिनामा विदेशबाट ३ खर्ब ३४ अर्ब ९४ करोड ९३ लाखको सामान नेपाल भित्रिएको छ।
यो गत बर्ष सोही अवधिको तुलनामा १० दशमलव ३४ प्रतिशतले कमि हो। गत साल ३ खर्ब ७३ अर्ब ५८ करोड ७२ लाखको सामान नेपाल भित्रिएको थियो। विदेश जाने रकमको तुलनामा न्यून रकमको मात्र सामान निर्यात हुने गरेको छ।
तथ्यांकले नेपालबाट २७ अर्ब १६ करोडको सामान तेस्रो मुलुकमा निर्यात भएको भनिएको छ। निर्यात १४ दशमलव ४१ प्रतिशतले बढेको देखाइएको छ।
अर्थशास्त्री केशव आचार्य तथ्यांकमा दशमलवपछि आएको फरकले खासै फरक नपर्ने बताउँछन्। उनी मलेसियाले भारतसँग मगाइरहेको पाम आयल काश्मीरको समस्यापछि मगाउन छोडेको र नेपालबाट मगाउन थालेकाले निर्यात बढेको बताउँछन्। ‘भारतसँग सम्बन्ध बिग्रिएपछि मलेसियामा नेपालले पाँच प्रतिशत निर्यात अनुदानमा तेल पठाइरहेको छ। यस्तै, सिमेन्ट उत्पादन गर्ने टिंकर मेसिन आफैले निर्माण गरेकाले आयात दर घटाउन ठूलो सहयोग मिलेको छ,’ उनले बताए।
सरकारले निर्यात बढेको दावी गरेपनि रेमिट्यान्स र जनताको करबाट नेपाली अर्थतन्त्र चलेको छ।
कुनै बेला विश्व बजारमा नेपालका पश्मिना, गलैंचा, अदुवा, अलैची, हस्तकलाका सामग्री, चिया, कफिजस्ता नेपाली उत्पादनको माग थियो। तर, यी सबै सामग्रीको उत्पादन र वितरण गर्ने उद्योगको संरक्षण गर्न नसक्दा विश्व बजारमा सबैको माग घटेर गएको छ। यस्तो अवस्थामा तथ्यांकमा भनिएजस्तो निर्यात बढेको विश्लेषणप्रति आशंका गर्ने ठाउँ रहेकाे जानकार बताउँछन्।