जापानी सम्राट अकिहितोद्वारा राजगद्दी परित्याग

फाेटाे वीएल

जापानका लोकप्रिय राजा अकिहितोले ८५ वर्षको उमेरमा करिब ३० वर्ष लामो आफ्नो राजपाठबाट विश्राम लिएका छन्।

विगत केही वर्षदेखि अस्वस्थ्य देखिएका अकिहितोले मंगलबार बैधानिक रुपमा राजगद्दी परित्याग गरेको घोषणा गरे।

उनको उत्तराधिकारीको रुपमा बुधबार युवराज नारुहितोले जापानको नयाँ राजाको रुपमा सपथ लिँदैछन्।

बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका ५९ वर्षीय नारुहितोले राजाको रुपमा सपथ लिएपछि जापानमा नयाँ युगको सुरुवात हुने आशा गरिएको छ।

अकिहितोले जापानी जनतालाई मंगलबार एक विशेष कार्यक्रमका बीच अन्तिम सम्बोधन गरेका थिए। यतिबेला उनले जनताप्रति आभार व्यक्त गर्नुका साथै शान्तिको कामना पनि गरे।

राजगद्दी परित्याग गर्नुअघि उनी अन्तिम पल्ट पारम्परिक पोशाकमा देखा परेका थिए। उनले कूल देवता अमेतरासु मन्दिरमा पुजा अर्चना पनि गरेका थिए। अकिहितोले पछिल्लो समय बिग्रदै गएको आफ्नो स्वास्थ्यलाई ध्यानमा राखेर पदमुक्त हुने घोषणा गरेका हुन्।

उनलाई टोकियोस्थित शाही महलबाट विदाई गरिएको थियो। विदाईमा प्रधानमन्त्री शिन्जो आबेसहित सबै मन्त्रीको उपस्थिति थियो। शाही महलबाहिर लोकप्रिय राजाको अनुहार हेर्न ठूलो संख्यामा मानिसहरुको भीड जम्मा भएको थियो।

जापानी राजपरिवारको २ सय वर्ष पुरानो इतिहासमा यो पहिलो अवसर हो, राजाले स्वेच्छाले राजकाज परित्याग गरेको। सन् २०१६ देखि अकिहितोको स्वास्थ्य बिग्रिदै गएको थियो। उनी प्रोस्टेट क्यान्सरबाट पीडित छन्।

उनको मुटुको सल्यक्रिया पनि भइसकेको छ। जापानमा राजाको निधन नहुँदासम्म उत्तराधिकारीलाई राजा घोषणा गर्ने कानुन थिएन। तर, २०१७ मा राजकाज सम्बन्धि नयाँ विधेयक संसदबाट पास भएपछि अकिहितो जीवितै रहेको बेला उनको छोरालाई नयाँ राजा बन्ने बाटो खुलेको हो। अकिहितो जापानका लोकप्रिय राजा हुन्।

उनले १९८९ मा राजगद्दी सम्हालेका थिए। युवराज नारुहितो जापानको १ सय २६ औं राजा बन्दै छन्। उनको श्रीमतिको नाम मसाका हो।

प्रकाशित मिति: : 2019-05-01 06:11:19

प्रतिकृया दिनुहोस्