रोजगारीका लागि इपिएसमार्फत कोरिया आएका एक नेपाली युवा झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। नेपालको नवलपुर घर भइ कोरियाको ह्वासंङ फारन नजिकै एक कम्पनीमा कार्यरत २६ वर्षीय मौसम शर्मा पौडेल झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।
कम्पनीमा सँगै कार्यरत नेपालीका अनुसार गए राति करिब १० बजे कोठाबाट बाहिरिएका पौडेल निकै बेरसम्म पनि कोठा भित्र प्रवेश नगरेपछि उनलाई कम्पनीका सबै साथी मिलि खोजेका थिए। करिब एक घण्टासम्म सम्भावित ठाउँमा खोजे पनि फेला पार्न नसकेपछि प्रहरीलाई खबर गरेका थिए।
तत्कालै प्रहरी आइ उनको अन्तिम पटक स्विच अफ भएको मोबाइलको लोकेसन ट्राक गरि खोज्दा कम्पनी नजिकैको डाँडाको एउटा रूखमा झुन्डिएको अवस्थामा फेला परेका थिए।
नवलपुर सम्पर्क समिति दक्षिण कोरियाका सदस्य समेत उनी कोरियामा ४ वर्ष बसेर आउँदो मे १० तारिख नेपाल जाने तयारीमा थिए।
घटना बारे नेपाली दूतावासमा अनौपचारिक जानकारी आएको श्रम कन्सुलर डिल्लीराम बास्तोलाले बताए। नवलपुर सम्पर्क समितिका अध्यक्ष हेम पाठकले यस्तो दुःखत घटनाले आफूलाई निकै निकै स्तब्ध बनाएको बताए।
हाल उनको शवलाई प्रहरीले नजिकैको अस्पतालमा राखेको छ। घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।