कोरियामा विदेशीको ज्याला घटाउने माग सरकारद्वारा अस्विकार, नेपालीलाई राहत

कोरियामा कार्यरत् नेपाली कृषि मजदुर । तस्बिर : एजेन्सी

कोरियाको श्रम मन्त्रालयले त्यहाँको साना तथा मझौला कम्पनीहरुको संगठनका प्रतिनिधिको बैठकले माग गरेअनुसार बिदेशी कामदारको न्युनतम ज्याला घटाउन नसकिने बताएको छ । सरकारको यो निर्णयबाट तत्कालका लागि कोरियामा कार्यरत् नेपाली कामदारको ज्याला प्रभावित नहुने देखिएको छ । हाल कोरियामा कार्यरत् मजदुरले घण्टाको आठ हजार तीन सय ५० वोन ज्याला पाउँदै आएका छन् । 

कोरियाको ख्वाङ्जुमा बसेको साना तथा मझौला कम्पनीहरुको संगठनका प्रतिनिधिको बैठकले बिदेशी कामदारको न्युनतम ज्याला घटाउनुपर्ने माग गरेको थियो। साना तथा मझौला कम्पनीहरुले वार्षिक रुपमा बढ्दै जाने वैदेशिक कामदारको ज्यालाका कारण आर्थिक भार खेप्नु परेको बताउँदै ज्याला घटाउन माग गरेको बैठकका एक प्रतिनिधि सोंग योंगले बताए । उनका अनुसार कोरियन मजदुरभन्दा अन्य देशका मजदुरको उत्पादन क्षमता निकै कम हुने भएकाले कोरियन मजदुरसरह ज्याला दिने नियम परिवर्तन गर्न माग गरिएको हो । 

बैठकले माग गरेअनुसार विदेशी कामदारको ज्याला घटाउने माग कोरियाको मौजुदा कानुनअनुसार सम्भव देखिदैन । तर,  यदि यस्तो भएमा नेपाली कामदार पनि त्यसको मारमा पर्नेछन् । कोरियामा हाल अनुमानित  ४० हजार नेपाली कामदार कार्यरत् रहेका छन् । 

यसैबीच कोरियाको श्रम मन्त्रालयले भने कोरियामा आप्रवासी र स्वदेशी कामदार बिचको न्युनतम ज्यालामा विभेदकारी कानुन नभएको कारण भिन्न ज्याला निर्धारण गर्नु कानुन विपरित हुने बताएको छ ।

साना तथा मझौला कम्पनीहरुको संगठनले यो बर्ष गरेको एक सर्बेक्षणपछि कोरियन कामदारको तुलनामा बिदेशी भिसाबाहक कामदारको उत्पादन क्षमता १२.५ प्रतिशत कम रहेको तथ्यांक सार्बजनिक गरेको थियो ।

 

हाल कोरियामा कार्यरत् मजदुरले घण्टाको आठ हजार तीन सय ५० वोन ज्याला पाउँदै आएका छन् ।  सन् २०१९ मा १०.९ प्रतिशतले ज्याला बृद्धि भएपछि यो ज्याला कायम भएको हो ।यसअघि सन् २०१८ प्रतिघन्टा ७ हजार ५ सय ३० वोन ज्याला थियो ।

बर्तमान राष्ट्रपति मुन जे इनले सन् २०२० सम्म न्युनतम ज्याला प्रतिघन्टा १० हजार वोन पुर्याउने चुनावी प्रतिवद्धता गरेका थिए ।

प्रकाशित मिति: : 2019-06-16 22:28:33

प्रतिकृया दिनुहोस्