अम्पायरको निर्णयका कारण ह्दयघातबाट ब्याट्सम्यानको मृत्यु

एजेन्सी

क्रिकेटमा घटना हुनु कुनै अनौठो कुरा होइन। क्रिकेट बलले लागेर समेत खेलाडीको निधन भएको छ। तर, भारतको हैदराबादमा हालै एउटा क्लबस्तरीय खेलमा एउटा आश्चर्य लाग्ने घटना भयो।

भारतीय अखबारका अनुसार अम्पायरको गलत निर्णयका कारण हैदराबादमा एक ब्याट्सम्यानको निधन भएको छ। निधन भएको खेलाडीको नाम वीरेन्द्र नाइक बताइएको छ।

मारडपल्ली स्पोर्टिङ क्लबका ४१ वर्षीय नाइकको अम्पायरको खराब निर्णयका कारण ह्दयघात भएको समाचारमा उल्लेख छ।

आइतबार चिरपरिचित प्रतिद्धन्द्धी मारडपल्ली ब्लुजविरूद्ध भएको खेलमा नाइक उत्कृष्ट फर्ममा देखिएका थिए। उनी ६६ रन बनाएर खेलिरहेको बेला अम्पायरले एउटा बलमा उनलाई आउट घोषित गरे। जुन निर्णयप्रति निकै रुष्ट देखिएका नाइक पवेलियनतर्फ फर्किने क्रममा ह्दयघात भएको बताइएको छ।

उनको क्याच विपक्षी टिमको विकेटकिपरले समातेका थिए। नाइकको दावी थियो–बलले उनको ब्याटमा छोएकै थिएन। अम्पायरले अरु नै आवाज सुनेर उनलाई आउट दिने निर्णय गरे।

पवेलियनतर्फ फर्किने क्रममा निकै निरास देखिएका नाइक पवेलियनमा बसिरहेको अवस्थामा एक्कासी ढलेपछि पर्खालमा ठोक्किएको प्रत्यक्षदर्शीले बताए। उनलाई साथीहरूले सिकन्दाराबादको यशोदा अस्पताल पनि पुर्याएका थिए। तर, चिकित्सकले उनको पहिले नै निधन भएको जानकारी दिए। वीरेन्द्रका भाई अविनाशका अनुसार दाजु पहिलेदेखि नै मुटु रोगबाट पीडित थिए। उनको उपचार पनि भइरहेको थियो। नाइकको ८ वर्षका छोरा र ५ वर्षका छोरी छन्। उनले तीन नम्बरमा ब्याटिङ गर्न उत्रिएका थिए।

प्रकाशित मिति: : 2019-11-19 10:12:29

प्रतिकृया दिनुहोस्