थाइ राजाले बनाए आफ्नै अंगरक्षकलाई चौथों महारानी

थाइल्याण्डका राजा वजिरालोङ्कर्नले निजी सुरक्षाकर्मीसँग विवाह गरेका छन्।६६ वर्षीय राजाले निजी सुरक्षा संयन्त्रकी उपप्रमुख सुथिदा अयुध्यासँग विवाह गरेको शाही परिवारले वक्तव्यमार्फत जनाएको छ।

पिता भूमिवोल अदुल्यादेजको सन् २०१६ मा देहान्त भएपछि वजिरालोङ्कर्न संवैधानिक राजा घोषित भएका थिए। उनले आगामी शनिबार राज्यारोहण गर्ने कार्यक्रम छ। राज्यारोहणको दिन नजिकिंदै गर्दा विवाहको घोषणा भएको हो।

यसअघि उनको तीनपटक विवाह भएको थियो। सात सन्तानका पिता वजिरालोङ्कर्नले आफ्ना सबै पूर्वपत्नीहरुसँग सम्बन्धविच्छेद गरिसकेका छन्। थाई दरबारले जारी गरेको वक्तव्यका अनुसार, ‘राजाले जेनेरल सुथिदा अयुध्यासँग विवाह गरी उनलाई रानीको हैसियत प्रदान गरेका छन्। उप्रान्त उनी राजपरिवारको अभिन्न हिस्सा रहनेछन्।’

विवाह घोषणापूर्व नै लामो समयदेखि राजाको निकट देखिइँदै आए पनि सुथिदालाई रानीको औपचारिक मान्यता दिइएको थिएन। 

थाई टेलिभिजनहरुले विवाहका दृष्यहरु प्रशारण गरेका छन्। जसमा राजपरिवारका अन्य सदस्य तथा सल्लाहकारहरु पनि उपस्थित छन्। दृष्यमा राजाले नवघोषित रानीलाई पवित्र जल छर्किइरहेको देखिन्छ। उनीहरुले कानुनी रुपमा विवाह दर्तासमेत गराइसकेका छन्।

थाई एअरवेजमा कार्यरत् सुथिदालाई वजिरालोङ्कर्नले सन् २०१४ मा आफ्नो निजी सुरक्षा संयन्त्रको उपप्रमूख नियुक्त गरेका थिए। सुथिदालाई सन् २०१६ मा थाई सेनाको जेनेरल पद प्रदान गरिएको थियो। सन् २०१६ मा धर्ती छाड्नुअघि वजिरालोङ्कर्नका पिता अदुल्यादेजले थाइल्याण्डमा ७० वर्ष शासन गरे। उनलाई सर्वाधिक लामो समय शासन गर्ने राजाका रुपमा चिनिन्छ। 

प्रकाशित मिति: : 2019-05-02 18:19:49

प्रतिकृया दिनुहोस्