उत्तर कोरियाका नेता किम जोङ उनले आफ्ना पाँच उच्च अधिकारीलाई मृत्युदण्डको सजाय दिएका छन्।गत फेबु्अरीमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग भएको वार्ता असफल भएपछि उनीहरूलाई त्यस्तो सजाय दिइएको दक्षिण कोरियाको एक अखबार चोसन इल्बोले जनाएको छ।
इल्बोका अनुसार सजाय पाउनेमा अमेरिकास्थित उत्तर कोरियाका विशेष प्रतिनिधि किम होक चोल पनि रहेका छन्। भियतनाममा भएको दुई नेताबीचको बैठकमा साथमै रहेका होकमाथि ट्रम्पको योजना बारेमा पर्याप्त अध्ययन नगरी असफल वार्ता गराएर देशप्रति गद्दारी गरेको आरोप लगाइएको छ।
चोलसँगै वार्ताका लागि भूमिका निर्वाह गरेका विदेश मन्न्त्रालयका चार अधिकारीलाई पनि मृत्युदण्ड दिइएको हो।
उनीहरू सबैलाई फायरिङ स्कावयडले उत्तरकोरियाको एउटा एयरपोर्टमा गोली ठोकेर मृत्युदण्ड दिएको थियो।
यसैगरी किमले ट्रम्पसँगको भेटवार्ताका बेला लेखिएको प्रस्तावपत्रको भाषा ट्रान्सलेट गर्दा गल्ती गरेको भन्दै आफ्ना भाषा ट्रान्सलेटर शिन हो योंगलाई समेत जेल पठाएका छन्।
ट्रम्प र किमबीच गत फेब्रुअरीमा भियतनामको हनोइमा भएको वार्ता असफल भएको मानिन्छ ।