भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विदेश भ्रमणका लागि पाकिस्तानको हवाई मार्गबाट उड्न अस्विकार गरेका छन्।
किर्गिस्तानको राजधानी बिस्केकमा आयोजना हुने संघई सहयोग संगठन (एससिओ) मा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पाकिस्तानको हवाई मार्ग हुँदै उड्ने बताइएको थियो।
यसका लागि भारतीय सरकारले पाकिस्तानसँग स्विकृति पनि मागेको थियो। भारतीय सरकारको अनुरोधलाई स्विकार गर्दै पाकिस्तानले पनि प्रधानमन्त्री मोदीको विमान आफ्नो क्षेत्रबाट उड्न दिने बताएको थियो।
तर, बुधबार भारतीय अधिकारीहरूले पाकिस्तानको सट्टा ओमान, इरान र मध्य एसियाको बाटो हुँदै मोदीको विमान किर्गिस्तान पुग्ने बताएका छन्। उनीहरूले केन्द्र सरकारको निर्णयपछि नयाँ रुट तयार पारिएको बताएका छन्।
पाकिस्तानमा संरक्षण लिएर बसेका आतंकवादीहरूले भारतको उरीमा ४० भारतीय जवानको ज्यान जाने गरि गरेको बिस्फोटपछि विगत ४ महिनायता दुवै देशको सम्बन्ध चिसिएको छ।
भारतीय प्रधानमन्त्री मोदीले आफ्नो दोस्रो कार्यकालका लागि सपथ लिँदा सबै दक्षिण एसियाली देशका समकक्षीहरूलाई निम्तो गरेका थिए। तर, पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई निम्तो गरिएको थिएन।
इमरानले भारत र पाकिस्तानबीचको कटुता कुराकानीबाट टुँगिने भन्दै धेरै पल्ट वार्तामा बस्न भारतीय समकक्षीलाई आग्रह गरिसकेका छन्।
तर, भारतले आतंकवाद र वार्तासँगै नहुने भन्दै पाकिस्तानलाई देशभित्र रहेका आतंकवादीविरूद्ध पहिले कार्यवाही गर्न दबाब दिँदै आइरहेको छ।
इमरान पाकिस्तानको प्रधानमन्त्री भएयता दुवै छिमेकी राष्ट्रका समकंक्षी बीच एकै ठाउँमा भेट भएको छैन।
किर्गिस्तानमा हुने संघई सहयोग संगठन (एससिओ) को बैठक यी दुई नेता बीच भेट हुन सक्ने बताइएको छ। कार्यक्रम जुन १३–१४ मा हुँदैछ।