टि-१० लिगमा पारसकझ टिम आबुधाबीको पहिलो जित

बिएल

युएईमा जारि टी-१० लिग प्रतियोगितामा पारस खड्का आबद्ध टिम ‘टिम आबुधाबी’ले पहिलो जित दर्ता गरेको छ।

आइतबार साँझ भएको खेलमा नर्थर्न वारियर्सलाई ६ विकेटले हराउँदै आबुधाबीले पहिलो जित निकालेको हो।

पहिले ब्याटिंग गर्दै नर्थर्न वारियर्सले दिएको ९३ रनको लक्ष्य आबुधाबीले ४ विकेट गुमाएर ८.३ ओभरमा पुरा गर्‍यो।

आबुधाबीका लागि लुक राइटले सर्वाधिक ४८ रन बनाए यस क्रममा २३ बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरेका थिए। यस्तै कप्तान मोइन अलिले ३० रन बनाउने क्रममा २० बलमा २ चौका र १ छक्का प्रहार गरे।

जितको नजिक हुँदा कप्तान अलि र राइट लगातार आउट हुँदा पारस खड्काले इनिंगको अन्तिममा ब्याटिङ गर्ने मौका पाएका थिए। जितका लागि मात्र २ रन बाँकी हुँदा क्रिजमा गएका पारसले अविजित १ रन बनाए।

पहिलो खेलमा पनि पारस ३ बलमा ३ रनमा अविजित रहेका थिए। पहिलो अन्तर्राष्ट्रिय लिग खेलिरहेका पारसको ब्याटिङ लामो समय हेर्ने नेपाली फ्यानहरुको चाहना अझै अधुरै भएको छ।

यसअघि टस जितेर ब्याटिङ गरेको नर्थर्न वारियर्सले १० ओभरमा मात्र १ विकेट गुमाएर ९२ रन बनाएको थियो। उसको लागि आन्द्रे रसेलले सर्वाधिक ३७ तथा स्याम बिलिंग्सले ३५ रन बनाएका थिए।

पहिलो विकेटको रुपमा ड्यारेन स्यामी १७ रन बनाएर आउट भएपछि दोस्रो विकेटको लागि बिलिंग्स र रसेलले ६३ रनको साझेदारी गरेका थिए। रसेलले २७ बलमा ३ चौका र १ छक्का प्रहार गरे भने बिलिंग्सले २० बलमा ३ चौका र २ छक्का प्रहार गरे।

आबुधाबीले यस अघि खेलेको कलन्दर्स बिरुद्धको खेल बराबरीमा टुंगिएको थियो। आबु धाबीले दिएको १०४ रनको लक्ष्य पछ्याउने क्रममा कलन्दर्सले पनि १०३ रननै बनाएको थियो।

प्रकाशित मिति: : 2019-11-17 20:22:09

प्रतिकृया दिनुहोस्