नारायणहिटी दरबारलाई ‘टुर प्याकेज’ बेच्ने गरी ५० वर्षका लागि निजी कम्पनीलाई दिने तयारी

काठमाडौं, कात्तिक १९ :  ऐतिहासिक संग्रहालयको रुपमा रहेको नारायणहिटी दरबार संग्रहालय ५० वर्षका लागि निजी कम्पनीलाई सुम्पने तयारी भइरहेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निजी कम्पनीलाई ५० वर्षलाई भाडामा दिएर ‘टुर प्याकेज’ बिक्री गर्ने तयारी गरेको छ।

मन्त्रालयले भाडामा दिने उक्त प्रस्ताव तयार पारेर अर्थ मन्त्रालयमा समेत पठाइसकेको भेटिएको छ। मन्त्रालयका एक उच्च अधिकारीका अनुसार अर्थको सहमतिपछि मन्त्रिपरिषद् बैठकमा पेश गेरर भाडामा लगाउने तयारी छ। 

‘संग्रहालयको ऐतिहासिक महत्व र मर्मविपरित निजी कम्पनीलाई भाडामा दिने तयारी गरिएको छ,’ मन्त्रालय स्रोतले भन्यो। तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको कार्यकालमै नारायणहिटी भाडामा दिने केही प्रक्रिया सुरु गरिएपनि अहिले आएर पुनः उक्त प्रक्रिया ब्युताइएको हो। 

तत्कालीन पर्यटनमन्त्री अधिकारीले प्रधानमन्त्री केपी ओली निकट व्यापारी आङछिरिङ शेर्पालाई संग्राहलय रिसोर्ट संचालन गर्नेगरी भाडामा लगाउने तयारी गरेका थिए। अधिकारी र शेर्पा दुवै हेलिकप्टर दुर्घटनामा दिवंगत भएपछि उक्त प्रस्ताव मन्त्रालयमै थन्किएको थियो। 

दुई वर्ष अघि मात्रै नारायणहिटीको मुल गेट अगाडिको दरबारमार्गमा रहेको नेपाल ट्रस्टको जग्गा शेर्पा परिवारलाई ५० वर्षका लागि भाडामा दिइएको छ। आङछिरिङ शेर्पाले लिएको उक्त जग्गामा अहिले उनका दाजु सोनाम शेर्पाले भवन ठडाइसकेका छन्। 

प्रकाशित मिति: : 2019-11-06 14:08:29

प्रतिकृया दिनुहोस्